धेरै वर्षअघि विराजकुमार डाँगीका आमा र दाजु बिरामी थिए। बुबा राजनीति गर्थे। द्वन्द्वको समय थियो।
विद्रोही माओवादीले कांग्रेसको राजनीति गर्ने विराजका बुबा कमानसिंहलाई निसाना बनाउने हल्ला थियो। त्यसैले उनी दाङ, शान्तिनगर गाउँपालिका-२ स्थित आफ्नो घरमा विरलै आउँथे। आए पनि दिउँसो एकाध घन्टा बसेर निस्किहाल्थे। उनी घरभन्दा टाढा, सदरमुकाम घोराहीमा बस्थे।
त्यसैले परिवारको जिम्मा विराजको काँधमा आइलागेको थियो। उनकी आमा सुधा क्यान्सरकी रोगी थिइन्। दाजु निरज मुटुका बिरामी।
उनीहरू पीडाले छट्पटाएको हेर्न नसकेपछि विराज कलेज जान छोडेर पैसा कमाउने बाटो खोज्न थाले। सुरूमा उनले निर्माणको काम पाए। आफ्नो पढाइ खर्च र थप केही आर्थिक जोहो भयो।
घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्ष पढ्दापढ्दै उनी नेपाली सेनामा भर्ति हुन काठमाडौं पुगे। भर्ति हुन नसकेपछि त्यतैबाट विदेश हानिए।
उनी पलाउ भन्ने देश पुगेका थिए। उनका काका शिवप्रसाद डाँगी त्यहीँ थिए।
'विदेश गएपछि जीवनमा पैसाको अभाव सधैंका लागि समाप्त हुन्छ भन्ने लागेको थियो,' उनले त्यो बेलाको अवस्था सम्झिँदै भने, 'तर त्यहाँ मैले पाउनसम्म दुःख पाएँ।'
त्यहाँ कुखुरा र बंगुर फार्ममा दसदेखि १२ घन्टासम्म खटिएर काम गरे पनि कमाइ थोरै हुन्थ्यो। विराजको एक मनले घर फर्केर बिरामी आमा र दाजुको सेवा गर्छु भन्थ्यो। फेरि उनी उपचार गर्ने पैसा र विदेश आउँदा लागेको ऋण सम्झिन्थे। अनि घर फर्किने मनलाई बेस्सरी बाँधेर काममा खटिन्थे।
त्यसैले उनी रातदिन नभनी काममा जोतिए। नेपालमा छँदा बंगुर छुन पनि हुँदैन भन्ने अन्धविश्वासमा हुर्केका उनले सकस मानी मानी बंगुर र कुखुराको हेरचाह गरे।
त्यसरी काम गर्दा उनले जीवनमा काम र पैसाको महत्त्व बुझे। काममा जति खटियो, उति नै व्यावहारिक ज्ञान पाइन्छ भन्ने थाहा पाए।
२०६२ सालमा उनकी आमालाई क्यान्सरले लग्यो। अन्तिमपटक आमाको मुख हेर्न उनी घर आउन चाहेका थिए। बिदा पाएनन्। उनलाई त्यो बेला आफ्नै ठाउँमा बसेर केही गरेको भए कम्तीमा आमालाई जाने बेला त देख्न पाउँथे भन्ने लाग्यो। त्यसपछि उनले काम सिकेर घर फर्किने सोच बनाए।
'केही समयपछि घर फर्किने र यहाँबाट ज्ञान-सीप लगेर गाउँठाउँमै केही गर्ने अठोट लिएपछि मन सम्हाल्न पनि सजिलो भयो,' उनले भने।
विराजले तीन वर्ष पलाउमा काम गरे। जुन दिन अब घर फर्केर यो काम गर्न सक्छु भन्ने आत्मविश्वास पलायो, उनी फर्किए।
'म कुखुरा फार्म सञ्चालन गर्ने सोच बनाएरै फर्किएको थिएँ,' उनले भने।
उनको घर तुलसीपुर बजारदेखि १३ किलोमिटर पश्चिममा थियो। त्यति टाढा फार्म चलाउँदा बजारीकरणको समस्या हुन्थ्यो। त्यसैले बजारदेखि उत्तरमा, करिब साढे दुई/तीन किलोमिटर पर दस कट्ठा जमिन भाडामा लिए।
त्यहाँ उनले एकैसाथ कुखुरा, बंगुर र माछा पालन थाले। दुई हजार ब्रोइलर, ६० वटा बंगुर र चार हजार माछाका भुरा हालेर थालेको व्यवसाय केही समयमै फस्टायो पनि।
तर २०६६ सालमा सुरू गरेको फार्म ०६९ सालतिर एकाएक छोड्नुपर्ने भयो।
'जग्गा धनीले जग्गा प्लटिङ गर्छु भन्न थाले। निर्माण गरेका संरचना सबै भत्काउनुपर्यो,' विराजले भने।
नाफातर्फ उन्मुख व्यापार एकाएक भताभुंग पार्नुपर्दा नोक्सानी बेहोर्नुपर्यो।
त्यति नै बेला उनले बहराइनमा रहेका सालो (श्रीमतीका भाइ) दिनेश बस्नेतलाई मिलेर काम गर्ने प्रस्ताव गरेर घर बोलाए।
यो बीचमा उनलाई कुखुरापालनसँग सम्बन्धित दाङकै व्यवसायी धनेश्वर वलीले साथ दिए।
'उहाँले मलाई व्यवसायबारे धेरै कुरा सिकाउनुभयो। धैर्य र कर्म छोड्न हुँदैन भनेर सम्झाउनुभयो। आँट दिनुभयो,' विराजले भने, 'उहाँले मलाई उधारोमा सामान दिनुभयो। त्यही ढाडसले कोठा भाडा लिएर मैले फेरि कुखुरा चल्ला, औषधि, दाना लगायत बेच्न थालेँ।'
विराजको व्यवसाय फेरि उक्सिँदै गयो। उनका सालो दिनेश पनि यसमा जोडिए। कोरोना महामारी बेला उनीहरूले आफ्नै ह्याचरी पनि खोले।
तुलसीपुर– ३ मै एक बिघा जग्गामा खोलिएको ह्याचरीमा सातामा दस हजार बढी चल्ला उत्पादन हुन थाले। एउटा चल्ला उत्पादन गर्दासम्म ४० देखि ४५ रूपैयाँ लाग्थ्यो। प्रतिस्पर्धाका कारण एउटा चल्ला ३० देखि ३५ रूपैयाँसम्म बेच्नुपर्यो। घाटा भएपछि ह्याचरी बन्द गरिदिए।
त्यही खोरमा उनीहरूले व्यावसायिक रूपमा ब्रोइलर कुखुरा पाल्न थाले। यसपछि भने उनीहरूले फर्केर हेर्नुपरेन।
अहिले यहाँ १६ हजार कुखुरा छन्। योबाहेक अन्य ठाउँमा पनि खोर भाडामा लिएर कुखुरा पाल्दै आएका छन्।
'ब्रोइलर ४५ दिनभित्रै कटाउन सके सोचे जति फाइदा हुन्छ,' विराजले भने, 'नत्र दाना मात्रै बढी खाइदिन्छन् र तौल बढ्दैन।'
उनीहरूले आफैं उत्पादन गरेका कुखुरा काट्ने ठाउँ पनि बजारमै खोलेका छन्। अहिले रोल्पा, सल्यान र दाङमा गरी प्रत्येक दिन एक सय २५ जति मासुपसलमा कुखुरा पठाउँछन्। तुलसीपुरमा मात्रै दैनिक चारवटा पसलमा पुर्याउँछन्। यी सबै ठाउँमा उनीहरू आफ्नै गाडीमा राखेर कुखुरा पुर्याइदिन्छन्।
उनीहरू किसानलाई चल्ला र दाना उपलब्ध गराएर ठाउँठाउँमा कुखुरा पाल्न पनि लगाउँछन्।
तुलसीपुर– १४ मा पनि विराजको ५० प्रतिशत सेयर लगानी भएको कुखुरा र बंगुर फार्म छ। फार्ममा साढे तीन सयभन्दा बढी बंगुर र दस हजारभन्दा बढी लेयर्स जातका कुखुरा छन्।
'बंगुरका बच्चा किन्न मानिसहरू कैलाली, बाँके, रोल्पा, रूकुम, सल्यान र बुटवलसम्मबाट आउँछन्,' विराजले भने, 'बंगुरको मासु भने दाङमा बेच्दैनौं। नेपालगन्ज, बुटवल र काठमाडौंमा मात्रै पठाउँछौं।'
विराजले यसबीचमा मार्ट पनि खोलेका छन्। विदेश बस्दा उनले एउटै छानामुनि सबै कुरा पाउने मार्टहरू देखेका थिए। कुखुरा पालनबाट राम्रै कमाइ भएपछि खाजा नास्तादेखि आवश्यक सबै सामग्री एकै ठाउँमा पाइने मार्ट चलाउने निधो गरे।
यो योजना उनले श्रीमती सरिताका भाइ दिनेशलाई सुनाए। दिनेश सहमत भए। तुलसीपुर– ५ मा आफ्नै एक कट्ठा जग्गामा उनीहरूले भवन बनाए। ६ महिनाअघि त्यही भवनमा अढाइ करोड लगानीको 'पलाउ मार्ट' खुलेको छ।
उनीहरूले मार्टअगाडि कुखुरा र बंगुरका लागि चाहिने दाना राख्न गोदाम घर बनाएका छन्। पलाउ मःम पसल, पलाउ एग्रोभेट र पलाउ फ्रेस हाउस चलाएका छन्। पलाउ मार्टमै दुई महिनाअघि रेस्टुरेन्ट पनि खोलेका छन्।
पलाउ जाँदा व्यवसाय गर्ने सोच फुरेकाले फार्मदेखि मार्टसम्मको नाममा पलाउ जोडेका छन्।
अहिले मुख्य रूपमा एग्रोभेट र कुखुरा, बंगुरको काम विराजले सम्हालिरहेका छन्। मार्ट र रेस्टुरेन्टको जिम्मेवारी दिनेशको छ।
यी सबै ठाउँमा साला-भेनाको मात्रै मेहनत छैन, विराजकी श्रीमती सरिता, दिनेशकी श्रीमती बसन्ता र बुबा हर्षबहादुर बस्नेत पनि खटिइरहेका छन्।
हर्षबहादुर बिहान चार बजे मार्टको सटर खोल्छन्। त्यसपछि विराज र दिनेश पुग्छन्। सरिता र बसन्ता बिहान छोराछोरीलाई स्कुल पठाएर यहाँको काम भ्याउन आउँछन्।
'घरमा त्यसै बसेर समय बिताउनुभन्दा केही काम गर्नु राम्रो कुरा हो,' वसन्ता र सरिता दुवै एकै कुरा भन्छन्।
मार्ट र कुखुरा-बंगुर फार्ममा समेत गरी ३८ जनालाई रोजगारी दिएको दिनेशले बताए।
दुई परिवार खटेर बढाएको व्यापारको कमाइबाट उनीहरूले जमिन पनि जोडेका छन्। आ-आफ्नो निजी घरबाहेक जग्गा लगायत सबै सम्पत्ति संयुक्त रूपमा गरेको कमाइबाट किनेको दिनेश बताउँछन्।
'हामी एकअर्काको आवश्यकता के छ, त्यो पूरा गर्छौं,' दिनेशले भने, 'अरू जम्मै कुरा संयुक्त रूपमा किनेका हौं।'
उनीहरूको सम्पत्ति अहिले आठ करोड रूपैयाँभन्दा बढीको भइसकेको छ। व्यवसाय विस्तार गर्दा दुइटा बैंकबाट लिएको दुई करोड रूपैयाँ जति ऋण पनि छ।
'हामी मिलेर रात दिन नभनी काम गरिरहेका छौं,' साला-भेना दिनेश र विराज भन्छन्, 'व्यवसाय अझै फस्टाउँदै जानेछ भन्ने विश्वास छ।'