सरकारले प्रविधिमा केन्द्रित अर्थतन्त्रमा विस्तार गर्ने योजना बनाएको छ।
यसका लागि आवश्यक नीति र पूर्वाधार विस्तार गर्दै अर्थतन्त्रमा नै यसको हिस्सा बढाउने गरी काम भएको प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ लगायतले बताएका छन्।
बिहीबारबाट सुरू भएको चेम्बर एक्सपोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताए।
प्रविधि क्षेत्र दैनिक जीवनको अभिन्न अंग भएको भन्दै सरकारले यसै अनुसार काम गरेको बताए। उनले निर्यात व्यापारको लागि आइटी सेवा महत्त्वपूर्ण क्षेत्र हुने आधारमा काम गरिएको पनि प्रतिक्रिया दिएका छन्।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आगामी तीन दिनभित्र नेपालको अर्थतन्त्रको आकार प्रविधिमा आधारित अर्थतन्त्रको हिस्सा ५ प्रतिशत पुर्याउने उद्देश्य राखेर काम गरिएको बताए।
अहिले यस्तो सेवाको कति प्रतिशत योगदान छ भन्ने आधिकारिक तथ्यांक छैन। १६औं पञ्चवर्षीय योजनाले तीन प्रतिशतसम्म पुर्याउने लक्ष्य निर्धारण गरेको छ।
उनले सरकारले अध्यादेश मार्फत आइटी सेवा व्यवस्थाको लागि आवश्यक पर्ने नीतिगत सरलीकरण गरेको बताए।
व्यवसायीको माग र व्यवसाय गर्दा देखिएका समस्या सम्बोधन गर्ने गरी नीतिगत व्यवस्था गरिएको उनको प्रतिक्रिया छ।
यसै वर्ष काठमाडौंबाट आवश्यक आइटी पूर्वाधार तयार गरिने उनले बताए।
अहिले पनि नेपालको अर्थतन्त्र चुनौतीमा रहेको स्वीकार गर्दै सुधारको काम भएको बताए।
'नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि काम गरिरहेको छ। हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो। त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ। अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ,' उनले भने।
नेपाल चेम्बर अफ कमर्समा अध्यक्ष कमलेश अग्रवालले यस वर्षको एक्सपोमा सफ्टवेयर, एआई तथा नवीनतम प्रविधिलाई विशेष प्राथमिकता दिइएको बताए। उनले एआई स्नातक जनशक्ति उत्पादन बढाउने विषयमा ध्यान दिन आवश्यक रहेको बताए।
सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशबाट गरिएको कानुन संशोधनले नेपाली बजार प्रतिस्पर्धी तथा बजारमुखी छ भन्ने सेन्दश गएको बताए। यो एक्सपोले व्यापार विस्तारका साथै व्यापारिक मुद्दाका विषयमा बहस गर्न सहयोग पुर्याउने अध्यक्ष अग्रवालले बताए।
आठौं चेम्बर एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान, कोरिया, इजरायल लगायत देशका उत्पादन सहित १२५ स्टलहरू राखिएको छ।