किरण सुज प्राली (गोल्डस्टार) कि निर्देशक विदुषी राणाले नेपालको स्टार्टअपमा संरक्षणको अभाव भएको बताएकी छन्।
नेपाली कांग्रेसले आयोजना गरेको एसएमई सम्मेलन अन्तर्गत नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक प्रवर्द्धन शीर्षकको प्यानलमा उनले यस्तो बताएका छन्।
निर्देशक राणाले अहिले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बन्न समस्या भएको तर्क गर्दै सरकारले संरक्षण नगरेमा उद्योमशीलता विकासलाई ठूलो प्रभाव पर्ने बताइन्।
विदेशी बजारमा प्रतिस्पर्धा गर्न सजिलो होस् भनेर सरकारले निर्यातमा नगद अनुदानको व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन नगरेको उनले बताइन्।
'गत वर्षबाट जुत्तालाई पनि निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने भनियो। अहिले चार प्रतिशतसम्म भनिएको छ। त्यो पनि कहिले हो थाहा छैन,' राणाले भनिन्।
नेपालबाट भएका जुत्ता निर्यातमध्ये ९० प्रतिशत हिस्सा गोल्डस्टारको मात्रै छ। यसले भारतमा धेरै मात्रामा जुत्ता निर्यात गर्ने गरेको छ।
विगत केही वर्षदेखि भारतीय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताइन्।
नेपाली बजारमा चोरी पैठारी भएको जुत्ताले प्रशय पाउने तथा विदेश निर्यात प्रतिस्पर्धी लागतमा उपलब्ध गराउन गाह्रो भएको उनको भनाइ छ।
राणाले उत्पादनमूलक उद्योगलाई लिने ऋणको ब्याज र ब्यापारमा दिइने ऋणको ब्याजमा अन्तर हुने व्यवस्था गर्न पनि आग्रह गरिन्।
राणाका अनुसार अहिले नेपालको जुत्ता उद्योगमा ५० हजारभन्दा बढी जनशक्ती कार्यरत छ।
त्यसमध्ये ७० प्रतिशत महिला मात्रै रहेका छन्। नेपाललाई धेरै रोजगारी दिने उद्योगको आवश्यकता परेको कारण पनि उत्पादनमूलक उद्योगमा सरकारले संरक्षण गर्ने नीति लागु गर्नुपर्ने उनले बताइन्।
आगामी दिनहरूमा प्रविधिको प्रयोग बढाउँदै जुत्ताको उत्पादन लागत बढाउन आवश्यक रहेको उनको भनाइ थियो।