वीरगन्जका विभिन्न स्थानमा खानेपानीको गुणस्तर परीक्षण गर्दा दिसाजन्य किटाणु फेला परेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य कार्यालय पर्साले भदौ १८ गते वीरगन्जका ११ स्थानबाट खानेपानीको नमूना संकलन गरी गुणस्तर परीक्षण गरेको थियो।
परीक्षण गरिएका नमूनामध्ये चार ठाउँको पानीमा दिसाजन्य किटाणु 'इ–कोली' देखिएको रिपोर्ट बिहीबार आएको हो।
युथ केयर फाउन्डेसन, वीरगन्ज शाखाबाट लिइएका दुईवटा र स्वीकृति खाजाघर तथा स्वीट टी हाउसबाट संकलन गरिएका एक–एकवटा नमूनामा उक्त किटाणु देखिएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले जानकारी दिए।
युथ केयर भनेको लागुऔषध दुर्व्यसनीमा फसेकाहरूलाई सुधार गर्न राखिने पुनर्स्थापना केन्द्र हो। त्यहाँको पिउने पानी र ट्यांकीको पानीको नमूना संकलन गरिएको थियो, जसमा गणना गर्नै नसकिने संख्यामा किटाणु भेटिएको रिपोर्टमा उल्लेख छ।
स्वीकृति खाजाघरमा भने चापाकलबाट मोटरले तानेर राखिएको पानीको नमूना परीक्षण गरिएको थियो। उक्त नमूनामा सय एमएलमा ८६ वटा किटाणु भेटियो। त्यस्तै, स्वीट टी हाउसको पानीको नमूनामा ६ वटा किटाणु देखियो।
रिपोर्ट आएलगत्तै ती स्थानमा पानीको उपचार गर्न सुरू गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।
यसअघि खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले भदौ ८ गते १३ स्थानमा, ९ गते २५ स्थान र १० गते ५ स्थानमा गरी ४३ स्थानबाट नमूना संकलन गरेको थियो।
हैजा तथा झाडापखाला प्रभावित क्षेत्रमा वितरण गरिएका डिप बोरिङ र स्यालो ट्युबवेलको धाराबाट संकलन गरिएका नमूना पानीको गुणस्तर परीक्षण विभागकै केन्द्रीय पानी परीक्षण प्रयोगशालामा गरिएको थियो। तर त्यसमा कुनै पनि किटाणु फेला परेको थिएन।
वीरगन्ज महानगरपालिकाले पनि आफ्नो पानी प्रशोधन केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गर्दा कुनै पनि किटाणु फेला नपरेको जनाएको थियो।
विश्व स्वास्थ्य संगठनका पानी गुणस्तर अधिकृत माइक्रोबायोलोजिस्ट सुशील बञ्जाडेले एक महिनासम्म वीरगन्जमा बसेर स्वास्थ्य कार्यालय पर्सासँगको समन्वयमा खानेपानीको गुणस्तर परीक्षण गर्नेछन्। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक विजयकुमार साहले उनलाई सघाउनेछन्।
यस्तो छ हैजा र झाडापखालाको अवस्था
वीरगन्जका अस्पतालमा साउन २८ देखि नै झाडापखालाका बिरामी भर्ना हुन थालेका थिए। बिरामी संख्या बढेपछि भदौ ५ गते एउटा नमूना परीक्षण गर्दा किटाणु संक्रमण भेटिएको थियो। त्यसयता हैजा तथा झाडापखालाका बिरामी अस्पताल भर्ना हुने क्रम रोकिएको छैन।
केही दिनयता नयाँ बिरामी भर्ना हुने क्रम घटे पनि शुक्रबार बेलुका सार्वजनिक गरिएको रिपोर्टमा ५२ जना नयाँ बिरामी भर्ना भएको उल्लेख छ।
अहिलेसम्म दर्ता भएका बिरामी संख्या १ हजार ७८ पुगेको छ। तीमध्ये १ हजार ६ जना उपचारपछि घर फर्किएका छन् भने ७२ जनाको उपचार चलिरहेको छ। दस जना आइसियूमा छन्। बिरामीमध्ये २०६ जनामा हैजा संक्रमण पुष्टि भएको छ।
विज्ञ भन्छन् — क्लोरिनयुक्त पानी पिउनू
सामान्यतया एक लिटरमा ०.१ देखि ०.५ मिलिग्राम क्लोरिन भएको पानीलाई शुद्ध मानिन्छ। सरकारले तयार गरेको खानेपानी गुणस्तर मापदण्ड, २०६२ मा पनि पिउने पानीमा क्लोरिनको मात्रा ०.१ देखि ०.५ मिलिग्राम प्रतिलिटर हुनुपर्ने भनिएको छ।
हैजा तथा झाडापखाला प्रकोप फैलिएको अवस्थामा भने पानीमा क्लोरिनको मात्रा सामान्यभन्दा बढी चाहिने विज्ञहरू बताउँछन्।
क्लोरिनले हैजा तथा झाडापखाला गराउने खालका जीवाणु मार्ने र निष्क्रिय पार्ने काम गर्छ। हैजा, टाइफाइड, पखाला, झाडापखालाजस्ता रोग प्रायः दूषित पानी र खानाबाट सर्छ।
झाडापखाला तथा हैजा नियन्त्रणका लागि वीरगन्जका हरेक घरमा क्लोरिनयुक्त शुद्ध खानेपानी प्रयोग गर्न लगाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर बताउँछन्।
'खानेपानी संस्थानको पानीमा क्लोरिन मिसाइएको छ। हल्का गन्ध आए पनि त्यो पानी शुद्ध हुन्छ,' उनले भने, 'डिप बोरिङ लगायत अन्य स्रोतको पानीमा पनि क्लोरिन हालेर प्रयोग गर्नुपर्छ।'
स्वास्थ्य कार्यालय, खानेपानी संस्थान र वीरगन्ज महानगरपालिकासँग क्लोरिन उपलब्ध छ।
पानी गुणस्तर विज्ञ डा. सुदन पन्थीले पनि वीरगन्जवासीले क्लोरिनयुक्त पानी सेवन गर्नु आवश्यक रहेको बताए।
'ढलको पानीमा दिसाजन्य किटाणु हुन्छ, यदि पानीको पाइप ढलबाट लगिएको छ र कतै लिक भएको छ भने किटाणु पानीमा जान सक्ने सम्भावना हुन्छ,' उनले भने, 'वीरगन्जमा खानेपानी संस्थानले वितरण गर्ने पानीमा क्लोरिन मिसाइएको छ। डिप बोरिङको पानी प्रयोगकर्ताले कि त उमालेर पिउनुपर्छ, कि पियुष हालेर खानुको विकल्प छैन।'