गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले पूर्व अध्यक्ष शेष घलेलाई सार्वजनिक बहसमा आउन सुझाव दिएका छन्। सेतोपाटीसँग कुराकानी गर्दै एनआरएनए अध्यक्ष केसीले कोठा भित्र आफ्ना गतिविधि गर्न भन्दा एनआरएनए अभियानतासँग अन्तरक्रिया गर्न समेत आग्रह गरे।
‘कोठामा आफ्ना केही समर्थक राखेर एनआरएनएका विरुद्धमा विभिन्न गतिबिधि नगर्न म शेषजीलाई आग्रह गर्छु। उच्चस्तरीय समितिको संयोजक भएर एकता गर्न चाहनुभएको हो भने सबैसँग अन्तरक्रिया गर्न तयार हुनुस्,’ उनले भने, ‘पहिला उच्चस्तरीय समितिमा सहमति गर्नुस् अनि सबैका कुरा सुन्न तयार हुनुस्।हामी सार्वजनिक रुपमा सबैको सामना गर्न तयार छौं।'
संस्थापक अध्यक्ष,पूर्वअध्यक्ष सहित झण्डै ८ सय जनासँग आफूहरुले अन्तरक्रिया गरेको र सबैको धारणा अक्टोबरमा एकताको महाधिवशेन गर्ने रहेको उनले बताए।
नेतृत्वमा रहनेले आलोचना र प्रशंसा दुवै सुन्न तयार हुनपर्ने भन्दै उनले यसका लागि आफू सधैँ तयार रहेको उनको भनाइ छ।
एनआरएनए महाधिवेशन किन अक्टोबरमै गर्ने भन्ने विषयमा आफू जहाँ जस्तोसुकै अवस्थामा र जोसँगपनि छलफल र बहसका लागि तयार रहेको उनको दाबी छ।
‘शेषजीलाई म के आग्रह गर्न चाहान्छु भने मेमा महाधिवेशन गर्न कुनै हालतमा सम्भव छैन। यदी सम्भव छ भन्ने लाग्छ भन्ने विश्वभरका शाखालाई विश्वासमा लिनुस् अनि हामीलाई पनि लिनुस्,’ उनले भने, ‘आफ्ना कुरा प्रष्टसँग राख्न नखोज्ने अरुका कुरा नसुन्ने अनि सार्वजनिक रुपमा बहसमा तयार नभएर कसरी एकता हुन्छ भन्ने हो।’
२०७८ मा भएको एनआरएनएको १० औ महाधिवेशनलाई सर्वोच्च अदालतले २०७८ चैतमा अवैधानिक भएको भनेर फैसला गरेको थियो।
यही फैसलाको आधारमा घले नेतृत्वमा १३ सदस्य रहेको उच्चस्तरीय समिति गठन भएको थियो। समितिमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, एनआरएनएका वर्तमान अध्यक्ष बद्री केसी,पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, कुमार पन्त सदस्य छन्।
त्यस्तै राम प्रताप थापा, बिनोद कुंवर, जानकी गुरूङ्, कुल आचार्य,रविना थापा र उमेश कुमार पुडासैनी पनि सदस्य छन्। घले नेतृत्वको समिति बैठकमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष बद्री केसी, पूर्व अध्यक्षहरु जीवा लामिछाने,भवन भट्ट, कुमार पन्त संस्थापक सदस्य रामप्रताव थापा लगायत सहभागी छैनन्।
अध्यक्ष केसीले पूर्व अध्यक्ष घलेले उच्चस्तरीय समितिको नाममा पहिलो फैसलालाई मात्र आधार मानेको तर दोश्रो फैसलालाई स्विकार्न नसक्दा समस्या नभएको बताए।
संस्थापक अध्यक्ष सहितका अन्य पूर्व अध्यक्षहरु समेत बैठकमा सहभागि नहुनूले एनआरएनएको अधिवेशन अक्टोबरमा हुने विषयमा कुनै विवाद नरहेको प्रस्ट हुने केसीको दाबी छ।
'एआरएएनलाई यहाँसम्म ल्याइपुर्याउने परिकल्पनाकारहरुको सुझावलाई बेवास्ता गर्ने काम भइरहेको छ। तर हामी उहाहरुकै मार्गनिर्देषनमा चलेका छौं। हाम्रो शक्ती भनेको यही हो,' उनल भने,'हामीले क्षेत्रिय भेलाहरु गरिरहेका छौ।थाइल्याण्ड,कम्बोडिया र माल्टामा हुने हाम्रा सम्मेलनहरुले एनआएनए एकताको सन्देश दिन्छन्।'
मार्च १५ र १६ मा थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना हुदैछ भने १८–१९ मार्च २०२५ मा कम्बोडियाको नामपेन्हमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ।त्यस्तै गैरआवासीय नेपाली संघको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन मार्च २८ देखि माल्टामा हुदैछ।
सबै सम्मेलनहरु अक्टोबरमा हुने १२ औं महाधिवेशनको तयारी रहेको उनले बताए।