नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आफू कार्यरत कम्पनीमा मृत भेटिएका छन्।
बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत फेला परेका हुन्। उनी यूएईस्थित फाइब्रेक्स कन्स्ट्रक्सन ग्रुपमा कार्यरत थिए।
मृतकका भाइ हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत् घटनाको जानकारी पाएको बताए। मृतक तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए। पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन्।
हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए। अन्तिमपटक घटनाको एक साताअघि दाइसँग आफ्नो कुरा भएको हरिहरले बताए।