(रूसी कवि मारिना बोईकोभाले लेखेको 'एउटा मान्छेलाई एउटा मान्छे चाहिन्छ' शीर्षक कविताको जुगल भुर्तेलले गरेको भावानुवाद)
एउटा मान्छेलाई
एउटा मान्छे चाहिन्छ
जोसँग तीतो कफी पिउँदै
मीठो बात मार्न सकियोस्
जसको सुखमा आनन्दले
हाँस्न सकियोस्
आफ्नो दु:खलाई सहजै
ढाँट्न सकियोस्
जोसँग निर्धक्क
मन साट्न सकियोस्
त्यसै गफिएर
रात काट्न सकियोस्
हृदयलाई न्यानो चाहिए
ऊतिर हेरेर मुस्काउन सकियोस्
जोसँग नलजाई
हजार गीत गाउन सकियोस्
जसको सामीप्यमा, मन
चञ्चल होस्, मात्तियोस्
उसको विषादमा, ऊभन्दा
बेचैन होस्, आत्तियोस्
'ठिही चलेको छ बाहिर नजाऊ
जाडो छ, स्वेटर लगाऊ'
बस्, यत्ति … भन्नलाई
एउटा मान्छे चाहिन्छ
एउटा मान्छेलाई
'यता चिसो बढेर
हिउँ पर्ला जस्तो छ
म बिना त्यहाँ
तिमीलाई कस्तो छ?'
फोन आउँदा
मात्र … यत्ति सुन्नलाई
एउटा मान्छे चाहिन्छ
एउटा मान्छेलाई
कहिले असल ऊ छिमेकी होस्
कहिले आत्मीय साथी होस्
प्रिय होस् एउटा मान्छे
सबैभन्दा माथि होस्
एक्लो उदास जीवनमा
सुखको वसन्त आउनलाई
एउटा मान्छे चाहिन्छ
हरेक एउटा मान्छेलाई
चाहिन्छ एउटा मान्छे
एउटा मान्छेलाई!!!