गैरआवासीय नेपाली संघ (एनआरएनए) उपमहासचिव सोम सापकोटाले एनआरएनए पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन गराउने भन्दै समन्वय बिना मिति तोक्नु उपयुक्त नभएको बताएका छन्।
उपमहासचिव सापकोटाले घलेले उच्चस्तरीय समिति गठन गरेको भने पनि समितिका सदस्यहरूबीच नै सहमत हुन नसकेको बताए।
'हामी शेष घले दाईको निर्णय स्वीकार गर्दैनौं। अक्टोबरमा महाधिवेशन गर्छौं,' उनले भने।
छलफल गरेर निष्कर्ष निकालेर अघि बढ्न शेष घले पक्षलाई पनि उनले आग्रह गरे।
घले नेतृत्वको उच्चस्तरीय समितिले भने सबै देशमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी)हरूलाई सर्कुलर पठाइसकेको जनाएको छ।
उक्त समितिले मार्च १ देखि १५ मार्चभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने भन्दै एकताको केन्द्रीय महाधिवेशन मे ३ देखि ५ सम्म हुने जनाएको छ।
एनआरएनए कार्यसमितिले भने विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ तारिखसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
१०औं महाधिवेशन यता एनआरएनएका पदाधिकारीहरू दुई पक्षमा बाँडिएर विवाद गरिरहेका छन्।