पछिल्लो समय काठमाडौं–नयाँ दिल्ली रूटमा दैनिक एक उडान गर्दै आएको भारतको जेट एयरवेजको उडान बन्द भएपछि यो रूटमा भाडा अत्यधिक महँगिएको छ। भाडामात्र होइन मुख्य पर्यटकीय सिजनमै टिकट नपाएर यात्रुले सास्ती पाएका छन्।
जेटको उडान बन्द भएपछि विशेषगरी दुई समस्या देखिए भाडा र टिकट।
जेटको उडान बन्द भएपछिको अवस्थामा पहिलेभन्दा यो रूटमा भाडा तीन गुणाले बढेको छ। पहिले आठ हजारबाट सुरू हुने एकतर्फी भाडा अहिले बढेर न्यूनतम २० हजार पुगेको छ। ट्राभल एजेन्सीहरूका अनुसार यो रूटमा तीन वटा एयरलाइन्सले उडान गरिरहेका छन्।
हाल भारतका इन्डिगो,एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले दुईतर्फी उडान गरिरहेका छन्।
यसमा सबभन्दा सस्तो एयर इन्डियाको चालिस हजार छ भने महँगोमा ६५ हजार इन्डिगोको छ। नेपाल एयरलाइन्सको पनि ५८ हजार रहेको छ।
जहाजको भाडा बजारको माग आपूर्तिले निर्धारण गर्छ। यसमा बजारमा सिट अभाव हुने बित्तिकै भाडा ह्वात्तै बढ्छ तर पनि एउटा उडान रोकिँदा उडान थप गर्नुभन्दा पनि भाडा बढाउनेतिर एयरलाइन्सहरूको प्रतिस्पर्धा देखिएको छ।
यात्रालाई सहज बनाउने र भाडालाई प्रतिस्पर्धी बनाउनुपर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स स्वयम् यही प्रतिस्पर्धामा लागेको छ। बरु भारतीय राष्ट्रिय ध्वजाबाहकले यसमा केही बुद्धिमता अपनाएको छ।
यसरी उडान रोकिँदा यात्रालाई सहजीकरण गर्ने भन्दा पनि कमाउने अवसरका रूपमा मात्र लिएको भन्दै तीन एयरलाइन्सका प्रतिनिधिलाई नागरिक उड्डयन प्राधिकरणले आज बोलाएको छ।
‘अहिले यात्रुको चाप, उडानको अवस्था समाधानका उपाय र बढ्दो भाडादरका विषयमा छलफल गर्न हामीले सम्बन्धित एयरलाइन्सका प्रतिनिधिहरूलाई बोलाएका छौं,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने।
अर्को समस्या टिकट।
मुख्य पर्यटकीय सिजनको बेला तेस्रो मुलुकबाट आउनेहरू भारतको इन्दिरागान्धी विमानस्थल हुँदै आउँछन्। तीमध्ये कतिपयले यसअघि नै जेट एयरवेजको टिकट पनि लिएका हुन्छन्। यस्तोमा अहिले दिल्लीबाट काठमाडौं आउन र यहाँबाट दिल्ली जान टिकट पाउनै कठिन छ।
भाडाभन्दा यात्रुहरूलाई टिकटकै समस्याले सताएको छ।
अहिलेको मौसम भनेको कैलाश मानसरोवर जाने हो। वर्षमा २० देखि २५ हजार भारतीयहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उक्त यात्रामा जान्छन्। धार्मिक यात्रा भएकाले उनीहरूले यात्रा स्थगन गर्न पनि कठिन हुन्छ। यस्तोमा बढ्दो भाडादर र टिकट अभावले झनै सताउने निश्चित भएको छ।
भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेजले पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको भन्दै गत चैत २५ गतेदेखि सबैजसो अन्तर्राष्ट्रिय उडान स्थगन गरेको हो।