पद्मा बुढाले २३ कट्ठा जमिनमा लगाएको ड्रागन खेती एक्लै सम्हालिरहेकी छन्।
व्यावसायिक खेतीका लागि सुर्खेतको वीरेन्द्रनगरमा 'मालिका कृषि तथा ड्रागन फ्रुट प्रालि' दर्ता गरेकी छन्।
पद्माले यसरी खेती एक्लै सम्हाल्न थालेको दुई वर्ष मात्र भयो। त्यसअघि उनका श्रीमान पनि साथमा थिए। खेतीको योजना खासमा उनका श्रीमानले नै बनाएका थिए।
जाजरकोटको छेडागाड नगरपालिकाका पद्मा र उनका श्रीमानले सुर्खेतमा करिब १७ वर्ष कपडा पसल चलाए। एकपटक व्यावसायिक भ्रमणका सिलसिलामा श्रीमान थाइल्यान्ड गएका थिए। उताबाट फर्केपछि ड्रागन फ्रुट खेती गर्ने योजना बनाए।
'कपडा पसल गर्दागर्दै भ्रमणको अवसर परेर थाइल्यान्ड जानुभयो। त्यहाँ ड्रागन फलको खेती देखेर उहाँले पनि खेती गर्ने योजना बनाउनुभएछ,' पद्माले भनिन्, 'थाइल्यान्डबाट फर्किनेबित्तिकै उहाँले मलाई आफ्नो योजना सुनाउनुभयो।'
ड्रागन फ्रुट खेतीबाट हुने फाइदाको कुरा सुनेपछि उनी पनि राजी भइन्।
कपडा पसल छाडेर खेती गर्न उनीहरूले २०७७ सालमा चनौटेमा २३ कट्ठा जग्गा भाडामा लिए। जग्गा सम्याएर मिलाए। खाँबा गाडे। बिरूवा ल्याउने तयारी हुँदै थियो, कोरोना महामारी फैलियो।
परिस्थिति साम्य भएपछि पद्माका श्रीमान २०७७ चैतमा भारतको गुजरात गए। ड्रागन फ्रुटका दुई हजार ६०० वटा बिरूवा लिएर आए।
तर ती बिरूवा रोप्न नपाउँदै श्रीमानलाई कोरोनाले समात्यो। उपचारले काम गरेन। अन्ततः उनी आफ्ना सबै योजना र सपना श्रीमती पद्मालाई छाडेर २०७८ वैशाख १७ गते संसारबाट बिदा भए।
पद्मा एक्लै भइन्।
श्रीमान बितेको १३ औं दिनसम्ममा उनले निधो गरिन्, 'श्रीमान र मैले मिलेर गर्ने भनेको खेती अब म गर्छु।'
उनले दुःख सबै छेउ लगाएर हिम्मत बटुलिन्। श्रीमानको मृत्युको तेह्रौं दिनको तिथिमा तेह्रवटा बिरूवा रोपिन्।
यसरी उनको व्यावसायिक ड्रागन फ्रुट खेतीको यात्रा सुरू भएको हो।
अहिले उनको बारीमा एक हजार २५० वटा खम्बा छन्। तिनमा करिब पाँच हजार बिरूवा अडिएका छन्।
पद्माका अनुसार जग्गा व्यवस्थापन गर्दा र सबै बिरूवा लगाउँदासम्ममा ३५ लाख रूपैयाँ लगानी भएको थियो। हालसम्म कुल लगानी एक करोड रूपैयाँ नाघेको छ। लगानी अनुसारकै आम्दानी हुन भने बाँकी छ।
'अहिले त एक करोडभन्दा बढी लगानी भइसक्यो। नाफा भएको छैन,' उनी भन्छिन्, 'जग्गाको भाडा, कामदारको ज्याला, औषधि, मल लगायतका खर्च ऋणबाटै धान्दै छु।'
जम्मा २३ कट्ठा जग्गाको भाडा वार्षिक तीन लाख रूपैयाँ छ। मासिक तलबमा दुई जना कामदार छन्। खेतीमा वार्षिक दस लाख रूपैयाँ खर्च हुन्छ।
'ड्रागन फ्रुट खेती सुरू गरेयता भाडा तिर्न पनि आम्दानी भएको छैन। सिजनमा कामदारलाई ज्याला दिन र घर खर्च चलाउन मात्र पुगेको छ,' पद्माले भनिन्, 'अब आम्दानी सुरू हुन्छ। लगानी उठ्छ अनि नाफा हुन थाल्छ।'
ड्रागन फ्रुट जेठदेखि असोजसम्म फल्छ। पद्माले गत वर्ष करिब नौ क्वीन्टल (नौ सय किलो) फल बेचिन्। यसपालि अपेक्षाअनुसार राम्रो भएको छैन।
सिजनमा खडेरीले समस्या भयो। पहिलो खेपमा ४० किलो मात्र फल निस्कियो। दोस्रो खेपमा फल सानो भयो, राम्रो मूल्य आएन। तेस्रो खेपमा रोगले सतायो।
अहिले चौथो खेपको फल लागेको छ। जेठदेखि असोजसम्मको पाँच महिनामा ड्रागन फ्रुटको बिरूवाले नौपटकसम्म फल दिन्छ। यसकारण यसपालि पनि उनको आशा जीवितै छ।
उनका अनुसार ड्रागन फ्रुट खेतीमा मुख्य समस्या रोग–कीराको छ। समयमै रोग पहिचान हुन नसकेर समस्या पर्ने गरेको छ।
'सबै खर्च पुग्ने गरी बिरूवाले फल दिने समय हुन बाँकी भएकाले खर्च चलाउन ऋण लिनुपरेको छ,' उनी भन्छिन्, 'आफ्नो जग्गा धितो मूल्यांकन हुने ठाउँमा छैन। बैंकबाट ऋण लिन पाइनँ। व्यक्तिबाट ऋण लिनुपरेको छ, ब्याज चर्को पर्छ। बैंकबाट कृषि ऋण लिन पाएको भए ब्याजमा अनुदान पाइने थियो।'
पद्माका अनुसार खुद्रा व्यापारमा ड्रागन फ्रुटले प्रतिकिलो पाँच सय रूपैयाँसम्म मूल्य पाउने गरेको छ। होलसेल मूल्यमा दिँदा प्रतिकिलो तीन सय रूपैयाँ आउँछ।
अहिले ऋणबाट चल्नुपरे पनि चाँडै आम्दानी सुरू हुने र व्यवसाय नाफामा जाने उनको विश्वास छ। उनी यसैअनुसार अघि बढेकी छन्। दिवंगत श्रीमानको योजना सफलतामा पुर्याउने अठोट पनि छ।
'एक करोड लगानी भइसक्यो। सबै बिरूवा हुर्काइसकेँ। चार वर्षदेखि यसमै खटेकी छु,' पद्माले भनिन्, 'मेरा श्रीमानको योजना हो। म जसरी पनि अघि बढ्नु छ। उहाँको योजना अधुरो छाड्दिनँ। सफल हुन्छु भन्ने विश्वास छ।'