गत मंसिर २९ गतेको मन्त्रिपरिषदको बैठकले सन् २०१६ नोभेम्बर ९ यता निस्कासन भएका २ सय र ५ सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको छ।
अब यो निर्णय राजपत्रमा सूचना जारी भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेपछि कारोबार गर्न सकिने व्यवस्था कार्यान्वयनमा आउनेछ।
मन्त्रिपरिषद बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारू २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको हो।
भारत सरकारले समेत दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति २५ हजारसम्म एक सयभन्दा ठूला दरका भारतीय नोट ल्याउन र लैजान अनुमति दिएको थियो।
यसले नेपाली र भारतीय दुवैलाई फाइदा पुग्ने भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा बताउँछन्।
शर्मा भन्छन्, ‘भारतको युनिफाइड ट्रान्सफर इन्टरफेस (युपिआई) को कारण नेपाल घुम्न आउने पर्यटकलाई क्युआरमार्फत् कारोबार गर्न खासै समस्या छैन। तर अहिलेसम्म यो एकतर्फी छ नेपालीहरूले भारतमा यो प्रणाली प्रयोग गर्न पाइसकेका छैनन्, त्यसैले नेपालीहरूलाई अझै सजिलो हुने भएको छ।’
त्यसबाहेक, मोबाइल बैंकिङको प्रयोग गर्न नजान्ने नेपाली श्रमिक वर्गलाई पनि यसले फाइदा पुगिरहेको शर्माको भनाइ छ।
हुनतः भारतीयहरू प्रविधिमार्फत् कारोबार गर्न जान्छन्। तर, सानो तिनो खर्चमा, जानकी मन्दिर वा पशुपति मन्दिर घुम्न आउने पर्यटकहरूले साथमा भारू बोकेर आउने पनि गर्छन्। यस्तोमा हालसम्म उनीहरूले सास्ति समेत खेप्न परिरहेका थियो।
होटल व्यवसायी संघ (हान) का महासचिव साजन शाक्य भन्छन्, ‘अहिलेसम्म यी नोट नेपालमा प्रतिबन्धमा छन्, त्यहीँ कारण कतिपय पर्यटकले यी नोट बोकेर आउँदा प्रहरीबाट हैरानी खेप्नु परेको थियो। अब भने यसले पर्यटन क्षेत्रलाई राहत दिनेछ।’
भारत सरकारले आफ्ना कतिपय प्रान्तमा मदिरा बिक्रीमा रोक लगाएको छ। यही कारण सीमावर्ती क्षेत्रमा यसकै लागि आउने भारतीय पर्यटकहरू समेत छन्।
उनीहरूले नगद मै खर्च गर्ने भएकाले यसले समेत नेपालतर्फ कारोबार बढ्ने देखिन्छ।
राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल सय माथिका २ सय र ५ सय भारूको प्रतिबन्ध खुले पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउँछन्।
‘कारोबार गर्न यी नोट खुला हुन लागेको भए पनि यसलाई जम्मा गरेर राख्ने, नेपालीहरूले यहाँ यस्ता नोटको चलनचल्ती धेरै बढाउने गर्नु हुँदैन,’ पौडेलले भने।
विशेष गरेर भारतले कतिपय सिरिजका नोटहरू चलनचल्तीबाट हटाउन सक्ने र नेपालबाट ती नोट सटहीमा समस्या हुन सक्ने भएकाले यसमा सचेत हुनुपर्ने पौडेलको भनाइ छ।
सन् २०१६ मा भारतले ५ सय र एक हजारको नोटमा बन्दी लगाएपछि नेपाली व्यापारी, भारतमा श्रम गरिरहेकाहरू परिवारले व्यक्तिगत तवरबाटै ती नोट भारत पुर्याएर साट्नुपर्ने अवस्था बनेको थियो।
अहिले पनि राष्ट्र बैंकमा सो समयका पाँच सय र हजारका नोट सटही भइरहेको छैन। यस्ता करिब ८ करोड १० लाख ८ सय रुपैयाँ बराबरका ५ सय र हजार दरका भारु ( ५ करोड ६ लाख २५ हजार भारू) नोट छन्।
त्यसयता सय भारू भन्दामाथिका नोट नेपालमा चल्दैन। नयाँ निर्णयपछि पनि सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन्।
मन्त्रिपरिषदको बैठकले २५ हजार रूपैयाँसम्म भारू ल्याउन र लैजान पर्ने व्यवस्था गरेपनि चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटले पाँच हजार डलर अर्थात् चार लाख ५१ हजार बराबर भारू ल्याउन दिने घोषणा गरेको थियो।
होटल व्यवसायीहरू भने नयाँ व्यवस्था अनुसार २५ हजार भारू ओसारपसार गर्न पाइने सीमामा यस अन्तरिम सरकारले पुनर्मूल्यांकन गर्नुपर्ने बताउँछन्।