काठमाडौं–नयाँ दिल्ली रुटमा उडान गर्ने एयरलाइन्सहरुको भाडामात्र बढाएको बारेमा नागरिक उड्डयन प्राधिकरणले चासो देखाएको छ। प्राधिकरणले यो रुटमा उडान गर्ने एयरलाइ्रन्सहरुलाई बोलाएर भाडामात्र नबढाउन निर्देशन दिएको छ।
दैनिक एउटा उडान गरिरहेको जेट एयरवेजले उडान बन्द गरेपछि तीनगुणा भाडा बढेपछि नेपालको नागरिक उड्डयन नियमकले नेपाल एयरलाइन्स, एयर इन्डिया र इन्डिगोका प्रतिनिधिलाई बोलाएर उक्त निर्देशन दिएको हो।
जहाजको भाडा बजारको माग आपूर्तिले निर्धारण गर्छ। यसमा बजारमा सिट अभाव हुने बित्तिकै भाडा ह्वात्तै बढ्छ तर पनि एउटा उडान रोकिँदा उडान थप गर्नुभन्दा पनि भाडा बढाउनेतिर एयरलाइन्सहरूको प्रतिस्पर्धा देखिएपछि क्यानले एयरलाइन्सहरुलाई मौकापो फाइदा छोप्ने प्रवृत्ति नदेखाउन निर्देशन दिएको क्यानका उच्च अधिकारीले जानकारी दिए।
यात्रालाई सहज बनाउने र भाडालाई प्रतिस्पर्धी बनाउनुपर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स स्वयम् यही प्रतिस्पर्धामा लागेपछि क्यानले यसबारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको पनि ध्यानाकर्षण गराएको जनाएकाे छ।
‘दैनिक एउटा उडान बन्द हुँदा भाडामात्र बढाउनुको साटो उडान पनि थप गरी बढी प्रतिस्पर्धात्मक बनाउन हामीले निर्देशन दिएका छौ, उहाँहरुले भने उडा थप गर्न सकारात्मक भएपनि अहिलेको भाडा अस्वभाविक नभएको बताउनुभएको छ पहिले पनि सिट भरिभराउ हुँदा यस्तो हुने गरेको उहाँहरुको भनाइ छ’ छलफलमा सहभागी क्यानका एक अधिकारीले भने।
जेटको उडान बन्द भएपछिको अवस्थामा पहिलेभन्दा यो रूटमा भाडा तीन गुणाले बढेको छ। पहिले आठ हजारबाट सुरू हुने एकतर्फी भाडा अहिले बढेर न्यूनतम २० हजार पुगेको छ। ट्राभल एजेन्सीहरूका अनुसार यो रूटमा तीन वटा एयरलाइन्सले उडान गरिरहेका छन्।
हाल भारतका इन्डिगो,एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले दुईतर्फी उडान गरिरहेका छन्।
नेपाल एयरलाइन्सले यसअघि नै हस्तामा ३ उडान थप गर्ने घोषणा गरिसकेको छ। तर पनि उसले यसबारेमा घोषणमात्र गरेको क्यानका अधिकारीहरको आरोप छ।
भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेजले पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको भन्दै गत चैत २५ गतेदेखि सबैजसो अन्तर्राष्ट्रिय उडान स्थगन गरेको हो।