कतिपय ब्रान्ड यति चर्चित हुन्छ, मान्छेहरू त्यही आधारमा ठाउँलाई चिन्न थाल्छन्।
मखन गल्लीको 'ओपन म:म एन्ड फास्ट फुड' त्यस्तै एक ब्रान्ड हो।
इन्द्रचोकबाट सुरज आर्केड जाँदा लगभग बीचतिर दाहिने छिर्ने सानो बाटो आउँछ। यो बाटोलाई अचेल धेरैले 'ओपन म:म' गल्लीका रूपमा चिन्छन्। तपाईं पहिलोचोटि जाँदै हुनुहुन्छ भने त्यहाँ पुगेर जो–कसैलाई सोध्नुहोस्, ओपन म:म गल्ली सबैले देखाइदिन्छन्।
यो पसल खुलेको डेढ वर्ष भयो। सुरूमा नौलो स्वरूप र नौलो स्वादको म:म जिब्रोमा बस्न समय लाग्यो। बिस्तारै यति लोकप्रिय हुँदै गयो, अचेल यो ब्रान्ड नै मखन गल्लीको परिचय बनेको छ।
यो ब्रान्डको सुरूआत तीन जना साथीहरू नवराज ठकुरी, मनिष गिरी र राजन पौडेलले मिलेर गरेका हुन्।

हरेक ब्रान्डको आफ्नै कथा हुन्छ। विभिन्न उतारचढाव र घुम्ती पार गर्दै ब्रान्डहरू बन्छन्। ओपन म:मको पनि आफ्नै कथा छ।
र, यो कथा सुरू हुन्छ आजभन्दा २० वर्षअघि, २०६१ सालबाट।
त्यति बेला नवराजका बुबा गणेश ठकुरीले न्यूरोडको धर्मपथमा म:म पसल खोलेका थिए। उनी सडक किनार स्टल राखेर म:म बेच्थे।
केही समयपछि नवराज पनि त्यसमा जोडिए। एसइई जाँच दिएर खाली बसेका बेला उनी बुबालाई सहयोग गर्न म:म स्टल आउन थालेका थिए।
'त्यहाँ साथीहरू मलाई भेट्न आइरहन्थे। ओम भन्ने एक जना साथीले डल्लो म:म त सबैले बेच्छन्, तिमी ओपन म:म बेच भनेर आइडिया दिए,' ३६ वर्षीय नवराजले भने, 'पछि हामीले धर्मपथको स्टल छाडेर झोछेँमा पसल खोल्यौं र ओपन म:म मात्र बेच्न थाल्यौं।'
झोछेँको पसलमै उनका दुई जना साथी मनिष र राजन पनि जोडिन आइपुगे।
त्यसैबीच २०७२ को भुइँचालोमा झोछेँको पसल भत्कियो। उनीहरूले म:म व्यवसायबाट हात झिके र फरक फरक काममा लागे।
नवराज इन्द्रचोकमा लुगा बेच्न थाले। लुगा व्यवसाय राम्रै चलिरहेको थियो। उनी आफ्नो कामबाट सन्तुष्ट नै थिए। तर उनको मन म:ममै अड्किएको थियो। पहिले म:म बेच्दा जस्तो खुसी पाउँथे, त्यस्तो खुसी लुगा बेचेर पाउन सकेका थिएनन्।
लुगा व्यवसायमा केही वर्ष बिताएपछि उनले एकदिन आफ्ना पुराना साथीहरूलाई ओपन म:म पसल फेरि खोलौं भनेर प्रस्ताव राखे।
साथीहरूको मन पनि सायद म:ममै अल्झिएको थियो। उनीहरूले नवराजको प्रस्ताव तुरून्तै माने।
त्यसपछि म:म पसल राख्न कोठा खोज्ने काम सुरू भयो।


नवराजलाई आफूले लुगा बेच्ने मखन गल्लीमै एउटा कोठा खाली छ भन्ने थाहा थियो।
उनले साथीहरूसँग सल्लाह गरे र घरबेटीसँग भाडाको कुरा गर्न गए। व्यस्त ठाउँ र चल्तीका कस्मेटिक्स पसलहरूको बीचमा पर्ने भएकाले भाडा महँगो थियो। तैपनि उनीहरू पछि हटेनन्।
करिब डेढ वर्षअघि यी तीन जना साथी मिलेर मखन गल्लीभित्र कस्मेटिक्स पसलहरूको लस्करबीच ओपन म:म व्यवसाय सुरू गरे।
'हामी सबैले बराबर लगानी गरेका छौं। पहिलेको कामबाट जे–जति पैसा बचाएका थियौं, त्यो सबै यसमा हाल्यौं,' नवराजले भने, 'अहिले मिलेर पसल चलाउँछौं। सबै जना दिनभरि पसलमा बस्नुपर्छ भन्ने छैन। पालैपालो बस्छौं। यसले हामीलाई बाहिर अरू काम गर्न पनि समय हुन्छ।'
मूल सडकबाट भित्र पस्नुपर्ने भएकाले सुरू सुरूमा यहाँ ग्राहक एकदमै कम आउँथे। धेरैलाई त कस्मेटिक्स पसलहरूको लस्कर पार गरेर भित्र पसेपछि म:म पसल छ भन्ने पनि थाहा थिएन।
सोचेजति ग्राहक नआएपछि उनीहरूलाई गलत ठाउँमा पसल खोलेजस्तो पनि लाग्यो।
तर त्यसको विकल्प उनीहरूसँग थिएन। उनीहरूले अझै केही समय प्रयास गर्ने निधो गरे।
त्यसैबीच एउटा यस्तो संयोग जुर्यो, जसले ओपन म:म ब्रान्डलाई एकाएक सुपरहिट बनाइदियो। यसको श्रेय जान्छ 'रामलाल पापडी चाट' पसललाई।
म:म पसल सुपरहिट बनाउन चाट पसलको के हात होला भन्ने तपाईंहरूलाई लाग्ला! हो, कथाको 'टर्निङ प्वाइन्ट' यहीँनिर छ।
भयो के भने, मखन गल्लीको निकै पुरानो यो चाट पसल यहाँ निकै लोकप्रिय छ। कस्मेटिक्स किन्न आउने महिलाहरू मात्र होइन, वरपरका व्यवसायी र स्थानीय पनि पानीपुरी, चटपटे र पापडी चाट खान यहाँ आइरहन्छन्। दिनैभरि ग्राहकको भिड लागिरहन्छ।
संयोगको कुरा के भने, रामलाल पापडी चाट र ओपन म:म एन्ड फास्ट फुड ठ्याक्कै एकअर्काका आमुन्ने–सामुन्ने छन्।
त्यही भएर पानीपुरी र चाट खान आएका ग्राहकको नजर ओपन म:ममा पनि पर्यो। एक जना, दुई जना गर्दै चाटका ग्राहकले म:म पनि चाख्न थाले।
त्यसपछि त के चाहियो!
हेर्दाहेर्दै पानीपुरी र चाट पसलमा लाग्ने भिड सर्लक्कै उता सर्यो। एक कान, दुई कान हुँदै ओपन म:मका आफ्नै ग्राहक पनि बढ्दै गए।


रोचक कुरा के भने, चाट पसलले ओपन म:मलाई फाइदा गरेजस्तै ओपन म:मबाट पनि चाट पसलले लाभ पाइरहेको छ। यताको ग्राहक उता जान्छ, उताको ग्राहक पनि यता आउँछ। दुवै पसल एकअर्कासँग टाँसिएर रहनुले बराबर लाभान्वित छन्।
'सुरूका दिनमा हामीलाई टिकाएर राख्न यो चाट पसलले खुब मद्दत गर्यो,' नवराजले भने, 'फुड भ्लगरहरूले पनि भूमिका खेले। उनीहरूले हामीकहाँ आएर ओपन म:मको भिडिओ खिचे र त्यसलाई सामाजिक सञ्जालहरूमा राखेपछि ग्राहक झन् झन् बढ्दै गए।'
अहिले ओपन म:म कति हिट छ भने, दुइटा सानो कोठाबाट सुरू भएको यो पसल चारवटा कोठामा फैलिएको छ। ग्राहकहरू यस्तरी आइरहन्छन्, कहिलेकाहीँ त भ्याइनभ्याइ हुन्छ। अहिले यहाँ १२ जना कर्मचारी काम गर्छन्। पालैपालो बिदा बस्ने हुँदा दिनको कम्तिमा १० जना काममा हुन्छन्।
यहाँ बफ (राँगाको मासु), चिकेन (कुखुराको मासु) र भेज (साकाहारी) गरी तीन प्रकारका मःम पाइन्छन्। भेज म:म मूल्य प्रतिप्लेट १२० रूपैयाँ पर्छ भने बफ र चिकेन १८० पर्छ।
युवाहरूले किमा नुडल्स धेरै अर्डर गरेपछि केही समययता त्यो पनि बेच्न थालेको नवराज बताउँछन्। किमा नुडल्सको मूल्य १८० रूपैयाँ छ।
यसबाहेक ससेज, आलु, मस्यौरा लगायतका खानेकुरा पनि पाइन्छन्। पेय पदार्थमा कोल्ड ड्रिंक्स सँगसँगै लस्सी पनि बेच्न थालेका छन्।
हामीले दैनिक कारोबारको विषयमा पनि नवराजसँग कुरा गरेका थियौं। उनका अनुसार सामान्यतया दिनको दुई सयदेखि तीन सय प्लेट म:म बिक्री हुन्छ। यसका लागि १५ देखि २० किलो मासु खपत हुने उनी बताउँछन्।
पानी पर्दा वा जात्रापर्व बेला त दिनकै पाँच सयदेखि सात सय प्लेट म:म बेचेको रेकर्ड छ। त्यस्तो बेला ग्राहकहरू ठाउँ नभएर पसल अगाडिको सानो चोकमै बसेर खान्छन्।


नवराजका अनुसार ओपन म:मका तीन विशेषता छन् —
पहिलो, यसमा पिठोभन्दा किमाको मात्रा धेरै हुन्छ। त्यसैले अरू म:मजस्तो पेट भारी हुँदैन। केही समययता उनीहरू पिठो मुछ्न मेसिन प्रयोग गर्न थालेका छन्। यसले काम सजिलो भएको उनी बताउँछन्।
मासुमा बोसोको मात्रा धेरै नहोस् भन्नेमा पनि सतर्क रहन्छन्। त्यसैले हरेक दिन मासु किन्न आफै जान्छन् र मरमसला मोलेर किमा पनि आफै बनाउँछन्।
दोस्रो, यो अर्को म:मजस्तो पहिल्यै बनाएर फ्रिजमा राख्न मिल्दैन। यसमा पिठोको तह पातलो हुने भएकाले एक घन्टाभन्दा बढी फ्रिजमा राख्दा फुटिहाल्छ। त्यसैले यहाँको म:म सधैं ताजा हुने नवराज दाबी गर्छन्।
तेस्रो विशेषता यहाँको अचार हो। यहाँ झोल, पिरो, गोलभेडाको अचार र केचप गरी चार थरीका अचार पाइन्छन्। सबै अचार उनीहरू आफै तयार पार्छन्। चार थरीका अचारको स्वादले ओपन म:मलाई लोकप्रिय बनाउन मद्दत गरेको हो भन्ने नवराजलाई लाग्छ।
यसबाहेक यहाँ भेज र नन्–भेज म:म छुट्टाछुट्टै चुह्लोमा पाक्छ। मासुसँग छ्यासमिस नहुने हुँदा भेज म:मका ग्राहक पनि बढेको नवराज बताउँछन्।
यो पसल बिहान ११ बजे खुल्छ र राति ९ बजेसम्म चल्छ। बिहान कलेजका विद्यार्थी धेरै आउँछन् भने दिउँसो अफिसका कर्मचारी र साँझ न्यूरोडमा किनमेल गर्न आएकाहरू बढी आउँछन्। विद्यार्थीहरूलाई केही प्रतिशत छुट पनि छ।
'विद्यार्थीहरू आउँदा मलाई आफ्नै समयको झझल्को आउँछ। त्यही भएर छुट दिने व्यवस्था गरेको हुँ,' उनले भने।
नवराज र उनका साथीहरू अहिलेसम्मको व्यापारबाट सन्तुष्ट छन्। भविष्यमा अझै विस्तार गर्दै लैजाने र परिकार पनि थप्ने उनीहरूको योजना छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***




