द लिडर
नेतृत्व क्षमता भनेको जन्मजात गुण हो कि उमेर र परिस्थितिले मान्छेमा नेतृत्व खुबी विकास गराउँछ?
यो प्रश्नमा लामै बहस हुनसक्छ।
कोही भन्लान् — जो मान्छे सानैदेखि समूहमा काम गर्ने रूचि राख्छ र समूहलाई बाटो देखाउन तत्पर हुन्छ, ऊ कुनै न कुनै नेतृत्वमा अवश्य पुग्छ।
कोही भन्लान् — नेतृत्व क्षमतालाई सामान्यीकरण गर्न मिल्दैन। बाल्यकाल जस्तोसुकै होस्; अध्ययन, हुर्काइ, मिहिनेत, कामप्रतिको रनाहा र सफल हुने इखले नै मान्छेलाई नेतृत्वमा पुर्याउँछ।
यसमा हरेक मान्छेको अनुभव भिन्नाभिन्नै हुनसक्छ।
तपाईंले नेतृत्वमा पुगेका सफल व्यक्तिहरूको जीवनकथा पढ्नुभयो भने कसैका हकमा पहिलो अवधारणा मेल खाला, कसैका हकमा दोस्रो।
गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाका हकमा भने दोस्रो अवधारणा मेल खान्छ।
कलेज पढ्दासम्म विदुषी एकदमै लजालु थिइन्। निकट व्यक्तिबाहेक अरूसँग बोल्दै बोल्दिन थिइन्। केटाहरूसँग त बोल्नै हुन्न भन्ने उनलाई लाग्थ्यो।
विदुषीले सेतोपाटीसँगको कुराकानीमा भनिन्, 'सानोमा मेरो व्यक्तित्व नै अर्कै थियो। मलाई अरूसँग बोल्न डर लाग्थ्यो। लाज पनि लाग्थ्यो। आज मलाई देशको प्रधानमन्त्री होस् या विदेशको कुनै विशिष्ट व्यक्ति, कसैसँग बोल्न डर लाग्दैन। म बिनासंकोच भाषण दिँदै हिँड्छु। अन्तर्वार्ता दिन्छु। जोसँग पनि नेगोसिएसन गर्न सक्छु।'
'पहिले जे काम गर्न पनि नर्भस हुन्थेँ, अहिले त मलाई आफ्नो कामबाट देशलाई नै गर्व होस् भन्ने खालको आत्मविश्वास आउँछ।'
'मलाई त्यति बेला देख्नेहरू आज म जहाँ छु र जसरी कम्पनी हाँकिरहेको छु, त्यो देख्दा अचम्म मान्छन्,' विदुषीले अगाडि भनिन्, 'मैले यसरी कुनै कम्पनीको नेतृत्व गर्न सक्छु, भाषण दिँदै हिँड्न सक्छु भन्ने त उनीहरू कसैले चिताएकै थिएनन् होला।'
करिअर सुरू गरेपछि काम गर्दै जाँदा आफ्नो लजालुपन र अरूसँग बोल्न धकाउने स्वभावलाई जित्न सकेको उनी बताउँछिन्।
विदुषीले १९ वर्ष उमेरमा अमिरप्रताप राणासँग विवाह गरेकी थिइन्। त्यो बेला उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक सुरू गरेका थिए।
विदुषीले त्यही बैंकको मार्केटिङ तथा ब्रान्ड म्यानेजरका रूपमा करिअर सुरू गरेकी हुन्।
'कसैकी बुहारी वा श्रीमती भएर काम गर्नुको आफ्नै चुनौती छ,' उनले भनिन्, 'सामान्य मान्छेलाई करिअरमा अगाडि बढ्न कुनै बोझ हुँदैन। जसको पछाडि कुनै ठूलो मान्छेको नाम जोडिएको हुन्छ, उसले आफूलाई प्रमाणित गर्न दोब्बर मिहिनेत गर्नुपर्छ। उसले आफूलाई चिनाउने र छुट्टै पहिचान स्थापित गराउने भनेकै आफ्नो काम र मिहिनेतले हो।'
उनले अगाडि भनिन्, 'त्यसैले कसैको छोरा, कसैकी छोरी वा बुहारीका रूपमा कामको अवसर पाउन सजिलो भए पनि स्थापित हुन र करिअरमा अगाडि बढ्न दोब्बर मिहिनेत चाहिन्छ।'
विदुषीले पनि भलै अमिरकी श्रीमती वा नूरप्रतापकी बुहारीका रूपमा करिअर सुरू गरेकी होऊन्, तर उनले पहिचान आफ्नै मिहिनेतको बलमा बनाएकी हुन्।
कुमारी बैंकमा ६ वर्ष काम गरेपछि जब दुई जना सन्तान जन्मे, उनले करिअरमा ब्रेक लगाइन् र पूर्णकालीन घरमै बसेर छोराछोरी हुर्काइन्।
दस वर्षपछि जब छोराछोरी हुर्के, विदुषी आफ्नो छुट्टै व्यवसाय सुरू गर्ने कोसिसमा लागिन्।
उनले ट्राभल एजेन्सी खोलिन्, आइटी कम्पनी खोलिन्। तर खासै सफल हुन सकिनन्।
सन् १९७० मा खुलेको उनको पारिवारिक जुत्ता कम्पनी 'गोल्डस्टार' त्यति बेला पनि चल्तीमै थियो। श्रीमान र ससुरा त्यसैमा व्यस्त थिए। विदुषीले भने गोल्डस्टारमा काम गर्ने कुनै योजना गरेकी थिइनन्।
नौ वर्षअघिको कुरा हो। नूरप्रताप गम्भीर बिरामी परे। बिरामी परेको एक महिनामै उनको निधन भयो। त्यसपछि गोल्डस्टार लगायत सबै पारिवारिक व्यवसायको जिम्मेवारी एक्ला छोरा अमिरप्रतापको काँधमा आयो।
थपिएको नयाँ जिम्मेवारीले अमिर निकै व्यस्त भए। उनको दिनरात कारखानामै बित्न थाल्यो। न उनलाई खान फुर्सद हुन्थ्यो, न सुत्न। व्यापार–व्यवसायको झमेलाले उनी तनावग्रस्त रहन थाले।
त्यही बेला विदुषीले एउटा महत्त्वपूर्ण निर्णय लिइन्।
'उसको (अमिर) तनाव देखेर मलाई माया लाग्यो,' विदुषीले भनिन्, 'उसको मायाले नै मैले सँगसँगै कारखाना जाने निर्णय लिएँ। कम्तिमा सँगसँगै भएँ भने उसले समयमा खाना खान पाउँछ, समयमा औषधि खान पाउँछ, मैले थोरै भए पनि काममा सघाएँ भने उसले आराम गर्न पाउँछ भन्ने लाग्यो।'

यसरी विदुषी गोल्डस्टारमा संलग्न त भइन्, तर सुरू सुरूमा उनको जिम्मेवारी केही थिएन।
दिनहुँ कारखाना जाने क्रममा उनले के महसुस गरिन् भने, गोल्डस्टार नेपालको त्यति पुरानो र सबैले मनपराएको ब्रान्ड भएर पनि त्यसले एकै किसिमको जुत्ता मात्र उत्पादन गर्दै आएको थियो।
कलेजमा मार्केटिङ र ब्रान्डिङ पढेकी विदुषीलाई यो कुरा खट्कियो।
उनले अमिरसँग भनिन्, 'यति पुरानो कम्पनी भएर पनि किन हामीसँग धेरै डिजाइनका जुत्ता छैनन्? किन हामी वर्षौंदेखि एउटै खालको जुत्ता मात्र बनाइरहेका छौं? अनि, किन हामी कम्पनीको ब्रान्डिङ र मार्केटिङ कहिल्यै गर्दैनौं?'
'मैले पढेको र व्यवहारमा देखेको कुरा नितान्त फरक थियो,' विदुषीले भनिन्, 'मार्केटिङ किन नगरेको भनेर सोध्दा उहाँहरू हाम्रो कम्पनी यसै चलेको छ, किन मार्केटिङ गर्नू भन्नुहुन्थ्यो। किन एउटै डिजाइनको जुत्ता मात्र उत्पादन गरेको भन्दा बजारमा त्यही चलेको छ भन्नुहुन्थ्यो। कम्पनीमा विविधीकरण र नयाँपनको कुनै काम भइरहेको थिएन।'
मार्केटिङ र ब्रान्डिङमा विदुषीको रूचि देखेर अमिरले उनकै नेतृत्वमा तीन जनाको समूह बनाए।
त्यो समूहले बजार सर्वेक्षण गर्यो।
त्यस क्रममा उनीहरूले युवाहरूसँग गोल्डस्टार जुत्ताबारे कुराकानी गरे।
सर्वेक्षणले के देखायो भने, युवाहरू गोल्डस्टार ब्रान्डसँग परिचित त छन्, तर गोल्डस्टार जुत्ता लगाउन चाहँदैनन्।
किन त?
जबाफमा ती युवाहरूले भने, 'गोल्डस्टार बलियो त छ, तर यो भनेको हाम्रो बाबुबाजेले लगाउने जुत्ता हो, हामीले लगाउने होइन।'
यसको अर्थ, युवाहरूलाई गोल्डस्टारको टिकाउपनमा कुनै शंका नभए पनि जुत्ताको डिजाइन आफ्नो उमेर सुहाउँदो नभएको उनीहरू ठान्थे।
विदुषीले यसबारे अमिरसँग सल्लाह गरिन्। आफ्नो समूहसँग पनि कुराकानी गरिन्।
त्यसपछि गोल्डस्टार कम्पनीले पहिलोपटक युवा उपभोक्तालाई लक्ष्य गरेर नयाँ डिजाइनका जुत्ता उत्पादन गर्ने निर्णय गर्यो।
'यसको निम्ति हामीले नयाँ नयाँ मेसिन झिकायौं। युवाहरूलाई कस्तो डिजाइनको जुत्ता मनपर्छ भनेर अध्ययन गरायौं। स्केच आर्टिस्टलाई ल्याएर डिजाइन गर्न लगायौं,' उनले भनिन्, 'यो सिलसिला जारी छ। हामी युवा पुस्तालाई ध्यानमा राखेर एकपछि अर्को नयाँ डिजाइनका ट्रेन्डी जुत्ता उत्पादन गरिरहेका छौं।'
'नयाँ डिजाइनका जुत्ता उत्पादन गरे पनि कम्पनीको मान्यता फेरिएको छैन,' विदुषीले अगाडि भनिन्, 'हाम्रो जुत्ता सस्तो हुनुपर्छ, बलियो हुनुपर्छ र आरामदायी हुनुपर्छ — कम्पनीको यो मान्यता आज पनि त्यही छ।'
जुन दिन गोल्डस्टारले नयाँ पुस्तालाई लक्ष्य गरेर जुत्ता उत्पादन गर्न थाल्यो, त्यो दिन उनीहरूले वर्षौंदेखि गोल्डस्टार लगाउँदै आएका पुराना उपभोक्तालाई धन्यवाद दिएका थिए।
र, नयाँ पुस्तालाई पनि गोल्डस्टारको दुनियाँमा स्वागत गरेका थिए।

आज गोल्डस्टार ५५ वर्ष पुगेको छ। देशकै एक अग्रणी जुत्ता उत्पादक कम्पनी बनेको छ। दर्जनभन्दा बढी मोडलका जुत्ता उत्पादन गर्छ। आफ्नो उत्पादन विदेश पनि निर्यात गर्दै आएको छ। भारत लगायत अमेरिका र युरोपका विभिन्न देशमा गोल्डस्टारका जुत्ता बिक्री हुन्छन्। यसका ४० प्रतिशत उत्पादन भारत निकासी भइरहेका छन्। गोल्डस्टारले भारतको गुणस्तर प्रमाण चिह्न 'बिआइएस' पनि पाइसकेको छ।
गोल्डस्टारका कतिपय मोडल यति लोकप्रिय छन्, बजारको मागअनुसार उत्पादन गर्न नसकेर अभाव भएका उदाहरण पनि छन्। कम्पनीले हरेक वर्ष कुन मोडलको जुत्ता कति संख्यामा उत्पादन गर्ने भनेर लक्ष्य तोकेको हुन्छ। कुनै मोडलमा बढी माग आयो भने थप उत्पादन सुरू गरिने विदुषी बताउँछिन्।
सेतोपाटीको भिडिओ शृंखला 'द लिडर' को यो अंकमा विदुषी राणाले आफ्नो करिअर र नेपालको अन्तर्राष्ट्रिय सुपर ब्रान्ड बनेको गोल्डस्टार जुत्ताको लामो उतारचढाव वर्णन गरेकी छन्।
सानोमा लजालु स्वभावकी विदुषीले आफूमा नेतृत्व क्षमता कसरी विकास भयो र कसरी 'लिडर' का रूपमा अगाडि आउन सफलत भइन् भन्नेबारे मिहिन लेखाजोखा गरेकी छन्।
महिलाका रूपमा नेतृत्वमा पुग्दा झेलेका चुनौती पनि बयान गरेकी छन्।
उनको बाल्यकाल कसरी बित्यो? के-कस्ता परिस्थिति र अनुभवबाट गुज्रिएर यहाँसम्म आइपुगिन्? उनले लिडरका रूपमा के-कस्ता राम्रा निर्णय लिइन्? के-कस्ता गल्ती गरिन्? ती गल्तीबाट के पाठ सिकिन्? यी लगायतका प्रश्न हामीले उनलाई सोधेका छौं।
संस्था चलाउँदा र व्यक्तिगत जीवनमा भोगेका लाचारीका क्षण पनि विदुषीले सुनाएकी छन्। नेतृत्वमा रहँदाको चुनौतीले दिने तनाव र त्यो तनाव व्यवस्थापन गर्ने उपाय साझा गरेकी छन्।
त्यस्तै, कुनै पनि संस्थाको नेतृत्व गर्ने 'लिडर' मा के-कस्ता गुण हुनुपर्छ भनेर व्याख्या गरेकी छन्। र, उद्योग व्यवसाय क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई आफ्ना केही 'बिजनेस मन्त्र' पनि दिएकी छन्।
हेर्नुहोस्, गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणासँगको कुराकानी, सेतोपाटीको भिडिओ शृंखला 'द लिडर' मा —