कम्बोडियामा हुने एनआरएनएको १० औं एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलनको सबै तयारी सकिएको छ । यही मार्च १८ देखि शुरु हुने सम्मेलनको तयारी सकिएको एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराईले जानकारी दिए।
'हामीले एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘संगम’ भनेका छौं,' उनले भने, 'कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्वअध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्तालाई एउटै थलोमा राखेर एनआरएनएमा देखिएको विवादलाई मिलाउने एसिया प्यासिफिको उद्धेश्य छ।'
उनले सम्मेलनबाट विश्वमा रहेको ८० लाख नेपालको भावनालाई पूरा गरेर एसिया प्यासिफिकबाट संगम र एकताको सन्देश दिने बताए।
'जसबाट समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग लगायत विषयमा छलफल गरिनेछ,' उनले भने।
नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता विषयमा पनि छलफल गरिनेछ।
सम्मेलनमा ३५ देशका ३ सय भन्दा बढि सहभागी हुनेछन्।