पसलको ढोकैनिर तातो आगोमा धुवाँ निकाल्दै आन्टी मासु पोलिरहेकी हुन्छिन्।
साँघुरो पसलको होचो ढोकामा टाउको निहुराउँदै मान्छेहरू आउजाउ गरिरहन्छन्।
बिस्तारै दिन ढल्दै जान्छ।
दिन सँगसँगै आन्टीले सेकेको मासु पनि सकिँदै जान्छ।
म कुरा गर्दैछु काठमाडौं प्याफलको चर्चित सेकुवा पसलको, नाम हो — आन्टीको सेकुवा कर्नर।
मुना डंगोल र उनका श्रीमान अशोकले २०५८ सालमा सुरू गरेको यो पसलको विशेषता यत्तिले बुझाउँछ — यहाँ कतिपय ग्राहक २४ वर्षदेखि नियमित आइरहेका छन्।
डंगोल दम्पतीले यो पसल कसरी सुरू गरे? दुई दशकभन्दा लामो यात्रामा उनीहरूले के–कस्ता उतारचढाव भोगे? यो स्टोरीमा म यिनै विषयमा चर्चा गर्नेछु।
अशोक पहिले बियर कारखानामा काम गर्थे। एघार वर्ष काम गरेर उनले त्यो जागिर छाडे।
नियमित तलब आइरहने जागिर छाडेपछि उनलाई घरव्यवहार चलाउन के गर्ने भन्ने अलमल भयो। त्यही बेला उनी कामविशेषले बुटवल गएका थिए। त्यहाँ सडक किनार खुलेका सेकुवा पसलमा ग्राहकको भिडभाड देखेर उनलाई अचम्म लाग्यो।
उनले सोचे — खासै धेरै लगानी नपर्ने यस्तो सेकुवा पसल त काठमाडौंमा पनि खोल्न सकिन्छ!
उनी यही सोच लिएर काठमाडौं फर्के। घर–सल्लाह गरे। अनि, बुटवलमा देखेजस्तै सेकुवा पसल खोल्ने तयारीमा लागे।
सुरूआत मरूको गणेशस्थानबाट भयो। त्यतिखेर अशोक र मुनासँग सटर भाडामा लिने क्षमता थिएन। उनीहरू फुटपाथमै सेकुवा पोल्न र बेच्न बसे।
कम समयमै उनीहरूको सेकुवाले ग्राहकको मन जित्यो। भिडभाड बढ्दै गयो।
पहिले गणेशस्थान वरिपरि ठेला र फुटपाथ पसल बग्रेल्ती खुलेका थिए। सेकुवा, म:म, राँगाको फोक्सो (स्वँ), चिया लगायत पसलमा हरेक साँझ मान्छेको जमघट हुन्थ्यो। तीमध्ये धेरै बिक्रेता अहिले पनि छन्, तर ती सबै जना फुटपाथबाट पसलतिर सरेका छन्।
मुना र अशोकले पनि लकडाउनपछि फुटपाथ छाडेर व्यवस्थित ढंगले सेकुवा कर्नर चलाउने निधो गरे।
पसल खोज्दै जाँदा प्याफलको अहिलेकै ठाउँमा खाली पसल भेटियो।

'यहाँ सरेपछि सुरू सुरूमा त ग्राहकहरू अलमलिनुभयो,' मुनाले भनिन्, 'नियमित आइरहने ग्राहक पनि हामीलाई फुटपाथमा नदेखेपछि फर्केर जानुहुँदो रहेछ। पसलबाट सरेको भए पो सूचना लेखेर टाँस्नुहुन्थ्यो! फुटपाथमा त कसरी सूचना टाँस्नू!'
त्यो बेला स्थानान्तरणले आफ्ना धेरै ग्राहक गुमेको र व्यापार पनि घटेको उनी बताउँछिन्।
पछि केही पुराना ग्राहकले त्यो बाटो हिँड्दा उनको नयाँ पसल देखे। ढोकैनिर सेकुवा पोल्दै गरेकी मुनालाई देखेर उनीहरू खुसी हुँदै भन्थे, 'ओहो आन्टी तपाईं यहाँ पो सर्नुभएको! मैले त तपाईंले पसल नै छोड्नुभयो कि भन्ठानेको!'
कतिपय ग्राहकलाई उनले नै बाटोमा देखेर बोलाइन्। तिनले पनि मुनाको नयाँ पसल देखेर खुसी हुँदै भने, 'गज्जब गर्नुभो आन्टी, बधाई छ तपाईंलाई।'
छुटेको सिलसिला फेरि जोडियो।
उनको बेनामे पसलले नयाँ नाम पनि पायो। ग्राहकहरूले मायापूर्वक 'आन्टी' भनेर बोलाउँदा बोलाउँदै पसलको नाम नै 'आन्टीको सेकुवा कर्नर' रह्यो।
'मलाई यो नाम राख्ने सुझाव सधैं आइरहने एक जना ग्राहकले दिनुभएको हो,' सबैकी मुना आन्टीले भनिन्, 'मलाई उहाँको सुझाव मन पर्यो। अहिले सोच्दा राम्रै नाम राखेछु जस्तो लाग्छ। प्याफलमा आन्टीको सेकुवा पसल भन्नेबित्तिकै सबैले मलाई नै सम्झन्छन्।'
ग्राहकहरूसँग मुनाको कति आत्मीय सम्बन्ध छ भने, अहिले पनि उनीकहाँ नयाँभन्दा पुरानै ग्राहक बढी आउँछन्।
'सधैं आइरहने ग्राहक त मलाई दाजुभाइ, दिदीबहिनीजस्तै लाग्छ,' उनले भनिन्, 'उहाँहरू के खानुहुन्छ, कति खानुहुन्छ; मलाई कन्ठै छ।'
यहाँ राँगा, बंगुर र कुखुराको मासुको सेकुवा पाइन्छ। ससेस, राँगाको फोक्सो (स्वँ) पनि पाइन्छ। चिसो पेय पदार्थ पनि राखेका छन्।
पहिले उनीहरू खसीको सेकुवा पनि बेच्थे। खसीको मासु महँगो भएपछि सेकुवाको भाउ बढ्यो। बढेको मूल्यमा खसीको सेकुवा खाने ग्राहक कम भए। त्यसपछि उनीहरूले बेच्नै छाडिदिए।
म:म पनि त्यस्तै भयो। यो चाहिँ मूल्य बढेर होइन, ठाउँ साँघुरो भएर उनीहरूले नै बनाउन छाडिदिए। अहिले पनि सेकुवा खान आएका कतिपय ग्राहक म:म खोज्छन्। जबाफमा मुना भन्छिन्, 'सरी है, ठाउँ साँघुरो भएर हामीले म:म बनाउन छाडिदियौं।'
ग्राहकले खोजेको चिज खुवाउन नसक्दा थकथकी लाग्ने गरेको उनी बताउँछिन्।
प्याफलको पसल साँघुरो भएकाले उनीहरूले एक वर्षअघि 'आन्टीको सेकुवा कर्नर' को नयाँ शाखा न्यूरोडमा खोलेका छन्। त्यो पसल छोराले हेर्ने मुना बताउँछिन्।
उनका दुई जना छोरा छन्। उनीहरू पालैपालो न्यूरोडको पसलमा बस्छन्। प्याफल र न्यूरोडमा गरी चार जना सहयोगी कर्मचारी पनि राखेका छन्।
'धेरैजसो समय त छोराहरू नै बस्छन्। बेला बेला हामी बूढाबूढी पनि जान्छौं,' उनले भनिन्, 'त्यहाँ ठाउँ ठूलो छ। त्यसैले सेकुवा र ससेसबाहेक अरू धेरै प्रकारका खानेकुरा राखेका छौं।'

मुनाले पछिल्लो दुई दशकमा व्यवसायमा आएको परिवर्तन पनि सुनाइन्।
उनका अनुसार पहिले सेकुवा पोल्न काठको डन्डी प्रयोग गरिन्थ्यो। अहिले स्टिलको रड प्रयोगमा छ। यसबीच भाउ पनि धेरै बढ्यो। उनीहरूले १० रूपैयाँमा एक प्लेट (एक स्टिक) राँगाको सेकुवा बेचेर व्यवसाय थालेका थिए। अहिले राँगाको सेकुवा १०० रूपैयाँ पर्छ भने कुखुराको १२० र बंगुरको १६० छ।
'त्यो बेला राँगाको मासु किलोको सयमा आउँथ्यो। अहिले ५०० पर्छ,' मुनाले भनिन्, 'मासुबाहेक हामीले प्रयोग गर्ने मरमसलाको भाउ पनि निकै बढिसक्यो।'
उनीहरू पसललाई चाहिने मासु दिनदिनै किनेर ल्याउँछन्। दिनको १० देखि १५ किलो खपत हुन्छ। बिहानै मासु ल्याएर काटकुट पार्ने, मरमसला हालेर मोल्ने र अचार बनाउने गर्छन्। सेकुवासँगै प्याज र भुजा पनि बन्दोबस्त गर्छन्। पसल खुल्ने समय दिउँसो १ देखि राति ९ बजेसम्म हो।
हरेक दिन कति मासु चाहिन्छ भनेर उनीहरू बिहानै अनुमान गर्छन्। अनुमान गर्ने मौसम हेरेर हो। पानी परेको छ वा धुम्म दिन छ भने व्यापार कम हुनसक्छ। त्यस्तो बेला मासु खेर नजाओस् भनेर थोरै किन्छन्। हरेक दिन मासु किनेर ल्याउने हुँदा ताजा सेकुवा पाइने उनको भनाइ छ। गुणस्तरमा ध्यान दिने भएकाले अहिलेसम्म ग्राहकको गुनासो सुन्न नपरेको उनी बताउँछिन्।
उनका अनुसार गर्मी याममा प्राय: साँझतिर धेरै मान्छे आउँछन्। पानी परेको छैन भने दिउँसो खाजा खाने बेला पनि भिडभाड भइरहन्छ। सार्वजनिक विदा र जात्रापर्व बेला धेरै नै भ्याइनभ्याइ हुन्छ। धेरै व्यापार हुने चाहिँ जाडो महिनामा हो। चिसो मौसममा तात्तातो सेकुवा खान कसलाई मन नपर्ला र?
आन्टीको सेकुवा पसलमा वरपरका स्थानीय मात्र होइन, टाढा टाढाका मान्छे पनि आउँछन्। यो ठाउँमा हरेक दिन भिड लागिरहने हुँदा सेकुवाको मगमग बास्नाले नै ग्राहक तान्छ। पछिल्लो समय 'फुड भ्लगर'हरूले पनि यस्ता लोकल पसलको व्यापार बढाउन भूमिका खेलेका छन्। तिनै भ्लग हेरेर विदेशी पर्यटकहरू पनि आइरहन्छन्।
यति हुँदाहुँदै पहिलेको दाँजोमा ग्राहक घटेको मुनाको अनुभव छ।
'धेरै मान्छे विदेश गएर हो कि, अचेल ग्राहक कम छन्,' उनले भनिन्, 'तैपनि सधैं भिडभाड भइरहने मूल सडकको छेउमै भएकाले हामीलाई पुगेकै छ।'
उनले अगाडि भनिन्, 'दिनभरि धुवाँ नजिक बसेर सेकुवा पोल्नु सजिलो काम होइन, तर हामी खुसी छौं। यही पसल चलाएर छोराछोरी हुर्काइयो। नयाँ ठाउँमा नयाँ पसल पनि खोलियो। जे-जति छ, त्यसैलाई सम्हालेर राख्न पाए योभन्दा बढी केही चाहिँदैन।'
***