टन्सिल भयो भने तपाईं के गर्नुहुन्छ?
नुनपानी, बेसारपानी खानुहुन्छ वा तातोपानीले कुल्ला गर्नुहुन्छ।
सामान्य जस्तो लाग्ने टन्सिलका कारण तपाईंको मुटु नै बिग्रन सक्छ।
तीन दशकदेखि मुटुको उपचारमा संलग्न डाक्टर प्रकाशराज रेग्मी टन्सिलका कारण मुटु बिग्रिएर नेपालमा वर्षमा एक हजार बालबालिकाले ज्यान गुमाउने गरेको बताउँछन्।
'पाँच देखि १५ वर्ष मुनिका बालबालिकालाई टन्सिलको समस्या हुन्छ। घाँटी दुख्ने, ज्वरो आउने, निल्न गाह्रो हुने हुन्छ,' रेग्मी भन्छन्, 'सही तरिकाले उपचार नहुँदा मुटुसम्म असर पर्न सक्छ। मुटुको भल्भ बिग्रन्छ। मुटु सुन्निने हुन्छ।'
रेग्मी टन्सिलको असर मुटुमा पर्दा त्यसले वर्षौंसम्म समस्या पार्ने बताउँछन्।
'मुख्य कुरा टन्सिल पाक्ने र घाँटी दुख्ने र ज्वरो आउने बेला एन्टिबायोटिक खानुपर्छ,' उनी भन्छन्, 'नुनपानी, सिटामोल खाएर ठिक हुँदैन। मुटुमा समस्या भैहाल्यो भने पनि उपचार गर्न सकिन्छ। पेनिसिलिनको सुई लगाउँदा भल्भ बचाउन सकिन्छ। कम्तिमा बढ्नबाट रोक्न सकिन्छ।'
टन्सिलको समस्यालाई सामान्य ठान्ने भुलले मुटुको दीर्घ रोगी बन्ने अवस्था आउन सक्ने रेग्मीको चेतावनी छ।
'रोग लागिसकेका बेला पनि महिनामा २५ रुपैयाँको सुई लगाएर उपचार गर्न सकिन्छ। तर रोग बढे मुटुको भल्भ फेर्न ३ लाखसम्म खर्च हुन्छ। अप्रेसन सरकारले अहिले नि:शुल्क गरेको छ। तर मुटुको दीर्घरोगी भएर बाँच्नुपर्छ।'
मुट स्वस्थ्य राख्न बालबालिकाको घाँटीको सुरक्षामा ध्यान दिनु पर्ने उनको सुझाव छ। चिसो र चिल्लो नखाने र धुलो र गुलियोबाट बचाउनु पर्ने रेग्मी बताउँछन्।
त्यस्तै वयस्क उमेरका व्यक्तिले स्वस्थ्य जीवनशैली अपनाउने र ३० मिनेट दैनिक व्यायम गर्नुपर्ने र तनाव व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।
भिडिओ-