वेदिका मुरारका र नेहा अहमद 'क्लासमेट' हुन्। वेदिका नेपाली हुन् भने नेहा पाकिस्तानी।
सन् २०१७ को कुरा हो, उनीहरू लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा सोसल इनोभेसन एन्ड आन्ट्रपेनरसिपमा स्नातकोत्तर गर्दै थिए। कक्षामा प्रोजेक्टको काम गर्नुपर्यो जसमा बिजनेस आइडिया दिनुपर्थ्यो।
के विषयमा प्रोजेक्ट गर्ने भनेर उनीहरूले निकै सोचे। आफूले उत्पादन गरेको वस्तु शिक्षा क्षेत्रमा काम लागोस् भन्ने दुवैको चाहना थियो।
दुवैले आ–आफ्नो देशको शिक्षाको अवस्था सम्झिए। वेदिकाले नेपालमा ग्रामीण भेगतिर विद्यार्थीहरू भुइँमा बसेर निहुरिएर पढ्नुपर्ने बाध्यता देखेकी थिइन्। डेस्क नहुँदा केटाकेटीले एकदमै झुकेर लेख्ने-पढ्ने गर्दा ढाड दुख्छ। वेदिकाले त्यही समस्या समाधान गर्ने सोचिन्। तर डेस्क/टेबल नै बनाएर होइन, झोला बनाएर।
झोलाले डेस्क/टेबलको समस्या कसरी सुल्झाउँछ भन्नुहोला। उनले यस्तो झोलाको परिकल्पना गरिन्, जुन आवश्यक पर्दा डेस्क/टेबलका रूपमा प्रयोग गर्न मिल्थ्यो। अरू बेला किताब-कापी राखेर बोक्न मिलिहाल्यो।
उनले आफ्नो आइडिया साथी नेहालाई सुनाइन्। दुवैको सोच मिलेपछि उनीहरूले सोचेजस्तो झोला डिजाइन गरे।
'हामीले सुरूमा कागजबाट त्यस्तो झोला बनाएका थियौं,' वेदिकाले खुसी हुँदै सुनाइन्, 'फरक डिजाइन भएकाले शिक्षक, साथीसंगी सबैबाट राम्रो प्रतिक्रिया आयो।'
उनीहरूले आफ्नो काम एक प्रतिस्पर्धामा प्रस्तुत गरे र पहिलो स्थान हासिल भयो। पुरस्कार स्वरूप बेलायती १५ सय पाउन्ड (झन्डै साढे दुई लाख रूपैयाँ) पाए। त्यो पैसाले उनीहरूलाई व्यवसाय गर्न हौस्यायो।
व्यवसाय गर्न भनेर वेदिका सन् २०१९ को सुरूआतमा नेपाल आइन्। साथी नेहा भने लन्डनमै बसिन्। सानै उमेरमा भारत र पछि बेलायत बसेर पढेकी वेदिकालाई यहाँ व्यवसाय कसरी चल्छ, बजार कस्तो छ भन्ने केही थाहा थिएन।
'लन्डनमा पढ्दा उताकै अवस्थामा सिकाउँथ्यो, भारतमा पढ्दा त्यहीँको। त्यसैले यहाँ कसरी काम गरिन्छ भन्ने थाहा थिएन,' उनले भनिन्, 'मलाई त नेपाली लेख्न-बोल्न समेत राम्रो आउँदैन थियो।'
परिवारिक पृष्ठभूमि व्यवसाय भएकाले उनी त्यसमै संलग्न भएर सिक्न थालिन्। पछि 'दायित्व' नामक संस्थामा जोडिइन्। त्यहाँ एक वर्ष काम गर्दा उनको नेपाली भाषा राम्रो हुँदै गयो। अर्कोतिर झोलाका लागि आवश्यक काम गरिरहिन्।
यही सिलसिलामा झोला उत्पादन गर्न 'एडुकेस' नामक कम्पनी दर्ता गरिन्। वेदिकाकी दिदी डिजाइनर थिइन्। झोला डिजाइनमा उनैले सघाइन्। अनलाइनबाट गर्ने काममा नेहाले सघाउँछिन्।
सबै चाँजो मिले पनि झोला बनाइदिने कम्पनी भेट्न उनलाई कम्ता गाह्रो भएन।
'विदेशमा त जे पनि अनलाइनमा भेटिन्थ्यो, यहाँ त केही नभेटिने रहेछ,' उनले चुनौती सुनाइन्, 'कम्पनी खोज्न निकै हम्मे भयो।'
एकदिन उनलाई एक साथीले झोला बनाउने एउटा कम्पनीको नम्बर दिए। फोन गरेर आफ्नो कामबारे भनिन्। आफ्नो झोलाको डिजाइन चरणबद्ध रूपमा बुझाइन्। अरू कम्पनीका नम्बर पनि उनैसँग मागिन्।
'सुरूमा धेरै जनासँग कुरा गरेँ। नयाँ नम्बर भेट्यो कि फोन गरिहाल्थेँ,' उनले भनिन्।
दैनिक दुई-तीन वटा झोला कारखानामा गएर कुरा गर्न पनि थालिन्। त्यहीमध्येबाट उनले एक कम्पनी छानिन् जसले सस्तोमा झोला बनाइदिने भयो। सुरूमा त उनलाई यहाँका कम्पनीले आफ्नो डिजाइनको झोला बनाउन सक्छन् कि सक्दैनन् भन्ने डर थियो। तर उनले सोचेभन्दा राम्रो पाइन्।
'यो डिजाइन अलि गाह्रो छ। बनाउन नसक्लान् जस्तो लागेको थियो, सहजै बनाइदिए,' उनले सुनाइन्, 'यहाँका कारखानाको सीप देखेर मलाई अचम्मै लाग्यो।'
त्यही कम्पनीको सहकार्यमा परीक्षणका रूपमा केही झोला उत्पादन गरिन्। झोलाको डिजाइन निकै आकर्षक र बहुउपयोगी छ। यसमा किताब, कापी हालेर बोक्न सकिन्छ। कक्षामा पुगेपछि यसको चेन खोलेर किताब-कापी झिक्ने र त्यहाँ भएका कार्डबोर्ड जस्ता भागहरू मिलाएर डेस्क/टेबल बनाउने। निकालिएका किताब-कापी भुइँमा राख्नु पर्दैन। चिटिक्कको डेस्क/टेबल बनिसकेपछि बचेको झोलाकै भागमा अरू सामान राख्न सकिन्छ।
'झोलाको भित्रपट्टि केही भाग छन्। ती मिलाएपछि टेबल बन्छ। त्यसमा विद्यार्थीले किताब–कापी राखेर लेख्न-पढ्न सक्छन्,' उनले झोलाको डिजाइनबारे बताइन्।
बाक्लो कार्टुन प्रयोग गरेर बनाइएकाले झोला धुन मिल्दैन। तर बाहिरी भाग पानीले नभिज्नेगरी बनाइएकाले सजिलै पुछ्न मिल्छ। जतन गर्ने हो भने दुई-तीन वर्ष राम्ररी टिक्ने वेदिका बताउँछिन्।
वेदिकाले सन् २०१९ को अन्त्यमा थापाथलीको गुहेश्वरी स्कुल र काभ्रेको द्वारपालेश्वर माध्यमिक स्कुलमा २५/२५ वटा यस्ता झोला निःशुल्क दिएकी थिइन्। अरू स्कुलमा पनि झोला लगेर देखाइन्। सबैले मन पराए पनि। तर कसैले किन्न चासो देखाएनन्, निःशुल्क मागे।
उनीहरूले डिजाइन गरेका झोला साना केटाकेटीका लागि हो। केटाकेटी आफैंले किन्न सक्दैनन्। सबै झोला उनैले निःशुल्क दिने कुरा पनि भएन। त्यसैले यी झोला कसरी विद्यार्थीसम्म पुर्याउने भन्नेबारे सोचिन्।
अनि शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूसँग यो झोला केटाकेटीसम्म पुर्याइदिन कुरा गरिन्। केहीसँग सम्झौता पनि भयो। पहिलो लकडाउनबीच उनले चार सय वटा झोला गैरसरकारी संस्थाहरूलाई बेचिन्। ती संस्थाहरूले डेस्क नभएका सरकारी तथा सामुदायिक स्कुलमा झोला निःशुल्क दिन्छन्।
एक जनाको मात्र राम्रो झोला देख्दा बच्चाको दिमागमा नराम्रो असर पर्छ भनेर उनीहरू व्यक्तिलाई भने यो झोला बेच्दैनन्। कुनै संस्थाले अर्डर गरे बनाउन सकिने उनले जानकारी दिइन्।
सुरूमा त वेदिकालाई यो झोला केटाकेटीले मिलाएर डेस्क/टेबल बनाउन जान्दैनन् कि जस्तो पनि लागेको थियो। तर उनीहरूले शिक्षकले भन्दा छिटो मिलाएको प्रतिक्रिया पाइरहेकाले उनी दंग छिन्। भनिन्, 'यो बनाउन तीस सेकेन्ड पनि लाग्दैन। कति विद्यार्थीले बगैंचा, चउरमा लगेर लेख्न-पढ्न थालेका छन्।'
उनलाई अन्य गैररसकारी संस्थाबाट पनि झोलाको माग आएको थियो। तर कोरोना महामारीले त्यसै अड्किएको छ।
'महामारीका कारण गैरसरकारी संस्थाहरूले सबै बजेट स्वास्थ्यमै हालेका छन्,' उनले भनिन्, 'अब कोरोना थामिएपछि फेरि कुरा गर्छौं।'
एडुकेस झोला सहरीभन्दा पनि ग्रामिण क्षेत्रलाई लक्षित हो। तर ग्रामीण भेगमै पुग्न गाह्रो भइरहेको उनी बताउँछिन्। यसमा उनको आफ्नै कारण छ।
'महिला भएकाले घरमा मलाई एक्लै बाहिर पठाउन डर मान्नुहुन्छ। कोसँग पठाउने भनेर प्रश्न गर्नुहुन्छ,' लैंगिकताका कारण काममा आएको समस्याबारे उनी भन्छिन्, 'लैंगिक असुरक्षाकै कारण बिजनेसमा पनि प्रभाव परिरहेको हुन्छ।'
कामका क्रममा उनले महिला र पुरुषमा गरिने व्यवहा पनि फरक पाएकी छन्। पुरुषहरूलाई सहजै विश्वास गर्ने, महिलाले भने त्यही कुरा बताउन खोज्दा नबुझेजस्तो गर्ने अनुभव उनको छ। भन्छिन्, 'छोरी मान्छेको काम भनेर गम्भीर रूपमा लिँदैनन्।'
कार्यालयहरूमा जाँदा महिलालाई बहिनी, नानी भनेर सम्बोधन गर्ने प्रवृत्ति मनपर्दैन उनलाई। त्यसैले प्रतिवाद गर्छिन्।
'पुरुषलाई सर र महिलालाई बहिनी भन्छन्। पदमा पनि विभेद छ,' उनले भनिन्, 'म कसैको बहिनी होइन, मेरो पनि आफ्नो पोजिसन छ भन्न थालेकी छु।'
वेदिकाका अनुसार प्रतिवाद गरेपछि उनीहरूको बोली र व्यवहारमा परिवर्तन आएको छ। जबसम्म छोरा र छोरीलाई समान हेरिँदैन, तबसम्म असमानता कायम रहने उनी बताउँछिन्।
यी समस्याका बाबजुद वेदिका आफ्नो काममा रत्ति डगमगाएकी छैनन्। आफूले बनाएका झोलाले समाजमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। त्यसैले विस्तारै ठूला केटाकेटीका लागि पनि यो बहुउपयोगी झोला उत्पादन गर्दै दक्षिण एसियाभर पुर्याउने योजना उनले बुनेकी छन्।
(एडुकेसको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्)