नेपाल सरकारले चालु आर्थिक वर्षको पुस पहिलो हप्तासम्ममा विकास साझेदारहरूबाट २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार गत वर्षको सोही अवधिमा प्राप्त ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालू आर्थिक वर्षमा प्रतिबद्धता २३७.५ प्रतिशतले वृद्धि भएको छ।
अनुदानतर्फ १५३.१ प्रतिशत र ऋणतर्फ २८०.६ प्रतिशतले प्रतिबद्धता वृद्धि भएको उनले जानकारी दिए।
यद्यपि, प्राप्त वैदेशिक सहायता प्रतिबद्धताको अनुपातमा अपेक्षित रूपमा बढ्न सकेको छैन। चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त सहायता मात्र ४४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले मात्र वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ।
प्राप्त सहायता मध्ये वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। अर्थ मन्त्रालयका अनुसार प्राप्त रकम विभिन्न विकास निर्माण परियोजनाहरूमा खर्च भइरहेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता भट्टराईले प्रतिबद्धता वृद्धिलाई सकारात्मकरूपमा हेर्न सकिने बताए।