नेपालको निर्यात व्यापारमा तीव्र उतार–चढाव देखिन थालेको छ।
एक वर्ष उल्लेखनीय निर्यात भएको वस्तु त्यसपछिको वर्षमा नगन्य हुने, नगन्य भएको निर्यात एक्कासि बढ्ने प्रवृत्ति बढेको छ।
नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत मात्रै छ। तर, ठूलो परिमाणमा निर्यात हुने वस्तुहरूको सूचीमा निकै अस्थिरता देखिएको छ।
गत वर्ष उल्लेखनीय योगदान गरेका १० वस्तुको निर्यात यो वर्ष करिब ४१ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा प्रशोधित पाम तेल, प्रशोधित भटमासको तेल, ऊनी गलैँचा कार्पेट, हवाइजहाज र हेलिकप्टर, सेन्थेटिक यार्न, अल्कोहलरहित पेय पदार्थ, चोकर तथा भुस, चिया, खोटो तथा रोजिन र चाउचाउ, नुडल्स तथा पास्ताको निर्यात ३४ अर्ब १५ करोड रूपैयाँ बराबरको भएको छ।
जबकि गत आर्थिक वर्षको यसै समयमा यी नै सामानको निर्यात ५८ अर्ब ८६ करोड रूपैयाँ बराबरको थियो। गत वर्षको तुलनामा यस्तो निर्यात २४ अर्ब ७० करोड घटेको छ।
यता गत वर्ष तुलनात्मक रूपमा कम योगदान भएका अन्य १० वस्तुको निर्यात भने यो वर्ष ५६ प्रतिशतले बढेको छ।
फलामे पाता, प्लाइउड, फलफूलको जुस, सिमेन्ट खैरो, दाह्री काट्ने रेजर तथा ब्लेड, सिमेन्ट क्लिङकर, तयारी कपडा, एमएस स्टिल स्ट्रिप, पिना, भेनीयर सिटको निर्यात ४२ अर्ब ८४ करोड रूपैयाँ बराबरको भएको छ।
जबकि गत वर्ष यसै समयमा यी वस्तुको निर्यात २७ अर्ब ४० करोड रूपैयाँको भएको थियो। गत वर्षको तुलनामा यस्तो वस्तुको निर्यात १५ अर्ब ४४ करोड रूपैयाँले बढेको छ।
निर्यात घट्नु भारत सरकारको नीति र नेपाल सरकारले छिटो–छिटो गर्ने कर परिवर्तन प्रमुख कारण देखिएको छ। त्यस्तै आयातमा केन्द्रित निर्यात पनि यसको प्रमुख कारण देखिएको छ।
कतिपय वस्तु नेपालमा सामान्य पनि उत्पादन नहुने तर एक देशबाट आयात गरेर सामान्य मूल्य अभिवृद्धि गरी भारत पठाउने गरिएको छ। नेपाल भारत वाणिज्य सन्धिको लाभ उठाउने व्यवसायीहरूले यसरी निर्यात गर्ने गरे पनि भारत पटक–पटक फरक नीति चाल्दा व्यवसायीको ठूलो लगानी समेत जोखिममा पर्ने गरेको छ।
भन्सार विभागको तथ्यांकले पनि यो विषय पुष्टि गरेको छ।
जस्तो आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल थियो। त्यस समयमा १९ अर्ब ५४ करोड रूपैयाँको पाम तेल निर्यात भएको थियो। तर, यस वर्ष ६ अर्ब ३१ करोड रूपैयाँको निर्यात भएको छ।
त्यस्तै भटमासको प्रशोधित तेल गत वर्ष ११ महिनामा ८ अर्ब ४७ करोड रूपैयाँको भएको थियो। यो वर्ष ११ महिनामा भने ८७ करोड रूपैयाँ मात्रै भएको छ।
पाम तेलको उत्पादन नेपालमा हुँदैन भने भटमास उत्पादन नगन्य हुन्छ। यी तेल मलेसिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, चीन, टर्की, युक्रेन लगायत देशबाट आयात गरिने गरेको छ।
यी वस्तुको सामान्य मूल्य अभिवृद्धि गरी भारत निर्यात गरिने गरेको थियो। नेपालले गर्ने मूल्य अभिवृद्धिको मात्रा नपुगेको शंकामा बेलाबेलामा गैर–भन्सार अवरोधहरू पनि गर्दै आएको थियो। दुई देशीय वाणिज्य सन्धिअनुसार यस्तो वस्तुमा कम्तीमा ३० प्रतिशतको मूल्य अभिवृद्धि हुनु पर्छ।
तर, भारतले आर्थिक वर्ष २०७८/७९ मा भारतले अन्य देशबाट पनि कच्चा तेलमा लाग्ने कर कटौती गरेको थियो। यसपछि नेपाल हुँदै जाने तेलको तुलनामा सम्बन्धित देशबाट मगाउन सस्तो भएपछि नेपालबाट यस्तो तेलको माग आउन छोड्यो र आयात पनि घट्न गएको हो। तर विगतमा आयात गरिएको तेल नेपाली उद्योगीले घाटा खाएर पनि निर्यात गरेको बताएका छन्।
जस्तो कि, मूल्यका आधारमा पाम तेलको निर्यात यस वर्ष ६७ प्रतिशतले घटेको छ। तर परिमाणको आधारमा ७९६ प्रतिशतले बढेको छ।
गत वर्ष ११ महिनामा नौ करोड ३८ लाख लिटर तेल १९ अर्ब ६४ करोड रूपैयाँमा निर्यात भएको थियो। यो वर्ष ११ महिनामा ८४ करोड १४ लाख लिटर तेल जम्मा ६ अर्ब ३१ करोड रूपैयाँमा भएको छ।
ऊनी गलैँचाको निर्यात ५ प्रतिशतले घटेको छ। यस्तो वस्तुको निर्यात नौ अर्ब ७३ करोड रूपैयाँको छ।
गत वर्ष बढी निर्यात देखिनुको एउटा कारण पुराना हेलिकोप्टरहरूको अन्तर्राष्ट्रिय बजारमा बिक्री बढी हुनु पनि हो। गत वर्ष ६ वटा यस्ता हेलिकप्टर तथा जहाज ६३ करोड ८४ लाख रूपैयाँमा बेचिएको थियो। यो वर्ष एउटा मात्रै ५ करोड रूपैयाँमा बिक्री गरिएको छ।
धागोको निर्यात पनि ५ प्रतिशतले घटेर १० अर्ब ५२ करोड रूपैयाँ बराबरको छ। अल्कोहलरहित पेय पदार्थको निर्यात ९९ प्रतिशतले घटेर २४ लाख रूपैयाँको मात्रै भएको छ।
चोकर तथा भुसको ५७ प्रतिशत, चियाको १३, खोटोको १९ प्रतिशत र चाउचाउ तथा पास्ताको निर्यात १३ प्रतिशतले घटेको छ। यी वस्तुको निर्यात क्रमशः ३९ करोड तीन अर्ब १६ करोड, एक अर्ब २६ करोड र एक अर्ब ८२ करोड रूपैयाँ बराबरको भएको छ।
यता यो वर्ष ठूलो परिमाणमा प्लाइउडको निर्यात बढेको छ। यस्तो निर्यात गत वर्षको तुलनामा ६० प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रूपैयाँ बराबरको पुगेको छ।
तर आगामी वर्ष अहिलेको गतिमा प्लाइउड निर्यात हुनेमा व्यवसायीहरूको शंका छ। यो वर्ष सरकारले नेपालमा पाइने प्लाइउडको कच्चा पदार्थको निर्यात महसुल उल्लेख्य घटाएको छ।
यस्ता कच्चा पदार्थमा २०० प्रतिशतसम्म निर्यात महसुल लाग्ने गरेकोमा अहिले घटाएर ५० प्रतिशतमा झारिएको छ। तर आयात गर्नुपर्ने कच्चा पदार्थकोमा भ्याट लागू गरिएको कारण महँगो बनेको छ।
'निर्यातको रफ्तार बढाइरहेका थियौँ, सरकारले उल्टो नीति लियो, नीति परिवर्तन नभएमा उत्पादन घट्छ,' प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले भने।