अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग 'युएसआइडी' अन्तर्गतका कार्यक्रम ९० दिनको लागि स्थगित गरिएको छ।
ट्रम्प सरकारले नेतृत्व गरेसँगै अमेरिकाले प्रादन गर्ने अनुदानहरूमा मूल्यांकन गर्न थालिएको हो।
नेपाल युएसआइडी अन्तर्गत धेरै कार्यक्रमहरू सञ्चालन भएका छन्।
अमेरिकी दूतावासले गत शुक्रबार अर्थमन्त्रालयलाई पत्र लेखेर पुनः मूल्यांकनपछि मात्रै निर्णय दिने जानकारी गराएको अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी गराए।
अमेरिकाले ९० दिनमा 'रिभ्यु' पुनर्मूल्यांकन समय राखेको अर्थका अधिकारीहरूले बताएका छन्।
'कार्यक्रम सञ्चालन नगर्ने भनेको होइन पुनर्मूल्यांकनपछि निर्णय दिने मात्रै भनिएको हो,' प्रवक्ता भट्टराईले भने।
युएसआइडी अन्तर्गतका कार्यक्रम रिभ्यु गर्ने भनिए पनि एमसिसी लगायतका अन्य परियोजनाका विषयमा भने कुनै जानकारी गराइएको छैन।
अहिले युएसआइडी अन्तर्गत करिब साढे नौ अर्ब रूपैयाँ बराबरको 'अन बजेट' कार्यक्रम नेपाल सञ्चालन गरिएको छ।
यस्ता कार्यक्रममा सरकारले बनाउने बजेटमा नै सहायता दिन्छ र सरकारले सम्बन्धित कार्यक्रममा खर्च गर्ने हो। यस बाहेक युएसआइडीले धेरै 'अफ बजेट' कार्यक्रम सञ्चालन गर्छ।
यस्ता कार्यक्रमको भने युएसआइडी आफैँले सञ्चालन गर्छ। अन बजेट अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकमा खर्च गरिएको छ।