नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादपछि तत्कालको लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
निर्माण व्यवसायमा देखिएको भुक्तानी समस्या तथा सार्वजनिक खरिद ऐन र न्यूनतम बोलकबोललाई नियमन लगायतका विषय उठाएर महासंघले आन्दोलनका कार्यक्रम सुरू गरेको थियो।
‘प्रधानमन्त्रीसँग यो विषयमा गम्भीर छलफल भयो, सडकमा आउनै पर्दैन हामी जसरी पनि समाधान गर्छौं भन्नु भएको कारण स्थगित गरेका हौँ,’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने।
महासंघले मुख्यतः ६ खर्ब लागत बराबरको परियोजनामा स्रोत सुनिश्चितता नभएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए।
त्यस्तै सार्वजनिक खरिद नियमावली हरेकपटक संशोधन गर्दा नयाँ समस्या भएको भन्दै त्यसलाई परिमार्जन गरिनु पर्ने, निर्माण सामग्री सहज र सुलभ उपलब्ध हुनु पर्ने माग राखेको थियो।
यी सबै विषयमा राजनीतिक तहबाट समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका सिंहले बताएका छन्।
तत्कालको लागि सुरू नभएका तथा अघि नबढेका परियोजनालाई स्थगित गरेर अघि बढेका परियोजनामा पर्याप्त बजेट व्यवस्थापन गर्ने प्रधानमन्त्री सकारात्मक देखिएको निर्माण व्यवसायीहरूले बताएका छन्।