नेकपा एमालेलाई विधिमा फर्काउन एघारौं महाधिवेशन महत्त्वपूर्ण परिघटना बन्यो।
पाटी जीवनको लोकतान्त्रीकरण र आन्तरिक प्रतिस्पर्धामा एमाले अब्बल मानिए पनि पछिल्लो समय एमालेका तहगत संरचनाका अधिवेशन नियन्त्रित जस्तो देखिने गरेका थिए, जहाँ कार्यकर्ताले नेता चुन्नेभन्दा नेताले नै नेता चुन्ने विधि स्थापित बन्दै गएको थियो।
यसबाट कार्यकर्तामाझ पकड भएको नेता आउनेभन्दा नेताको रूचि र चाहनाको नेतृत्व स्थापित हुने जोखिम पनि थियो।
हुन त पार्टीको दसौं महाधिवेशन नै त्यस्तै देखिएको थियो।
दसौं महाधिवेशनमा त नेतृत्वले नेता चुनेर तयार पारेको सूचीमै भोट हाल्न लगाइयो। यहाँसम्म कि, भोट कसलाई हाल्ने र कसलाई नहाल्ने भनेर छुट्टाछुट्टै सूची तयार पारिएको थियो।
शुक्रबार साँझ सकिएको एघारौं महाधिवेशनले एमालेमा परम्परा बन्न आँटिसकेको त्यो दृश्यलाई तोडेको छ।
यसबाहेक यो महाधिवेशन के–के हिसाबले महत्त्वपूर्ण रह्यो, हामी यहाँ त्यसैबारे चर्चा गर्दैछौं।
नेता–कार्यकर्तामा जगाएको आत्मविश्वास
नेकपा एमालेका नेता–कर्ताकर्ताको जीवनमा भदौ २३ र २४ को आन्दोलन बिर्सनलायक परिघटना बन्यो।
भदौ २३ गते जेनजी आन्दोलनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चरम दमन गरेपछि स्थिति काबुबाहिर गयो। त्यसले एमाले नेतृत्वको सरकार विस्थापित मात्र गरेन, एमालेका नेता–कार्यकर्ताले ठूलो मूल्य चुकाए।
पार्टी कार्यालयहरू, नेताका निजी आवास, उनीहरूको नाम जोडिएका व्यावसायिक प्रतिष्ठानसमेत निशानामा परे। एमालेले ठूलो राजनीतिक, भौतिक मूल्य चुकाउने अवस्था बन्यो। कैयन् समर्थक, शुभेच्छुकहरू पेसाबाटै पलायन हुने अवस्थासमेत बन्यो।
यसबाट नेता–कार्यकर्ताको मनोबल खस्किएको थियो। पार्टी नेतृत्व नेपाली सेनाको शरणमा पुगेको अवस्था छँदै थियो, त्यहाँबाट निस्किएर पनि सार्वजनिक स्थानमा हिँडडुल गर्न नसक्ने अवस्था थियो। कतिपय नेता–कार्यकर्ता त परिचय लुकाएर हिँड्नुपर्ने बाध्यतामा समेत परे।
एमालेले यसबाट क्रमशः आफूलाई बाहिर ल्यायो। भदौ २३ र २४ को त्रासदीपूर्ण घटनाको एक महिनापछि कात्तिक २२ देखि नै एमालेले आफूलाई वडा स्तरबाट उठाउन सुरू गरिसकेको थियो।
त्यो घटनालाई एमालेविरूद्धको षड्यन्त्र भन्दै कार्यकर्ताको मनोबलमा त्राण भर्न थालेको पार्टीले क्रमशः पालिका र जिल्ला भेला गर्दै आफूलाई लयमा फर्कायो। उसले कात्तिक २५ गते पालिका स्तरमा र कात्तिक २९ गते जिल्लाव्यापी रूपमा जनप्रदर्शन गरेर आफूलाई राजनीतिक काममा लगाउन थाल्यो।
त्यसो त एमालेले यसैबीच स्वयंसेवी संस्था (नेसनल भोलेटिन्यर फोर्स) गठन गर्ने, उनीहरूलाई सडकमा मार्चपास गराउने लगायत काम गरेर पनि जनपरिचालनमा जोड दिइरहेकै थियो, कार्यकर्तालाई आड–भरोसा दिलाइरहेकै थियो।
भदौ २३ पछि निष्क्रिय बन्न थालेका नेता–कार्यकर्तालाई एमाले साहसका साथ पार्टी काममा फर्किइसकेको छ भन्ने सन्देश पनि प्रवाह गरिरहेको थियो।
एघारौं महाधिवेशन सम्पन्न गरेसँगै एमालेले राष्ट्रिय राजनीतिमा एउटा जबरजस्त सन्देश दिएको छ — एमाले दृढ मनोबलका साथ मैदानमा फर्किइसकेको छ। अब ऊ धूलो टक्टक्याएर उठेको छ। खरानी बनेको आत्मविश्वासलाई पुनः जागृत तुल्याएको छ।
यसैलाई संकेत गर्दै समापन मन्तव्यमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले 'महाधिवेशनले पुराना पार्टी सक्किए भन्नेहरूलाई जबाफ दिएको' टिप्पणी गरे।
'हामी प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा बोकेर आन्दोलनमा छौं। यही आन्दोलनबीच हामीले एघारौं महाधिवेशन गर्यौं। यो महाधिवेशन पुराना पार्टी सक्किए भन्नेहरूलाई जबाफ हो। अलोकप्रिय छन् भन्नेहरूलाई जबाफ हो। यो जबाफ हो, नेकपा एमाले एउटा अजम्बरी पार्टी हो,' उनले भने।
महाधिवेशनमार्फत् पार्टीको आन्तरिक जीवन व्यवस्थित गरेपछि उत्साहित भएका ओलीले 'एमाले कसैले चिताउँदैमा कमजोर नहुने, बरू झन् झन् बलियो भएर आउने' बताए।
-1766059411.jpg)
शानदार उद्घाटन
जनप्रदर्शन र मानव परिचालनका दृष्टिले एमालेले सधैं आफ्नो महाधिवेशनलाई समृद्ध बनाउने प्रयत्न गर्छ।
जनपरिचालनका हिसाबले एमालेले आठौं र दसौंलाई विशेष मान्छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टी अनपेक्षित रूपले तेस्रो स्थानमा खुम्चिएका बेला २०६५ फागुन २१ गते एमालेले रूपन्देहीस्थित बुटवलमा आठौं महाधिवेशन गरेको थियो।
त्यो महाधिवेशनमा एमालेले उल्लेख्य कार्यकर्ता, शुभेच्छुक, समर्थक र आमनागरिकलाई समेत उद्घाटन स्थल बुटवल मण्डपमा उतारेको थियो।
२०७१ असारको आखिरीमा भृकुटीमण्डपमा भएको नवौं महाधिवेशनमा एमालेले जनप्रदर्शन गरेन। 'हाइटेक' नाम दिएको उक्त महाधिवेशन खुला आमसभाबिनै सम्पन्न भएको थियो। त्यही महाधिवेशनले नै अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सत्ताको शिरमा ल्याएको थियो।
२०७८ को दसौं महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनारमा भयो। उक्त महाधिवेशन जनप्रदर्शनका हिसाबले एमालेले उल्लेख्य मान्छ। चितवनको नारायणी बगर भरिभराउ भएको उक्त महाधिवेशनमा एमालेले २०७८ भदौको पीडा भुलाउन पनि सारा प्रयत्न लगाएको थियो।
यसपटक भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्र पनि विशेष रह्यो।
एमालेले गत मंसिर २७ गते झन्डै १०८ रोपनीमा फैलिएको तीनकुने चौरमा एघारौं महाधिवेशन उद्घाटन गरेको थियो। दिउँसो १ बजे नै चौर भरिभराउ बनेको थियो। मञ्चस्थलतर्फ नभई खुला चौरको पश्चिमतर्फको भाग पनि सहभागीहरूले ढाकेका थिए।
उद्घाटन सत्रको बीचमै अध्यक्ष ओली बोलेपछि भने सहभागीहरू क्रमशः लाखापाखा लाग्न थाले।
भदौ २३ र २४ को त्रासदीपूर्ण अवस्था चिरेर नेता–कार्यकर्तालाई भक्तपुरसम्म उतार्न एमालेले गरेको प्रयत्नलाई उद्घाटन सत्रमा पाहुनाका रूपमा सहभागी भएका अन्य दलका नेताले मुक्तकण्ठले प्रशंसा गरे।
एमालेको यस प्रकारको जनप्रदर्शन सहितको महाधिवेशन गरेर अरू दललाई पनि उत्प्रेरणा जगाएको उनीहरूले बताएका थिए।
-1766059408.jpg)
एमाले कौशल स्थापित हुने मञ्च, साजसज्जा सल्लाघारीदेखि भृकुटीमण्डपसम्मै
एमाले महाधिवेशनको उद्घाटन सत्रमा मञ्चले नै सहभागीहरूको ध्यान खिच्छ।
एमालेका मजदुर नेता विनोद श्रेष्ठ मञ्च निर्माणमा नाम कहलाएका छन्। उनले पाँचौं महाधिवेशनदेखि नै मञ्च बनाएर आफ्नो सीप–कौशल प्रदर्शन गर्दै आएका छन्। आकर्षक मञ्च बनाउन उनले सीप खर्चने भएकैले आममानिसले एमालेको सभा, सम्मेलन र महाधिवेशन भन्नेबित्तिकै मञ्चमा ध्यान दिने गर्छन्। र, अस्वादित पनि हुने गर्छन्।
यसपटक सल्लाघारीको तीनकुने प्रांगणमा पनि उनको सीप–कौशल प्रतिविम्बित थियो।
एमालेले यसपटक मञ्चलाई मन्दिरको आकारमा ढालेको थियो। महाधिवेशनको लोगोमा पनि तलेजु र भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा संयोजन गराएको थियो।
चार–चारवटा भूकम्प झेलेको तलेजु मन्दिरलाई महाधिवेशनको लोगोमा प्रतिविम्बित गर्नु एमाले जस्तोसुकै प्रतिकूलतासँग जुध्नसक्ने सामर्थ्य भएको पार्टीका रूपमा सन्देश दिनु रहेको उद्घाटन सत्र सञ्चालन क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अर्थ्याएका थिए।
तलेजु मन्दिर र पुनर्निर्मित धरहरा प्राचीन कला–कौशल र आधुनिक निर्माणको मिश्रणको द्योतकका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थलमा एमालेले काठमाडौं उपत्यकाको पहिचान, काष्ठ, प्रस्तर, धातुकला प्रतिविम्बित हुने गरी मञ्च निर्माण गरेको थियो। मञ्च पछाडिको भागमा मानदेवकालीन वैभवको जीवित इतिहास चाँगुनारायण मन्दिरको कटआउट राखेको थियो। यसले मञ्चलाई अझ आकर्षक र बान्कीपूर्ण बनाएको थियो।
एमालेले बन्दसत्र काठमाडौंको भृकुटीमण्डमै गरेको थियो। २८ गते बिहानदेखि पुस ३ गते साँझ ६ बजेसम्मै चलेको बन्द सत्र भृकुटीमण्डपमै भयो।
भृकुटीमण्डपको प्रदर्शनी केन्द्र, त्यसअगाडिको खुला प्रांगण र पार्कसम्म एमालेले बन्दसत्र स्थलकै रूपमा उपयोग गरेको थियो। त्यहाँ आकर्षक बन्द सत्रको हलदेखि मतदानस्थल तय गरिएको ठाउँसम्मै एमालेले दिवंगत नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, पार्टी अध्यक्ष केपी शर्मा ओलीको कटआउट मात्र नभई कार्ल मार्क्स, एंगेल्स, लेनिनका तस्बिर, एमाले सरकारमा छँदा गरेका काम र लिएका नीतिहरू प्रतिविम्बित हुने खालका तस्बिर संयोजन र साजसज्जाले बन्द सत्रलाई थप आकर्षक बनाएको थियो।
उद्घाटन स्थलमा राखिएको चाँगुनारायण मन्दिरको कटआउट सहितको मञ्चको माथिल्लो भाग बन्द सत्रको सौन्दर्यका रूपमा प्रस्तुत गरिएको थियो।
-1766059412.jpg)
गोदावरी सम्मेलन भृकुटीमण्डपमा उल्लंघन
एमालेले दसौं राष्ट्रिय महाधिवेशनदेखि नीति र नेतृत्व सम्मेलन छुट्टाछुट्टै गर्न थालेको छ। दुई पटक विधान महाधिवेशन गरिसकेको छ। दुवै पटक ललितपुरको गोदावरीस्थित सनराइज हललाई महाधिवेशन स्थलका रूपमा छनोट गरेको छ।
संयोग नै मान्नुपर्छ, गोदावरीमा गरेको विधान महाधिवेशनको सान्दर्भिकतामाथि भने दुवै पटक प्रश्न उठेको छ।
अघिल्लो पटक एमालेले गोदावरी महाधिवेशनले पारित गरेको विधान चितवनको सौराहामा भएको दसौं राष्ट्रिय सम्मेलनमा उल्लंघन गर्यो। त्यति बेला एमालेले विधान महाधिवेशनबाट पारित गरेको विधानमा उल्लिखित 'पार्टीको मूल नेतृत्वमा दुई कार्यकालको प्रावधान' हटाएको थियो। त्यो विषय लामो समय पार्टीको बहसको केन्द्र बन्यो।
तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य कर्ण थापाले लामो समयसम्म विरोध गरिरहे।
यस पटक पनि गोदावरीमै भएको विधान महाधिवेशनले पारित गरेको विधान नचलाउने प्रण भृकुटीमण्डप आइपुगेपछि उल्लंघन भयो।
गोदावरीबाट पारित भएको विधानमा सचिवालयको संख्या १९ बाट १५ मा झारिएको थियो। चार तह (सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी) को पार्टी संरचनालाई तीन तह (सचिवालय, पोलिटब्युरो, केन्द्रीय कमिटी) मा ल्याइएको थियो। केन्द्रीय कमिटीको आकार ३०१ बाट घटाएर २५१ मा सीमित गरिएको थियो।
अध्यक्ष ओलीले गत असोज २६ गते बसेको सचिवालय बैठकमै उक्त प्रावधान उल्ट्याउन चाहेका थिए। दसौं महाधिवेशनबाट पारित विधानमा पदाधिकारी संख्या १९, चार तहको पार्टी संरचना र केन्द्रीय कमिटी ३०१ सदस्यीय भएकाले त्यति नै कायम गर्ने उनको जोड थियो।
तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा प्रतिवाद गरेपछि ओलीले सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिएका थिए। तर सचिवालयमा फेल भएको प्रस्ताव ओलीले रणनीतिक हिसाबले बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटीको ११औं बैठकमा प्रस्तुत गरे।
उनले त्यहाँ स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, विशाल भट्टराई लगायतलाई उक्त प्रस्ताव उठाउन लगाएका थिए। अन्तिममा तलबाट सुझावका रूपमा आएको भन्दै निर्णयार्थ प्रस्तुत गरे। र, उल्ट्याइ छाडे।
दोस्रो पटक पनि विधान महाधिवेशनको निर्णय उल्ट्याएपछि एमालेमा विधान महाधिवेशनको आवश्यकता, औचित्य र सान्दर्भिकतामाथि गम्भीर प्रश्न खडा भएको छ।
सम्भवतः अर्को पटकदेखि एमालेले नीति सम्मेलनका नाममा विधान महाधिवेशन छुट्टै गर्ने छैन।
-1766053330.jpg)
ओलीलाई टिम मिलाउनै सकस, ईश्वरलाई उम्मेदवार पाउनै हम्मे
अध्यक्ष ओलीले आठ करोडभन्दा बढी खर्च गरेर गरेको विधान महाधिवेशनको निर्णय उल्ट्याउनुको कारण आफ्नो समूह मिलाउनै हो।
पार्टी संस्थापन भएकाले अध्यक्ष ओलीको समूहमा पदीय आकांक्षीको लर्को थियो। सचिवालयमा बहाल रहेका १८ पदाधिकारीमध्ये ओलीको पक्षमा १२ जना खुलेका थिए। उनीहरूको व्यवस्थापन गर्नैपर्थ्यो। नयाँ आकांक्षी पनि थिए। पदाधिकारीतर्फ नयाँ आकांक्षी ओलीको समूहमा मात्र २० जनाभन्दा बढी थिए।
तीन उपाध्यक्ष, तीन महासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी संरचनामा नयाँ आकांक्षीको व्यवस्थापन नै हुन सक्दैनथ्यो। पुरानामध्ये अधिकांशलाई उही पदमा दोहोर्याउनुपर्ने हुन्थ्यो। यसो गर्दा विद्रोह हुने खतरा देखेका ओलीले तीन महिना नपुग्दै विधान संशोधन गरिदिए। उनले सचिवमा ६, उपाध्यक्षमा २, उपमहासचिवमा २ नयाँ आकांक्षीलाई ठाउँ दिन सके।
त्यस कारण पनि ओलीले पदाधिकारीतर्फ वर्चस्व नै स्थापित गर्न सके।
ओलीका निकट भनिएका अधिकांश अनुहार चुनाव जित्न सफल भए। पदाधिकारीतर्फ उनको एकलौटीजस्तै भयो।
पदाधिकारी संख्या बढेपछि ईश्वर पोखरेल समूहलाई भने सुरूमा उम्मेदवार पाउनै सकस भएको थियो। सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव विफल गराएपछि उत्साहित भएको पोखरेल समूह बन्द सत्रमा अचानक विधान संशोधन प्रस्ताव आउँदा बिलखबन्दमा परेको थियो।
उम्मेदवार पुर्याउन ओली समूहमा भागबन्डा नपुगेर को–को रिसाउँछन् र यता तानेर उम्मेदवार पूर्ति गर्ने भनेर पर्खिएर बस्नुपर्ने अवस्था बनेको थियो।
ओलीको रणनीतिक चाल बुझ्नु र सम्भावित तयारी गर्न चुक्नु पोखरेल समूहको कमजोरी नै देखियो।
यो महाधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले प्रतिपक्षी साख जोगाउन सफल भएका छन्। ६ जनाले सुरू गरेको विद्रोह दुई जनामा सीमित भए पनि पार्टीलाई विधिमा फर्काउन उनीहरूको अहम् भूमिका रह्यो।
महाधिवेशन सुरू हुनुपूर्व नै अध्यक्ष ओलीले आफूले बोल्नासाथ महाधिवेशनमा नीतिगत छलफल नै नहुने बताएका थिए। उनले भने अनुरूप नै महाधिवेशनमा नीतिगत छलफल भएन। ईश्वर पोखरेलको फरक राजनीतिक अवधारणा पेस भएन। तर अध्यक्ष ओलीले भनेजस्तो नेतृत्वमा सर्वसम्मत पनि भएन। पोखरेलले उनलाई प्यानलसहित चुनौती दिए। प्रतिनिधिले विवेकको मतसहित आफ्ना नेता आफै चुन्न पाए।
-1766051145.jpg)
पदीय आकांक्षा पूर्ति नभएपछि नजिकैकाले साथ छाडे ओलीलाई
एघारौं महाधिवेशन आइपुग्दा अध्यक्ष ओलीका निकट हुँ भन्नेहरूले नै उनको साथ छाडे।
ओलीले सल्लाहकार, पूर्वमहान्यायाधिवक्ता, कानुनमन्त्री समेत बनाएका अग्नि खरेलले प्यानलमा नपरेपछि विद्रोह गरे। उनले विद्रोह गरेर नै सचिव पदमा उम्मेदवारी दिएका थिए। पछि पोखरेल समूहले आफ्नो सूचीमा समेट्यो। ७१६ मत ल्याएका उनले निर्वाचन भने जित्न सकेनन्।
प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले पनि ओली समूहबाट विद्रोह गरेर उपमहासचिवमा बागी उम्मेदवारी दिए। उनले निर्वाचनको दिन बिहान उम्मेदवारी फिर्ता लिएको बताए। तर त्यतिञ्जेल उम्मेदवारी फिर्ताको समय सकिइसकेको थियो। उनको फिर्ताको कुनै अर्थ रहेन। उनले २७० मत प्राप्त गरे।
ओलीका रणनीतिकार मानिएका विष्णु रिमाल चुनाव हार्न पुगेको चर्चा अहिले संस्थापन पक्षमा भइरहेको छ।
त्यसो त लामो समय ओली समूमै रहेका कृष्णगोपाल श्रेष्ठले पनि त्यहाँबाट विद्रोह गरे। हुन त उनले उक्त समूह छाडेको उहिल्यै हो। तर महाधिवेशनको बेला झन् मुखर ढंगले प्रस्तुत भए।
अध्यक्ष ओलीले अपमान बाहेक केही पनि नगरेकाले बाध्य भएर संस्थापन छाडेको उनले बताए।
ओलीलाई पार्टी सत्तामा स्थापित गराउन अहम् भूमिका खेलेका गोकुल बास्कोटाले पनि संस्थापन छाडेर पोखरेल समूह रोजे। सचिवका प्रत्यासी बनेका बास्कोटाले पनि चुनाव जितेनन्।
दस बुँदे हुँदै एमालेमा रहेर ओलीको सहयोगी बनेका रघुजी पन्त पनि अन्तिम समय लकपकाइसकेका थिए। उनले त्यहाँबाट विद्रोह गरेर उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।
ओली समूहमा महासचिवको आकांक्षी रहेका प्रदीप ज्ञवाली उपाध्यक्षको सूचीमा समेटिएका थिए। तर उनले विद्रोह गरेर त्यहाँ उम्मेदवारी नै दिएनन्। विष्णु पौडेल, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरूङसम्मको फकाउने प्रयत्न विफल भएपछि उनीहरूले उपाध्यक्ष खाली नै छाडेका थिए।
पोखरेल समूहले सुरूमै पन्तलाई आग्रह गरेको थियो। तर ओलीको वचन पर्खिइरहेका पन्तले सुरूआतमा मानेनन्। पोखरेल समूहले २०३५–३६ सालको विद्यार्थी आन्दोलनबाट उदाएका पुराना नेता टंक कार्कीलाई उपाध्यक्षको उम्मेदवारका रूपमा अघि सार्यो। त्यसपछि पन्त पनि उपाध्यक्षकै उम्मेदवारको रूपमा थपिए।
पोखरेल समूहले दुवै उम्मेदवारलाई छलफल गरेर टुंग्याउन खोज्दा खोज्दै ओलीले फोन गरेर पन्तलाई सूचीमा समेटेका थिए। अन्तिम समयमा सूचीमा अटाएका पन्त १२५८ मतका साथ उपाध्यक्ष निर्वाचित भएका छन्।
-1766051143.jpg)
१२औं महाधिवेशनको रिहर्सल तर नवौंको झल्को
एमालेको ११औं महाधिवेशनलाई १२औं महाधिवेशनको शक्ति संघर्षका रूपमा बुझ्ने पनि छन्।
अध्यक्ष ओली फराकिलो मतान्तर (१६६३ भर्सेस ५६४) ले जित्दा महासचिवमा व्यापक मत क्रस भएको छ। महासचिव शंकर पोखरेलले १२२८ मतले जित्दा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए।
कहाँ–कहाँबाट मत क्रस भयो?
समूहमै रहेका को–को नेता महासचिव पोखरेल हराउन लागिपरे भनेर अहिले ओली समूहमा खोजी भइरहेको छ। यसले ओली समूहभित्र शक्ति संघर्षको बीजारोपण गर्ने चर्चा भइरहँदा ११औं महाधिवेशनलाई १२औंको तयारी महाधिवेशनका रूपमा बुझ्नुपर्ने कतिपयको तर्क छ। उनीहरूमध्ये केहीले महासचिव शंकर पोखरेललाई १२औंको अध्यक्षको प्रत्यासीका रूपमा बुझेका छन्।
दुई पटक महासचिव जितेका पोखरेल ओलीका उत्तराधिकारी बन्ने भएकैले उनलाई रोक्नुमै कतिपय नेताले भविष्य देखेको हुनसक्ने उनीहरूको तर्क छ।
यो तर्कमा कत्तिको सत्यता छ, त्यो समय क्रममा खुल्ने नै छ। तर अहिले पोखरेलले समूहको भोट पाउन नसकेको पक्का हो।
यो महाधिवेशनमा नवौंको झल्को यस कारण पनि आयो, किनभने दुवै समूह प्यानलसहित मैदानमा थिए। सुरूमा उम्मेदवार नै भेट्टाउन सकस परे पनि पछि पोखरेल समूहले शिरदेखि तीरसम्म उम्मेदवार छनोट गरेको थियो। कतिपय ओली समूहकालाई पनि आफ्नो समूहमा राखेर साझा उम्मेदवार बनाएको थियो।
प्रदर्शनीमार्गस्थित सडकमा दुवै पक्षका नेता–कार्यकर्ता उम्मेदवारी मनोनय प्रक्रियादेखि परिणाम नआउँदासम्म पाँचै दिन भेला भएर महाधिवेशनमा रौनक थपिरहे। उम्मेदवारका कटआउटसहित नाराबाजी र प्रदर्शनले चुनावी गर्मी पैदा गरिरहे।

सत्य सावित भयो ओलीको विश्लेषण
संस्थापनक पक्षकै कतिपय नेता अध्यक्ष ओलीले चुनावी परिणाको सम्भावित दृश्य आकलन गरेको बताउँछन्।
निर्वाचन हुँदा महासचिव पोखरेललाई समूहबाटै असहयोग हुने ठानेर ओलीले मतको मार्जिन बढाउन लागिपरेका थिए। सचिवालय सदस्यहरूको विरोधका बाबजुद कतिपय जिल्ला प्रतिनिधि छनोटमा भएको विवाद, धाँधली र एकलौटीलाई ओलीले आँखा चिम्लिएका थिए।
एमालेको यस पटकको महाधिवेशन प्रतिनिधि छनोट केही जिल्लामा विवादित बनेको थियो। संस्थापन पक्षले जुन जिल्लामा आफ्नो कमजोर उपस्थिति देख्यो, त्यहाँ उसले बखेडा झिकेर पनि आफ्ना मानिसहरू छिराइछाड्यो। ओखलढुंगा, धनकुटामा छानिइसकेका प्रतिनिधि बदल्न लगाएर आफ्ना मानिस हाल्यो।
दाङ, सल्यान लगायत जिल्लाको विवाद छलफलकै विषय बनेन। यहाँसम्म कि, महाधिवेशन भइसकेपछि गठन भएको नेसनल भोलेन्टियर फोर्सले जनसंगठनको मान्यता मात्र पाएन, महाधिवेशनमा प्रतिनिधिसमेत ल्याइयो।
'यी सबै गर्नुका पछाडि ओलीले आफ्नो समूह बलियो बनाउनु थियो। शंकर पोखरेल महासचिव निर्वाचित हुन मत पुग्दैन कि भन्ने भयले पनि काम गरेको थियो। ओलीको अथक प्रयत्नका बाबजुद पोखरेलले अपेक्षित मत प्राप्त गर्न सकेनन्,' ओली पक्षकै एक नेताले भने।
त्यसो त समूहको खम्बा नै मानिएका विष्णु रिमालका लागि यो निर्वाचन अनुकूल बनेन। उपमहासचिव हारेका रिमाल केन्द्रीय सदस्यसमेत जित्न सकेनन्। ओली उनलाई कुनै हालतमा जिताउन चाहन्थे।
आफ्नै समूहमा अन्तरविरोध बढेकाले भानुभक्त ढकाल, राजन भट्टराई लगायत नेताहरू पनि 'रेड जोन' मा थिए। आफ्ना पक्षका प्रतिनिधि संख्या नबढाउँदा उनीहरू आउने सम्भावना नभएकाले पनि ओलीले यस पटक मसिनो ढंगले मिहिनेत गरेका हुन् भनेर बुझ्ने उक्त समूहमा धेरै छन्।
-1766051144.jpg)
पूर्वमाओवादी मिलाउने ओली प्रयासमा प्रतिनिधिहरूको लाहाछाप
आफ्नो समूहमा अन्तरविरोध भए पनि ओलीले यस पटक पूर्वमाओवादी मिलाइ छाडे। सुरूमा पूर्वमाओवादी केही असन्तुष्ट बनेका थिए। लेखराज भट्टले नै विद्रोह गर्ने लक्षण देखाए। सुरूमा भट्ट सचिवको सूचीमा थिए। ओली समूहले भट्टलाई सचिव राखेर लिस्ट फाइनल गरेको पनि हो।
तर भट्टले प्रदीप ज्ञवालीकै शैलीमा अडान लिए।
देशभरि पूर्वमाओवादी समूहका २०० हाराहारी प्रतिनिधि थिए। पूर्वमाओवादीको समूह नै रूष्ट बन्ने खतरा बढेपछि र सुदूरपश्चिममा लेखराजको पकडमा रहेको भोट बिग्रने भय बढेपछि ओलीले उनलाई मिलाए। रोजेकै पद दिए।
पूर्वमाओवादी मिलाउने ओली प्रयासलाई उनको समूहले खुला हृदयले स्वीकारेको देखिन्छ। उपमहासचिवतर्फ भट्टले पहिलो मत (१४५२) प्राप्त गरे। उपाध्यक्षमा रामबहादुर थापा बादलले तेस्रो (१५१६) मत प्राप्त गरे।
यो महाधिवेशनमा पूर्वमाओवादी निर्वाचित हुँदैनन् कि भन्ने भय केही प्रतिनिधिको अनुहारमा प्रतिविम्बित थियो। पूर्वमाओवादीको संरक्षणमा दुवै समूह खुलेर नलागेकाले उनीहरू मतमा पछि पर्ने हुन् कि भन्ने आशंका पनि थियो। तर प्रतिनिधिहरूको विश्वासले त्यसलाई मेटाइदिएको छ।
'यो परिणामले अब पूर्वमाओवादी भन्ने पनि मेटियो। यो परिणाम उनीहरू सबै एमाले भइसकेको, एमालेमै मिलाइसकेको प्रमाण पनि हो,' एक प्रतिनिधिले भने।

विद्युतीय उपकरणमार्फत् भोटिङ तर मत हाल्नै सकस
एमालेले १०औं महाधिवेशनदेखि विद्युतीय उपकरणमार्फत मतदान गराउँदै आएको छ। नवौं महाधिवेशनमै यसको प्रयोग गर्ने भनिए पनि अन्तिममा कागजी मतदानलाई नै बढी विश्वास गरिएको थियो।
यस पटक पूर्णरूपमा विद्युतीय उपकरणमार्फत् मतदान गरिए पनि २२६३ मतदातालाई भोट हाल्न झन्डै २३ घन्टा लाग्यो। बुधबार बिहान ९ः१२ बजेबाट सुरू भएको मतदान बिहीबार बिहान ७ बजे मात्र सकियो।
एक जना प्रतिनिधिलाई मत हाल्न २ घन्टा ३० मिनेटसम्म लागेको थियो। केपी ओलीसहित शीर्ष नेतालाई मत हाल्न एक घन्टा बढी समय लागेको जानकारी उनीहरूले नै दिएका थिए।
यस पटक निर्वाचन समितिले चिटमा कडाइ गरेन। दुवैतर्फले मनग्गे चिट बाँडे। उम्मेदवारहरूले आफूअनुकूलका छुट्टाछुट्टै सूची पनि बाँडे। आ–आफ्ना पक्षका समूहगत उम्मेदवारहरूको नामावली सहितको सूची बोकेर मतदान स्थल पुगेका प्रतिनिधिहरूले त्यही नाम हेर्दै भोट हाले। यसको असर परिणाममा मात्र देखिएन, मतदान पनि लम्बेतान बन्यो। प्रतिनिधिहरूले रातैभरि जाग्राम बसेर आफूले छनोट गरेका उम्मेदवारलाई भोट हाले।
सूचीको नाम उपकरणमा मिलाउन नसक्ने केही मतदाता त बेहोस नै भएको अनुभव निर्वाचन आयोगका पदाधिकारीहरूले सुनाएका थिए।
-1766059410.jpg)
कार्यकर्ताको धैर्यबारे नेतृत्वले लिएको परीक्षा
यस पटक एमालेका २२६३ प्रतिनिधिले देखाएको धैर्य तारिफ गर्न लायक थियो।
एमालेको नेतृत्व पंक्ति, निर्वाचन आयोग, बन्द सत्र स्थलमा खटिएका स्वयंसेवकहरूले एक किसिमले उनीहरूको धैर्यको परीक्षा नै लिए। लगातार ६ दिनसम्म खटेर उनीहरूले आफ्ना नेता चुने, जहाँ मतदान प्रक्रिया नै २३ घन्टा लामो बनेको थियो।
रातैभरि जाग्राम बसेर भोट हालेका प्रतिनिधि बिहीबार दिउँसो परिणाम सुनेर मात्र आफ्नो कार्यथलो फर्किएका थिए।
निर्वाचन आयोगको अकर्मण्यताका कारण मंगलबार बेलुकी ३ घन्टा लाइनमा बसिसकेका प्रतिनिधि भोट नहाली वासस्थल फर्किएका थिए। अचानक प्राविधिक समस्या देखाएर उनीहरूलाई लाइनबाटै फर्काइएको थियो। तैपनि उनीहरूले प्रतिवाद गरेनन्।
उनीहरूको तारिफ शुक्रबारको समापन सभामा अध्यक्ष ओलीले समेत गरेका थिए।
***