नेपालको औद्योगिक क्षेत्रमा पछिल्लो समय उत्साहजनक लगानी भित्रिएको छ, जसले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सकारात्मक संकेत दिएको छ। पछिल्लो एक वर्ष (२०८१ साउनदेखि २०८२ साउनसम्म) ५ अर्ब रूपैयाँभन्दा बढी पुँजी भएका ११ वटा उद्योग दर्ता भएका छन्। उद्योग वर्गीकरणको आधारमा ५० करोडभन्दा बढी पुँजी तथा लागत भएका उद्योगलाई ठूला उद्योगको सूचीमा राखिएको छ।
५ अर्ब रूपैयाँभन्दा बढी लगानी भएका सीमित उद्योगहरूमध्ये पछिल्लो एक वर्षमा मात्रै ११ वटा उद्योग दर्ता भएका हुन्। ११ उद्योगको कुल पुँजी १ खर्ब २६ अर्बभन्दा बढी रहेको छ।
यी दर्ता भएका उद्योगमा सबैभन्दा धेरै लगानी जलविद्युत्मा देखिएको छ भने कृषि लगायतका क्षेत्रमा पनि लगानी बढ्दो छ।
पछिल्लो एक वर्षमा दर्ता भएका ११ वटा सबैभन्दा ठूला उद्योगहरूमध्ये दुई वटा पूर्ण विदेशी लगानीका छन्। अन्य ९ वटा स्वदेशी तथा स्थानीय लगानीका छन्।
सबैभन्दा ठूलो र महत्त्वपूर्ण लगानी चिनियाँ कम्पनीको मासु प्रशोधन उद्योगमा भएको छ।
हालै चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट स्वीकृति पाएको छ। विभागले साउन ८ गते यस कम्पनीलाई २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति दिएको हो। यो स्वीकृतिसँगै यो उद्योग दर्ता भएर अन्य काम पनि अघि बढाएको छ।
यो नेपालमा शतप्रतिशत विदेशी लगानीमा स्थापना हुन लागेको यो मासु प्रशोधन उद्योग अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको छ।
यो उद्योग सिन्धुलीको मरिण गाउँपालिका–४ मा एक सय बिघा क्षेत्रफलमा फैलिनेछ। यसको लक्ष्य वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको आदि) उत्पादन गर्ने रहेको छ। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस उद्योगले प्रत्यक्ष रूपमा पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिने जनाइएको छ। कम्पनीले १० देखि २० महिनाभित्र निर्माण सुरू गर्ने र दुई वर्षभित्र उद्योग सञ्चालनमा ल्याई मासु निर्यात थाल्ने तयारी गरेको छ।
छेन्दु जियान कम्पनीले आफ्नो २० अर्बको लगानीलाई तीन चरणमा भित्र्याउने तालिका पेस गरेको छ। यसअनुसार, पहिलो वर्षभित्र ६ अर्ब, दोस्रो वर्षभित्र थप १० अर्ब र तेस्रो वर्षभित्र थप ४ अर्ब रुपैयाँ लगानी भित्र्याइनेछ।
यो परियोजनामा थप साझेदारी गर्न नेपाली निजी कम्पनी हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले पनि थप ७ अर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ। यो लगानी बैंक ऋण र स्वपुँजीबाट जुटाइनेछ। यसरी, प्रारम्भिक चरणमा दुवै कम्पनीको कुल लगानी २७ अर्ब रुपैयाँ पुग्नेछ।
यो परियोजना खरिद, उत्पादन र बिक्रीसँगै भैंसीपालनदेखि निर्यातसम्मको सम्पूर्ण उत्पादन चक्रलाई समेटिएको छ। यसमा कम्तीमा पाँच लाख किसान आबद्ध गराउने लक्ष्य राखिएको छ। चीनले अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिलजस्ता टाढाका मुलुकहरूबाट मासु आयात गरिरहेको अवस्थामा नेपाल भौगोलिक रूपमा नजिक र लागतमा पनि सस्तो पर्ने भएकाले लगानीको ठूलो सम्भावना देखिएको हो।
ऊर्जा क्षेत्रमा पनि लगानी बढ्दो छ। जलविद्युत् क्षेत्रका ९ वटा उद्योगको कुल पुँजी एक खर्ब रूपैयाँभन्दा बढी छ। यीमध्ये एउटा जलविद्युत् आयोजनामा पूर्ण विदेशी लगानी छ भने ८ वटामा स्वदेशी लगानी छ।
सबैभन्दा ठूलो लगानी १६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाको लागि देखिएको छ। यो आयोजना निर्माणको लागि क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले ३४ अर्ब १७ करोड चुक्ता पुँजी र ४१ करोड रूपैयाँ सञ्चालन पुँजीसहित ३४ अर्ब ५९ करोड रूपैयाँको उद्योग दर्ता गरेको छ। कोशी प्रदेश, ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने तमोर नदीमा आयोजना निर्माण गर्न लागेको हो। कम्पनीले आयोजनाको काम २०८५ भित्र सकिने लक्ष्य राखेको छ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेटले जगदुल्ला अर्धजलाशययुक्ता परियोजना निर्माणको लागि २५ अर्ब ५९ करोड रूपैयाँको उद्योग दर्ता गरिएको छ। ७ अर्ब ९१ करोड पुँजी भएको समिट इनर्जी सोलुसन, ५ अर्ब २२ करोड लगानी भएको स्नोफल हाइड्रोपावर, ७ अर्ब ३४ करोड पुँजीमा हनुमान हाइड्रोपावर, ५ अर्ब १६ करोड रूपैयाँ पुँजी भएको आइबी इनर्जी दर्ता भएका छन्।
त्यस्तै, ५ अर्ब ९५ करोड रूपैयाँमा बडिगाड जलविद्युत् परियोजना, ५ अर्ब ३४ करोड रूपैयाँमा मिडल घुन्सा जलविद्युत् परियोजना दर्ता भएका छन्।
यस्तै, ५ अर्ब रूपैयाँ लगानीमा सनलाइट इन्डस्ट्रियल ग्रुप प्रा.लि. उद्योग दर्ता भएको छ, जसको पूर्ण लगानी विदेशी छ।
कृषि र ऊर्जाबाहेक पछिल्लो एक वर्षमा ५ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको सेवामूलक उद्योग पनि दर्ता भएको छ। ५ अर्ब ९३ करोड रूपैयाँ कुल पुँजी भएको काठमाडौं इन्टरनेसनल हस्पिटल प्रालि पनि दर्ता भएको छ।
अस्पतालमा ४ सय ६३ जनाले रोजगारी पाउने, वार्षिक ३ लाख २८ हजारभन्दा बढीलाई ओपिडी र आपिडी सेवा दिने अनुमान गरिएको छ।
काठमाडौंको तिनकुनेमा निर्माण गर्न थालिएको यो हस्पिटलले २९ हजारभन्दा बढीले अपरेसनको सेवा पाउने उल्लेख गरिएको छ।