सरकारले आर्थिक तथा व्यवसायिक वातावरण बनाउन र लगानी अभिवृद्धि गर्नको लागि भन्दै ल्याएको अध्यादेश लिएकोप्रति निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले स्वागत गरेका छन्।
उनीहरूले यसको लागि सरकारलाई धन्यवाद पनि दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, कम्प्युरटर एसोसिएसन अफ नेपाल लगायतका निकायले विज्ञप्ति जारी गर्दै हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने प्रतिक्रिया दिएका छन्।
उनीहरूले कानुन संशोधनसँगै आवश्यक कार्यविधि पनि तत्काल बनाउनको लागि आग्रह गरेका छन्।
'हाल बजारको समग्र मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कदो मनोबललगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानुनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्मक सन्देश जाने विश्वास छ,' नेपाल उद्योग परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाल सुधार गरिएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि समयमै आवश्यक नियमावली तथा कार्याविधिहरू ल्याउन समेत सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ।'
नेपाल चेम्बर अफ कमर्सले हालै संशोधन गरिएको व्यवसायिक वातावरण र लगानी अभिवृद्धिमा सकरात्मक तथा दूरगामी महत्त्व राख्ने जनाएको छ।
'सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिववृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौं,' चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले कांनुन संशोधनको कदमलाई स्वागत गर्दै सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको प्रतिक्रिया दिएको छ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सरकारको यो पहलकदमीले सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार ल्याउने बताइन्। उनले नीतिगत सुधारसँगै यस क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूको समाधानका लागि स्पष्ट कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्।