६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाई सरकारले लाइफटाइम आचिभमेन्ट आवर्ड प्रदान गरेको छ।
उद्योगी राठीलाइ २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो।
कृषि तथा पशुपन्छी विकासमन्त्री एवम् बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे।
राठी नेपालका पहिलो टि टेस्टर (चिया परीक्षक) हुन्। उनले टेस्टिङ प्लान्टेसन एण्ड म्यानुफ्याक्चारिङमा स्नातकोत्तर गरेका छन्।
२५ वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टी टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए। चीनबाट फर्केलगत्तै राठी इलाम टी गार्डेनमा पुगेर त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चिया बारे आधारभूत ज्ञान लिए।
वि.सं २०४६ सालमा निजी क्षेत्रबाट चिया उत्पादन गर्ने पहिलो कारखाना इलामको मालुममा हिमालयन रेन्ज चिया उधोग प्रा. लि. को स्थापना गर्न उनी सफल भए।
उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योगको स्थापना, २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रा. लि. उद्योगको स्थापना गरे।
हाल उनले राकुरा ब्रान्डमा सि.टि.सी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन्।