२१ वर्षअघि ललितपुरका सुलोचना श्रेष्ठ र समीर नेवा दम्पती जुम्ला पुगेका थिए। समीर युएनडिपीको एउटा परियोजनामा काम गर्थे। सन् २००१ मा उनी जुम्ला जानुपर्ने थियो। त्यतिबेला उनकी श्रीमती सुलोचना पनि सँगै गइन्।
जुम्लामा लटरम्मै स्याउ फलेका थिए। एउटा घरमा पसेर सुलोचनाले १० वटा जति स्याउ मागिन्। उनले त्यसको ५० रुपैयाँ दिइन्। तर कृषकले पाँच रुपैयाँ मात्र लिए। काठमाडौंमा महंगो स्याउ किनेर खाने सुलोचना छक्क परिन्।
‘मलाई जुम्लाको धेरै कुराले मलाई छोयो, त्यतिबेला जुम्लामा मैले १० वटा स्याउ मागेर ५० रुपैयाँ दिँदा ती कृषकले पाँच रुपैयाँ मात्र लिनुभयो,’ सुलोचनाले भनिन्, 'यस्तो अर्गानिक उत्पादनको कुनै मूल्य नभएको देखेर मन खायो।'
उनलाई त्यतिखेर जुम्लामा देखे-भेटेका अन्न, फलफूल, तरकारी बजारमा पुग्ने भए कस्तो हुन्थ्यो होला भन्ने सोचाइ आएको थियो।
दुबैको जागिर थियो। जुम्लाबाट फर्किएपछि उनीहरूले त्यहाँका कृषि उत्पादनबारे धेरै कुरा गरे। सोचे। पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने कृषि वस्तुको बजारीकरण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे।
उनीहरूले कृषकबाट सामान किन्न र लगेर काठमाडौंमा बेच्न सुरू पनि गरे। १ हजार ६०० मिटर उचाइमा उत्पादन हुने वस्तुको बजारीकरण राजधानीदेखि भयो।
जुम्लाको रातो मार्सी, सिमी लगेर आफूहरूले काठमाडौं उपत्यकाका डिपार्टमेन्ट स्टोरदेखि घरसम्म पुगेर बिक्री गरेको बताउँछन्। उनीहरूले सोचेजस्तै गरी बिक्यो पनि।
कर्णालीको उत्पादन काठमाडौंमा पुर्याउन उनीहरू बसोबासै परिवर्तन गर्नु परेको छ। ललितपुरका बासिन्दा भए पनि उनीहरू अहिले सुर्खेतमा बस्छन्।
उनीहरूले जागिर छोडेपछि धेरै ठाउँमा जग्गा लिजमा लिएर उत्पादनको क्षेत्रमा काम गरे। जैविक मल बनाउने, जैविक बिउ आयात गर्ने प्रयासमा आफूहरू लागेको सुलोचनाले बताइन्।
जैविक उत्पादन र त्यसको बजारीकरण गर्ने क्रममै उनीहरूलाई एउटा गैरसरकारी संस्थाले कर्णालीमा कम्पनी स्थापना गरेर काम गर्न सल्लाह दिएको थियो। त्यही सल्लाहपछि उनीहरूले सुर्खेतमा आएर ‘द अर्गानिक भ्याली प्रालि’ नामक कम्पनी खोले।
गैरसरकारी संस्थाले दिएको सल्लाहअनुसार कर्णालीमा कम्पनी स्थापना गर्न अध्ययनका लागि आउँदा उनीहरूले सुर्खेतको भेरीगंगा-५ मा तोलीखोलालाई उपयुक्त ठानेका थिए। कोहलपुर–सुर्खेत राजमार्ग नजिक रहेको उक्त ठाउँमा उनीहरूले सन् २०१३ देखि ‘द अर्गानिक भ्याली प्रालि’ स्थापनाको काम सुरू गरे।
सुरूमा यो कम्पनी स्थापना गर्न उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ६५ लाख रुपैयाँ सहयोग गरेको थियो।
त्यसपछि सञ्चालकले किसानसँग सम्झौता गर्न सुरू गरे। उनीहरूसँग अहिले सुदूरपश्चिमको डोटी, कर्णालीका सुर्खेत, सल्यान र रूकुमका १ हजार २३२ कृषक जोडिएका छन्। उनीहरूले उत्पादन गरेको अदुवा र बेसार सुर्खेतमा आइपुग्छ।
उनीहरूले संयुक्त रूपमा कम्पनी दर्ता गरेपछि त्यसमार्फत् जुम्लाको मार्सी, सिमीसहित अरू क्षेत्रका उत्पादनलाई बजारीकरण गर्न सुरू गरेका थिए।
‘त्यो समयमा काठमाडौंमा रातो मार्सी देखेपछि यो के हो भनेर सोध्थे, अहिले त्यसको छुट्टै बजार बनेको छ,’ सुलोचनाले भनिन्।
अहिले भने यो क्षेत्रको अदुवा, बेसार, टिमुरजस्ता मसलाजन्य उत्पादन प्रशोधन गरेर जर्मनी निर्यात गर्छन्।
'हामीले सन् २०१० देखि १६ सम्म खरिदकर्ता खोज्न विभिन्न क्षेत्रमा अध्ययन गर्यौं, कृषि उत्पादन प्रवर्द्धनका लागि गरिने मेलाहरूमा भाग लियौं, त्यो क्रममा हामीले केही खरिदकर्ता पायौं,' उनले भनिन्।
आगामी वर्षदेखि सिस्नो पनि निर्यात गर्ने योजना उनीहरूको छ। यसका लागि सिस्नोको बिउ पनि ल्याएर परीक्षण भइरहेको छ। पहिले कम्पनीले परीक्षण गर्ने र सफल भए कृषकलाई उत्पादन गर्न दिइने उनले बताइन्।
त्यतिबेलै पहाडी र हिमाली क्षेत्रमा उत्पादित कोदो, सिमी, फापरजस्ता वस्तुहरू आफूसँग भए पनि अन्तर्राष्ट्रिय बजारमा मसलाजन्य वस्तु अदुवा र बेसारको माग बढी भएकाले यसमा केन्द्रित भएको सुलोचनाले बताइन्।
देश बाहिरका खरिदकर्ता पाएपछि उत्पादन पनि बढी चाहिने भयो। अनि कृषकहरू खोजे।
‘हामीले यो कम्पनी सुर्खेतमा स्थापना गर्नुअघि नै देशभरका करिब ४ हजार किसानसँग प्रत्यक्ष जोडिएर काम गरिसकेका थियौं, तर त्यसलाई दस्तावेजीकरण नगरिएकाले यहाँ फेरि कृषक खोज्नुपरेको हो,’ सुलोचनाले भनिन्।
अहिले उनीहरूसँग जोडिएका कर्णाली र सुदूरपश्चिमका किसाले ८४० हेक्टर जमिनमा उत्पादन गरेको बेसार, अदुवा सुर्खेत आउँछ। ती किसानहरूलाई अर्गानिक उत्पादन उपलब्ध गराउने गरी प्रमाणीकरण गरिएको छ।
प्रमाणीकरण भएका किसानहरूले पनि प्रत्येक सिजनमा वार्षिक ‘किसान डायरी’ भर्नुपर्छ। आफूले त्यो वर्ष रोपेको जात, प्रयोग गरिएको मल, भएको उत्पादन डायरीमा किसानले भर्छन्। त्यसलाई प्राविधिक टोलीले हिसाब गर्दा विषादी प्रयोग गरे/नगरेको थाहा हुन्छ।
सम्झौता गरिएका कृषकहरूलाई जैविक मल बनाउन पनि तालिम पनि दिइएको उनले बताइन्।
कम्पनी स्थापना भएको गाउँ तोलीखोलाका कृषकको जमिन वर्षमा सात महिना (गहुँ लगाउने सिजनमा) कम्पनीले नै भाडामा लिन्छ। बाँकी धान फल्ने सिजन भने कृषकहरूले आफैं प्रयोग गर्छन्।
‘अहिले कम्पनीमै आएर कृषकको उत्पादनमा ग्रेडिङ गरिन्छ, यसले कृषकलाई घाटा हुने देखिएपछि आगामी वर्षदेखि गाउँमै ग्रेडिङ गर्ने योजना बनाएका छौं,’ सञ्चालक सुलोचनाले भनिन्, ‘त्यही भएर हामीले प्रदेश सरकारलाई कृषकहरूलाई अनुदान दिन भन्ने गरेका छौं।’
उनीहरूले यसअघि डोटीको सहजपुरमा पनि संरचना बनाएर प्रशोधन गर्ने गरेका थिए। त्यहाँ घाम कम लाग्ने भएकाले अदुवा सुक्न समय लाग्ने भएपछि त्यताको उत्पादन पनि सुर्खेतमै ल्याएर प्रशोधन गर्न थालिएको हो।
कर्णाली र सुदूरपश्चिमका चार जिल्लाका १ हजार २३२ किसानले उत्पादन गरेको २ हजार टन औसतमा अदुवा–बेसार सुर्खेत आइपुग्ने गरेको सुलोचनाले बताइन्। गत वर्ष मात्र २ हजार ३ सय टन अदुवा द अर्गानिक भ्याली सुर्खेतमा झरेको थियो।
यसलाई प्रशोधन गरेर चाना बनाएर सुकाउँदा साढे ८ किलोग्रामबाट एक किलोग्राम बन्छ। उनका अनुसार गत वर्ष २३६ टन सुकेको अदुवा जर्मनी पठाइएको थियो। जर्मनी पठाउँदा प्रतिकिलोग्रामको मूल्य ३-५ अमेरिकी डलर पाउने गरेको उनले बताइन्।
सम्झौता भएका कृषकहरूले अदुवाको प्रतिकिलो ३२ देखि ३६ रुपैयाँसम्म पाउँछन्। सुर्खेतबाट वीरगञ्ज, कलकत्ता हुँदै प्रशोधित वस्तु जर्मनी पुग्ने गरेको छ।
‘हाम्रो प्रशोधित कृषि वस्तु जर्मनीमा पनि एउटा कम्पनीले किन्छ, त्यसले हाम्रो वस्तुमा केही ठूलो खराबी भने देखाएको छैन। किनभने उनीहरू पनि दीगो कृषिका क्षेत्रमा काम गर्ने भएकाले सानोतिनो गुनासो गर्दैनन् होला,’ सुलोचनाले भनिन्, ‘कहिलेकाहीँ ढुसीको बारेमा भने सचेत गराउनुहुन्छ, हाम्रोबाट कन्टेनर आउन, लिन समय लगाउने भएकाले त्यहाँ पुग्दासम्म केही ढुसी लाग्छ।’
सुर्खेतमा भएको द अर्गानिक भ्यालीको कर्पोरट कार्यालय ललितपुरको बखुण्डोलमै छ।
कम्पनीमा सुर्खेतका स्थानीयसहित केही शेयर सदस्य छन्। कम्पनीको बोर्डमा सुलोचना, उनका श्रीमान समीर नेवा र अर्का एक जना सदस्य छन्।
कम्पनीमा अहिले ३५ जना स्थायी कर्मचारी छन् भने सुर्खेतमै काम गर्ने स्थानीय १५० जना कामदार छन्। तीमध्ये १२० जनाले नियमित कम्पनीमा काम गर्छन् भने ३० जना वैकल्पिक कामदारका रूपमा छन्।
कामदारमध्ये ८७ प्रतिशत महिला रहेको सुलोचनाले बताइन्।
‘हामीले स्थानीय महिलाको आम्दानीलाई पनि लक्षित गरेका हौं, तर हाम्रो नीतिमा २५ किलोभन्दा बढी वजन भएको भारी नउठाउने छ। यसले गर्दा अरू १३ प्रतिशत पुरूषलाई हेभी काम गर्नु परेमा सहज हुने भएकाले राखेका छौं,’ उनले भनिन्।
विदेशबाट फर्किएका स्थानीय युवाहरू फेरि विदेश जान खोजे भने सकेसम्म आफ्नो कम्पनीमा काम दिएर बसाल्ने प्रयास पनि गरिएको उनले बताइन्।
सुर्खेतमा काम गर्ने कामदारका साना बालबालिकालाई पढाउन द अर्गानिक भ्याली प्रालिले नै विद्यालय स्थापना गरिदिएको छ। विद्यालयमा युकेजीसम्म पढाउनका लागि तीन जना शिक्षिका राखिएको छ।
‘यहीँका कामदारमध्येबाट तालिम दिएर शिक्षक बनाएका छौं, बच्चाहरूलाई खाना, खाजा यतै खुवाउने गेरका छौं,’ उनले भनिन्, ‘अहिले विद्यालयमा ३० जना बालबालिका छन्, स्कुलका बच्चा र शिक्षिकाहरूको साप्ताहिक रूपमा स्वास्थ्य जाँच गर्न एक जना स्वास्थ्यकर्मीसँग सम्झौता गरेका छौं।’
कम्पनीले अर्गानिक प्रमाणीकरणमा वार्षिक ४४ लाख रुपैयाँ खर्च गर्ने गरेको सञ्चालक तथा बोर्ड सदस्य समीर नेवाले बताए। बाहिर निर्यात गर्दा वार्षिक एक करोड रुपैयाँ कार्गोमा खर्च हुने गरेको उनले बताए।
उनका अनुसार अब सुर्खेत, सल्यान, रूकुम र डोटीमा स्थानीय सरकारसँग सहकार्य गरी एक/एक वटा अदुवा प्रशोधन उद्योग खोल्ने योजना छ। यसका लागि स्थानीय सरकार तयार भइसकेको उनले बताए।
‘हामीले २० प्रतिशत लगानी गरेर उद्योग खोल्ने र पाँच वर्षपछि त्यहाँको स्थानीय सहकारी, समूह वा व्यापारीलाई सञ्चालन गर्न दिन, हामीले उत्पादन मात्र किन्ने अवधारणा छ,’ नेवाले भने।
सुर्खेतको उद्योग पनि पाँच वर्षमा स्थानीय शेयर सदस्यलाई सञ्चालन गर्न हस्तान्तरण गर्ने योजना भए पनि सफल हुन नसकेको उनले बताए।