अटो मोबाइल व्यवसायी तथा उपभोक्ताको लागि 'कुम्भ मेला' को रूपमा चिनिने नाडा अटो शो २०२४ आजदेखि सुरू भएको छ।
व्यवसायीले नाडा अटो शो सुरूआतसँगै यो वर्षको गाडी व्यापारको सिजन सुरू भएको बताएका छन्। ग्राहकलाई आकर्षण गर्नको लागि धेरै नयाँ मोडलका गाडीहरू यसै अवसरमा सार्वजनिक गरिएको छ।
भदौ १६ गतेसम्म चल्ने यो मेलामा बुकिङ गराउनेहरूलाई कम्पनीहरूले छुटका योजना ल्याएका छन्।
'आजैदेखि गाडी कम्पनीको लागि सिजन सुरू भएको छ, ग्राहकको लागि धेरै कम्पनीले छुटका योजना पनि ल्याउनु भएको छ, कम्पनीहरूले आगामी छठसम्मका योजना पनि सार्वजनिक गरेका छन्,' नाडा अटो शो २०२४ का संयोजक अनुप बरालले भने।
यसपटक के छ नयाँ?
यो पटक अटो शोको प्रदर्शनी व्यापक बनाइएको संयोजक बरालले बताएका छन्। दुई पांग्रे साधनलाई छुट्टै खण्ड राखिएको छ। जसले बाइक र स्कुटीलाई आफ्नै क्षेत्रमा अवलोकन गर्न सुविधा पुर्याउँछ। टायर र लुब्रिकेन्टलाई पनि छुट्टै क्षेत्रमा राखिएको छ।
विद्युतीय सवारी साधनको बाहुल्यता देखिएको छ। नाडाका अनुसार स्टलको आधारमा यसपटक प्रदर्शनीमा रहेको ८० प्रतिशत इभी (इलेक्ट्रिक भेहिकल) रहेका छन्। जसले इभीको मागमा भएको वृद्धि दर्शाएको नाडाले जनाएको छ।
यसपटक कमर्सियल इभीहरूले सहभागिता पाएका छन्। जसमा ११, १४, १९ सिटरका गाडी र १५० देखि ४०० किलोमिटरको ड्राइभिङ रेन्ज भएका गाडीहरू रहेका छन्।
नाडा अटो शोमा नेपाली उद्योगमा आधारित सामग्रीहरू राखिएको छ। नेपालमा बनेका ब्याट्री, लुब्रिकेन्ट, टायर र हेलमेट प्रदर्शनीमा राखिएको छ।
यस पटकको एक्सपोमा पुराना ब्राण्ड गाडीहरूको न्यून उपस्थिति देखिन्छ।
पुराना ब्राण्डका रूपमा महेन्द्रा, हुन्डाइ, टाटा र सुजुकीका पुराना ब्राण्डहरू मात्र रहेका छन्। यसमा पनि डिजेल र पेट्रोल केन्द्रित मात्रै गाडीको प्रदर्शनी सुजुकीले मात्रै गरेको छ।
ग्राहकको लागि आकर्षक योजनाः विभिन्न कम्पनीहरूले गाडीको सिजनको सुरुवातसँगै छुट र अफरहरू प्रदान गरेका छन्।
एमजी साइबरस्टरः नयाँ आकर्षण
एमजी मोटर्सले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ विद्युतीय एसयुभी साइबरस्टर सार्वजनिक गरेको छ।
२५० किलोवाटको मोटर र ७७ किलोवाटको ब्याट्रीको साथ यो गाडीले ५०० किलोमिटरको ड्राइभिङ रेन्ज दिने उल्लेख छ। एक करोड ६८ लाख मूल्यको यो गाडी बुक गरेको एक महिनाभित्र उपलब्ध गराइने एमजीको लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ।
यो गाडीमा इन्फोटेन्मेन्ट सिस्टम र एड्भान्सड ड्राइभिङ असिस्ट सिस्टम (एडिएएस) जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।
यस्तै, अटो शोका क्रममा नै चिनियाँ अटोमोबाइल कम्पनी लिप मोटरले नाडा अटो शो २०२४ मा नयाँ मोडल सी–१० प्रस्तुत गरेको छ।
१७० किलोवाटको इलेक्ट्रिक मोटर, ३० वटा सेन्सर, ११ वटा क्यामेरा, र १२ अल्ट्रासोनिक राडार सहितको उन्नत प्रविधि यो गाडीमा रहेको छ।
नाडा अटो शोका लागि ६७ लाख ९९ हजार रूपैयाँ मूल्य तोकिएको यो गाडीको एमआरपी मूल्य ७२ लाख रूपैयाँ छ।
१४.६ इन्चको सेन्टर कन्ट्रोल स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, १९ वटा फङ्सनहरूको ड्राइभर असिस्टेन्स सिस्टम यो गाडीका विशेषता हुन्।
नाडा अटो शो कै क्रममा स्काइवेल, दिपल, बिआइडी, एमजी लगायतका कम्पनीहरूले पनि नेपालमा नयाँ मोडेलका गाडीहरू सार्वजनिक गरेका छन्।
नाडा अटो शोकै क्रममा सिजी मोटोकर्पले दसैं तिहारको अवसरमा 'सुजुकी पर्वोत्सव अफर' प्रस्तुत गरेको छ।
यो अफर अन्तर्गत चार लाख रूपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजार रूपैयाँसम्मको लोयल्टी बोनस, एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसोसरिजहरू उपलब्ध हुनेछन्।
अटो मोबाइलको विषयमा कसले के भने?
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण समर्थन दिने प्रतिबद्धता जनाए। उनले नीतिगत स्थिरता र सडक पूर्वाधारको सुधारमा ध्यान दिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइललाई विलासी वस्तु नभई आवश्यक वस्तुको रूपमा परिभाषित गर्न आग्रह गरे। सोही अनुसार अन्य नीतिहरू पनि सुधार गर्नुपर्ने उनको भनाइ छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अटोमोबाइल क्षेत्रमा अर्थतन्त्रको सुस्त गतिका कारण आएको समस्याबारे चर्चा गरे। उनले स्थिर नीति र मागमा सुधारका कदमबाट अर्थतन्त्र सुधार गर्नुपर्ने र यसले अटोको क्षेत्र पनि बढ्ने तर्क गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रमा करको दर घटाउनु पर्ने माग गरे।
नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई प्राथमिकता दिने र दीर्घकालीन योजनामा ध्यान दिने आवश्यक्ता औँल्याए।
अटो शोले विभिन्न अटोमोबाइल कम्पनीहरूलाई नयाँ उत्पादनहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आउनुका साथै यसवर्ष विद्युतीय र हाइब्रिड सवारी साधनहरूको प्रदर्शन विशेष आकर्षणको रूपमा रहेको छ।
नाडा अटो शोमा अर्थमन्त्री पौडेल र व्यवसायीले के भने?