दसैंपछि खुलेको सेयर बजार उच्च अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा आएर बजार बन्द भएको छ।
अहिले पनि नेप्सेले २७ सयको विन्दुमा प्रतिरोध पाइरहेको छ। मंगलबार पनि यही विन्दुमा नेप्सेले प्रतिरोध परिक्षण गरिरहेको छ।
कारोबार रकममा अहिले पनि सुधार भने देखिएन। दसैंअघि बुधबारको कारोबारमा तीन अर्ब ७६ करोडको कारोबार भएकोमा यस मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएको छ।
यस दिन ३०७ वटा स्क्रिप्सको कारोबार भएकोमा २३० वटाको बढ्यो। त्यस्तै, ५७ को घटेको छ भने बाँकीको स्थिर छ।
यस दिन जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयर मूल्य बढेर सर्किट लागेको छ। जानकीको १० प्रतिशतले मूल्य बढेर ६७७ रूपैयाँ ६० पैसामा कारोबार भएको छ।
मिथिलाको पनि १० प्रतिशतले बढेर एक हजार २६ रूपैंयाँमा कारोबार भएको हो।
मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेर एक हजार २६ रूपैयाँमा कारोबार भएको छ।
दसैंअघि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको लिबर्टी इनर्जीको सेयर मूल्य २.१९ प्रतिशतले बढेको छ।
कम्पनीको सेयर दुई सय ८४ रूपैयाँ १० पैसामा किनबेच भइरहेको छ।