‘असारअघि भैरहवा विमानस्थलको आधा काम सकिन्छ’


भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ। ऋणदाता एडीबीले दिने भनेको रकम गएको पुसदेखि रोकिँदा पनि विमानस्थल निर्माणको काम रोकिएन।

फिल्ड भिजिटपछि एडीबीले ऋण भुक्तानी दिने संकेत गरेको छ। विमानस्थल निर्माण प्रगति, श्रमिक अभाव, स्थानीय ठेकेदारहरूको अवरोध लगायतका विषयमा सेतोपाटीले आयोजना प्रमुख ओम शर्मासँग लिएको अन्तर्वार्ता :

अहिलेसम्म विमानस्थल निर्माणको काम के हुँदैछ ?

कामको गति उत्साहजनक ढंगले अगाडि बढिरहेको छ। निर्माण सामग्री संकलन र विमानस्थलका लागि महत्वपूर्ण रनवे (धावनमार्ग) र टर्मिनल भवनमा द्रुत गतिमा काम भइरहेको छ। रनवेमा वर्षा अगाडि पिच गर्ने काम मात्र बाँकी राख्छौं।

वर्षापछि पिच मात्र सुरू हुन्छ। टर्मिनल भवनको लागि छाना राख्ने काम मात्र बाँकी रहन्छ। त्यो भन्दा अगाडि हामी ढलान गरिसक्छौं। अरु कामहरू सँगसँगै जान्छन्। प्रशासकीय भवन, एटिसी भवन बनाउने काम पनि चलिरहेको छ।

अहिले कतिपय ठाउँमा दुई सिफ्टमा काम भइरहेको छ। यो बीचमा केही साधन र कामदार ल्याउनुपर्ने छ र त्यसको काम अगाडि बढेको छ। यति भएपछि करिब करिब हामी २०१८ भित्रै भौतिक निर्माण सम्पन्न गर्छौं।

सन् २०१९ लाई सञ्चालनको वर्ष सम्भव बनाउने गरी काम भइरहेको छ। रनवेमा सवग्रेड लेयर र सववेस त्यसपछि वेसकोर्स लेयर हुन्छ। यी काम सकिएपछि पिच सुरू हुन्छ।

अहिले हामीले सववेस लेयरको काम सकेका छौं। वेसकोर्स लेयरराखेर कम्प्रेशन गर्ने काम चलिरहेको छ। निर्माण सामग्री पर्याप्त मात्रामा रहेकोले यो काम २ महिनाभित्र सकिन्छ। वर्षाभन्दा अगाडि सकिनमा हामी विश्वस्त छौं।

पिचको लागि सामग्री स्टक गर्ने काम सुरू भइसकेको छ भने कंक्रिट एस्पायल गर्ने प्लान्ट(मेसिन)पनि जडान भइसकेको छ। यसरी हामी पुरै तयारीका साथ रहेका छौं।

टर्मिनल भवनको भूँई तल्ला सकेका छौं। पिल्लर सबै तयार छन् र अप्रिल ५ मा पहिलो तल्लाको ढलान हुन्छ भने अप्रिल १५ भित्र आधा तल्लाको ढलान पनि सकिन्छ ।

व्यवसायिक उडान कहिलेदेखि सुरू गर्न योजना बनाउनुभएको छ?

सन् २०१९ को मध्यतिर टेष्ट फ्लाइट हुन्छ। त्यसपछि अन्त्यतिर गएर व्यवसायिक उडान हुन्छ। हामीले टेष्ट उडान सफल पारेपछि क्यारियरहरूको तयारी सुरू हुन्छ। बन्ने पक्का भएपछि यसलाई चलाउने कुरामा ध्यान केन्द्रीत हुन्छ।

त्यस अगावै वैकल्पिक अवतरणको वातावरण पिच तयार भएपछि हुन्छ।

ठेकेदारसँग सम्झौता यही जुनसम्म मात्र छ? त्यसपछि के हुन्छ?

जहाँ जुनसुकै पक्षले विवेकपूर्ण निर्णय लिने हो। व्यक्तिको लहडमा आएर निर्णय हुँदैन। यदि यही ठेकेदारले यही गतिमा काम अगाडि बढाउँछ र अरु विकल्पभन्दा यहीबाट छिटो हुन्छ भने यसैलाई रोज्ने हामीसँग विकल्प हुँदैन।

यसैलाई निरन्तरता दिने कि सम्झौता तोड्ने भन्ने विषयमा पर्याप्त छलफल भएका थिए। तर सम्झौता तोड्दा लागत र समय बढ्ने भयो। त्यसको तुलनामा यही ठेकेदारले यही गतिमा काम गरे छिटो अवस्था देखिन्छ। त्यसैले अहिले हामी यसैलाई निरन्तरता दिने निष्कर्षमा पुगेका छौं।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग। तस्बिर : रवीन्द्र शाही/सेतोपाटी

अहिलेसम्म यही अवस्था छ। तर भोलि यसले फेरि काममा तीव्रता दिएन भने सम्झौता भंग गर्न पनि सक्छौं। अहिले ऋणदाता एसियाली विकास बैंक (एडीबी) ले पनि विमानस्थल निर्माणमा सन्तुष्ट छ।

भनेपछि एडीबीले रोकेको भुक्तानी सुरू गर्छ अब ?

एडीबीले काम सुस्त भयो भनेर चेतावनी स्वरुप भुक्तानी रोकेको हो। तर उहाँहरूलाई मैले निर्णयमा पुग्नु भन्दा पहिले साइट भिजिट गर्नुहाेस् भनेर निमन्त्रणा गरेको थिएँ। उहाँहरू यहाँ आउनु भयो। काम हेरेर मख्ख परेर जानु भएको छ। त्यसैले मलाई लाग्छ भुक्तानी सुरू हुन्छ।

अब कामको गति बढाउन कस्तो तयारी भएको छ?

हामीले आउने जुन (दोस्रो चरणको सम्झौताको म्याद) समयसम्म विमानस्थल निर्माणको आधा काम सक्न (५० प्रतिशत प्रगति) ठेकेदारहरूलाई निर्देशन दिएका छौं। यो निर्देशन भन्दा पनि ऊ पनि सहमत भएको संयुक्त कार्यदिशा हो।

जसमा कामदार,साधनहरू के कति परिचालन गर्ने? भनेर खाका बनाएका छौं। आवश्यक परे दुई सिफ्टमा काम गर्ने भनेका छौं। त्यो भन्दा धेरै पनि हुनसक्छ । अहिले कतिपय ठाउँमा दुई सिफ्टमा काम भइरहेको छ। जुनमा फेरि एसिसमेन्ट गर्छौं।

विगतमा निर्माण सामग्री र श्रमिकको अभाव थियो, कसरी व्यवस्थापन गर्नुभयो?

कुनै पनि ठूला आयोजना सम्पन्न गर्न कतिसम्म समस्या भोग्नुपर्छ भनेर मैले राम्रैसँग अनुभव संगालेको छु।  सुरूकै दिनदेखि ढुंगा, गिट्टी, बालुवा र माटो ल्याउन समस्या भोग्न पर्‍यो। हाम्रो देशमा अन्तर सरकारी समन्वयको अभाव छ। त्यस्तै, विकासप्रेमी विधि विधान र समन्वयको वातावरण छैन। त्यस्तै, व्यक्तिको धारणा विधिभन्दा माथि छ।

हामीले विदेशी ठेकेदार ल्याएपछि सबै काम उसैले गर्छ भन्ने मानसिकता छ। तर काम गर्ने वातावरण नदिने छ।  हामीले त्यो छिटो गर्नको लागि वातावरण बनाउँदैनौं। त्यही कारण हामीले पनि समस्या भोग्यौं।

त्यसपछि आयोजनाहरूले सिधै ढुंगा गिट्टी पाउनुपर्छ भनेर मन्त्रिपरिषद्बाट निर्णय गरायौं। अहिले पनि धेरैभन्दा धेरै निकायबाट अनुमति लिनुपर्ने अवस्था छ। गएको ४ महिनादेखि त्यो समस्या समाधान भएको छ।

त्यस्तै, चिनियाँ र नेपाली पक्षको विवादले आठ दश महिना ढिला भयो। त्यो सबै सकिएपछि अहिले गति लिएको छ।  त्यसपछि ठेकेदारको व्यवस्थापनलाई पनि परिवर्तन गरायौं। तत्कालीन प्रमुख आयोजनास्थलमा कम  र काठमाडौं धेरै बस्ने प्रवृत्ति थियो। काठमाडौंमा बसेर शक्तिको अभ्यास गर्ने उनको मनसाय थियो। नयाँ व्यवस्थापन आएपछि कामले तीव्रता लिएको छ।

कामदारहरू कतिजना छन्?

अहिले २ सयको हाराहारीमा कामदारहरू छन्। त्यसमा ६५ जना जति चिनियाँ छन्। त्यसमा ४५ जना चिनियाँहरू ग्राउन्डमा काम गरिरहेका छन्। उनीहरूले थप २५० चिनियाँ दक्ष कामदार ल्याउन भिसा माग गरेका छन्।

टर्मिनेशनको कारणले ल्याउने नल्याउने भनेको थियो हामीले ल्याउन भनेका छौं। भिसाको लागि हामीले सिफारिस गरेका छौं। चिनियाँहरूले दुई सिफ्टमा काम गर्छन्। त्यति कामदार आएपछि काम झन तीव्र गतिमा हुन्छ।

ठेकेदार व्यवस्थापन फेरियो, नेपाली साझेदार पनि फेरियो त्यसपछि कस्तो प्रगति भएको छ?

ठेकेदारको व्यवस्थापन फेरिएपछि सन् २०१७ को सेप्टेम्बरदेखि विस्तारै प्रगति भइरहेको छ। त्यस्तै, पहिलेको लफडावाल नेपाली साझेदार हटेपछि नेपाली साझेदार नयाँ आएको छ।

अहिलेको नेपाली साझेदार स्वसम कन्ट्रक्सन प्रालिले मागे जतिको ढुंगा गिट्टी बालुवा उपलब्ध मात्र होइन स्टक पनि उत्तिकै दिइरहेको छ।
ठेकेदारले अहिले साँच्चै काम गर्छु र टुंगोमा पुर्याउछु भनिरहेको छ। हामीले बाहिरबाट हेर्दा अविश्वास गरिहाल्ने अवस्था छैन।

माटोको समस्या कस्तो छ?

अहिले किनेर ल्याउने सामग्री ल्याइरहेका छौं। तर माटोको समस्या यथावत छ। रनवेको छेउतिर भर्नको लागि आवश्यक माटो ल्याउने विषयमा अलिक समस्या छ। ३० मिटर रनवे स्ट्रिपको लागि आवश्यक त्यो समानान्तर काम हो।

हामीले त्यसको लागि अहिले विभिन्न सरकारी निकायसँग छलफल गरिरहेका छौं। पायक पर्ने र छिटो हुने ठाउँमा छलफल भइरहेको छ। यसले रनवेको कामलाई फरक पार्दैन। टेष्ट उडानकै दिनसम्म पनि यो काम चल्न सक्छ।

विमानस्थलकोे क्षमता कति हुन्छ?

विमानस्थल सञ्चालनमा आएपछि रनवे ३ हजार मिटरको छ। बोथ वे एप्रोचको रनवे रहेको छ। दुवैतिरबाट अवतरण गर्न मिल्छ। त्यसैले यो काठमाडौंको विकल्प हो।

टर्मिनल भवन व्यवसायिक आवश्यक अनुसार थपिँदै जान्छ। सुरूमा यसले एक घण्टामा ४ सय यात्रुलाई सेवा दिन सक्छ। काठमाडौंकै बराबर हुनलाई २ हजार यात्रुलाई सेवा दिने टर्मिनल चाहिन्छ।

अहिले अधिग्रहण भएको जग्गामा १ हजार किलोमिटर जमिनमा १० वटा एरोब्रिजसहितको टर्मिनल भवन बनाउने योजना रहेको छ। जसमा पार्किङ वे हुन्छ। अहिले ५ वटा मात्र जहाज पार्किङ गर्न मिल्छ।  उपलब्ध जग्गाको आधारमा जति पनि विस्तार गर्न सकिने छ। यो विमानस्थल काठमाडौंको पूर्ण विकल्प हुनेछ।

विमानस्थलको व्यावसायिक सम्भाव्यता कस्तो छ?

विश्वभरका १ अर्ब बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी यही छ। तिनलाई मात्र ल्याउन सकियो भने यो विमानस्थल अझै साँघुरो हुनसक्छ। त्यसलै यसको सम्भाव्यता कम छैन।

सबैभन्दा ठूलो कुरा यो ठाउँ देशकै मध्य भागमा छ। पश्चिम नेपालमा जान चाहने पर्यटक पनि यहीबाट आउन सक्छन्। उडान सुरू भएपछिका अन्य पूर्वाधारमा पनि त्यत्तिकै लगानी बढिरहेको छ। मेचीदेखि महाकालीसम्म सहज यात्राको व्यवस्था गर्न सक्छ।

दोस्रो चरणको लागि जग्गा कति अधिग्रहण गर्नुभएको छ?

यसको लागि हामीले ५ सय बिगाहा जग्गा अधिग्रहण गरेका छौं। दोस्रो चरणमा हामी टर्मिनल, पार्किङ स्पेस, कार्गो भवन, इन्धन स्पेश, ह्यांगरजस्ता संरचना निर्माणको काम हुनेछ। विमानस्थलमा आवश्यक अन्य पूर्वाधारहरू त्यो जग्गामा निर्माण हुनेछ।  त्यस्तै, आवश्यक उर्जा उत्पादनको लागि सोलार प्लान्ट पनि राख्न सक्छौं। सुरक्षा संयन्त्रको लागि आवश्यक ठाउँ पनि।

राडारको लागि ७५ बिगाहा जग्गा छुट्याएका छौँ। जहाँको पाँच किलोमिटर आसपास कुनै पनि बस्ती हुँदैन। त्यस्तै, लाइटिङ सिस्टमको लागि आवश्यक पूर्वाधारको लागि हामी जुटिरहेका छौँ।

यसको लागि २३ अर्ब लागत लाग्छ भने यो वर्ष ६ अर्ब खर्च गरिसकेका छौं। अघिल्लो वर्ष २ र यो वर्ष ४ अर्ब खर्च गरिसकेका छौं। हामीले फेरि बाँकी रकम माग गरेका छौं। यो वर्ष अझै कम्तिमा पनि १२ अर्ब खर्च गर्न सक्छौं।

अहिलेसम्म भुक्तानी कति भयो?

अहिले २४- २५ प्रतिशत भएको छ। पेस्की सहितको भुक्तानी हो यो। बिलको भुक्तानी भने अझै कम छ।  आर्थिक आधारमा हिसाब गर्दा ठेकेदारले पहिले खर्च गर्छ र पछि हामी अन्तिममा मात्र बिलमा मात्र भुक्तानी दिन्छौं।

अहिले पनि फिल्डमै ५० करोडभन्दा बढीको सामग्री स्टक रहेको भनेका छन्। तर हामीले एक रुपैयाँ पनि भुक्तानी गरेका छैनौं। यो हाम्रो प्रगतिमा पनि देखिँदैन। यो थोरैजस्तो मात्र देखिएको हो।

गुणस्तर कसरी कायम भइरहेको छ?

आयोजनाको डिजाइन तथा सुपरभिजन गर्न दक्षिण कोरियाको युसिन इन्जिनियरिङ कर्पोरेशन छ। नेपाली साझेदारमार्फत उसले गुणस्तर र सुपर भिजन गरिरहेका छन्।

उनीहरूले ठेकेदारलाई दिएको निर्देशन केही हामीले सामान्यतया निरीक्षण गर्ने बाहेक उबाट हुन्छ।

ठेकेदारले पनि उसैलाई रिपोर्ट गर्छ र हामीलाई उसले गराउँछ। उसको सिफारिस अनुसार मात्र हामी गर्छौं। यसको रनवे क्याटोगरी ४ इ हो। काठमाडौंको जस्तो हो यसको पनि यही हो। यसमा एयरबस ३३० विमानहरू सहजै अवतरण गराउन सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.