उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्।
युरोपेली मुलुक माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल सरकार वर्तमान कार्यसमितिको पक्षमा रहेको बताए।
‘नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न कोणबाट विषय प्रवेश भएका छन्। यही संस्थाले अस्ति थाइल्याण्ड र कम्बोडियामा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी हुनुभएको थियो,’ उनले भने, ‘म, नेपाल सरकारकै प्रतिनिधित्व गरेर कार्यक्रममा आएको छु, यति भएपछि यो स्पष्ट छ कि सरकारको बुझाइमा कुनै दुविधा छैन।’
उनले आफ्नो अस्तित्वको लडाइँको रूपमा नलिएर गैरआवासीय नेपाली संघको आन्तरिक विषयलाई आफैबीच छलफल गरेर समाधान गर्न सुझाव दिए।
उनले गैरआवासीय नेपालीहरूले नेपालको समृद्धिको लागि खेलेको भूमिकाको प्रशंसा गरे।
गैरआवासीय नेपालीहरूले मातृभूमिको लागि केही गर्न खोजेर केही मागहरू राखेकोप्रति सरकार सकारात्मक रहेको उनको भनाइ थियो।
देशमा प्रतिकूल अवस्थामा पनि गैरआवासीय नेपालीहरूले लगानी गरेको स्मरण गर्दै मुलुक लगानीमैत्री बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे। उनले नेपालमा थप लगानीको आवश्यकता रहेको बताउँदै व्यक्तिगत लगानी मात्र नभई सामूहिक तथा संस्थागत लगानी भित्र्याउन अनुरोध गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघको विषयमा भएको सर्वोच्च अदालतको दोस्रो फैसलाले संस्थाका महाधिवेशनहरू स्वायत्त र स्वतन्त्र हुने भन्ने व्याख्या गरेको हुँदा वर्तमान कार्यसमितिको वैधानिकता आगामी अक्टोबर महिनासम्म कायम रहेको बताए।
उनले गैरआवासीय नेपाली संघको अभियानले विदेशमा बस्ने नेपालीहरूको लागि एनआरएन नागरिकता, सामाजिक सुरक्षाकोष लगायत महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताए।
‘सामाजिक सुरक्षा कोषमा हाल आबद्ध भएका १६ लाखमध्ये १२ लाख विदेशमा बस्ने श्रमिकहरू छन्। उनीहरूले जम्मा गरेको रकम अहिले १ खर्ब रुपैयाँ पुगेको छ। यो कोषले नेपालको लगानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ केसी भने।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संस्था ठूलो भएपछि विभिन्न पेशा र विचारधाराका मानिसहरू जम्मा हुँदा विवाद देखिनु स्वाभाविक भएको बताए।
कार्यक्रममा संघका उपाध्यक्ष रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघले संस्थाभित्र एकता कायम गर्न एनसिसी माल्टाबाट सिक्नुपर्ने बताए।
गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राईले गत महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न अप्ठ्यारो हुँदा पनि भूकम्प तथा प्राकृतिक प्रकोपको बेला सहयोग लगायतका थुप्रै काम भएको दाबी गरिन्।
उनले गैरआवासीय नेपाली संघका पदाधिकारीहरू संघका अभियानकर्ता मात्र भएको भन्दै संस्थाभित्र एकताको लागि आह्वान गरिन ।