बैंकहरूले राष्ट्र बैंकमा राखेको मध्ये ९० अर्ब रूपैयाँ आइतबार बैंकहरूमै फर्किएपछि मंगलबार एक खर्ब रूपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकले ६ दिनको लागि बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ तान्न लागेको हो।
राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी गरेर उब्रिएको यस्तो रकम तान्ने गर्छ। त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।
निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ।
करिब दुई वर्षदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तानिरहेको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार फागुन १७ गतेसम्म बैंकहरूले यसरी राखेको रकम आठ खर्ब ८४ अर्ब रूपैयाँ छ।
फागुन १४ गतेसम्म बैंकहरूको निक्षेप ७७ खर्ब ३२ अर्ब र कर्जा लगानी ५८ खर्ब १२ अर्ब रूपैयाँ रहेको राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ।
पछिल्लो केही समयदेखि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम आठ खर्ब माथि छ। बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ।
कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।
कर्जा लगानी बढ्न नसकेकै कारण बैंकहरूले राष्ट्र बैंकमा २.६३ प्रतिशतदेखि तीन प्रतिशत ब्याजदरमा पैसा राखिरहेका छन्।