अन्तर्राष्ट्रिय कफि संगठनको उपाध्यक्षमा बेलायतका नेपाली राजदूत सुवेदी निर्वाचित


 

बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफि संगठनको प्रमोशन एण्ड मार्केट डेभलपमेन्ट समितिको उपाध्यक्षमा निर्वाचित भएका छन्।

संगठनका लागि नेपालका स्थायी प्रतिनिधिसमेत रहेका सुवेदीलाई मेक्सिकोको राजधानी मेक्सिको सिटीमा भएको संगठनको १ सय २१ औं परिषद बैठकले सर्वसम्मतिमा उपाध्यक्ष निर्वाचित गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। सो समितिको अध्यक्षमा भने जापानका प्रतिनिधि निर्वाचित भएका छन् ।

नेपालका प्रतिनिधि सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेताले प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होण्डुरस, एलसाल्भाडोर, कोलम्विया र इथियोपियाका प्रतिनिधिहरुले समर्थन जनाएपछि सर्वसम्मतिमा सुवेदी निर्वाचित भए।

समितिका नवनिर्वाचित उपाध्यक्ष डा. सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रहरुलाई समर्थनको लागि आभार व्यक्त गर्दै आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र उर्जाको साथ निर्वाह गर्ने विचार व्यक्त गरे।

गुणस्तरीय कफी उत्पादनको प्रवद्र्धनका साथै कफी बजारको विस्तार आजको आवश्यकता रहेको बताउँदै उनले आफ्नो कार्यकालमा नेपाल लगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरुको कफी उत्पादन र बजार प्रवद्र्धनका लागि ठोस र सार्थक कार्य गर्ने प्रतिवद्धता पनि गरेका छन्।

नेपालले २२ फेब्रुअरी २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफि संगठनको पूर्ण सदस्यता प्राप्त गरेको थियो भने नेपाल सरकारले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा.सुवेदीलाई २९ जुन, २०१७ मा अन्तर्राष्ट्रिय कफि संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.