गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले कोरियाली नयाँ वर्षको अवसरमा कोरियाको राजधानी सउलमा आयोजित कार्यक्रममा नेपाली समुदायलाई सहजीकरण गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ।
एनआरएनए एनसिसी कोरियाले 'बुद्ध वज बर्न इन नेपाल' अभियान कार्यक्रमलाई पनि अघि बढाएको हो।
एनआरएनए एनसिसी कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले एनआरएनए दक्षिण कोरियाले नेपालको पर्यटन प्रवर्द्धन र प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए।
साथै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देशमुलक अभियानलाई थप सशक्त बनाउँदै लैजाने उल्लेख गरे। यो अभियानमा कुटनीतिक नियोग तथा नेपाल सरकार पनि जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे।
वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले गौतम बुद्ध नेपालमा जन्मिएको विषयमा कोरियाली समुदायलाई स्पष्ट पार्न यो अभियान महत्त्वपूर्ण भएको बताए।
अभियानमार्फत कोरियाली बौद्ध अनुयायीहरूलाई नेपाल भ्रमण गराउने र नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने उद्देश्य रहेको बताए।
एनआरएनए एनसिसी कोरियाका युवा तथा विद्यार्थी संयोजक अजय सोडारीले हाल एनआरएनएका संस्थाहरूमा आएको विभाजन, असमझदारी र आन्तरिक कलहका कारण विदेशमा रहेका नेपालीहरूको हकहितको वकालत, पर्यटन प्रवर्द्धन र लगानी प्रवर्द्धनका क्षेत्रमा प्रभावकारी काम हुन नसकेको बताए।