गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकता महाधिवेशन गराउने भन्दै त्यसको तयारी गरेका छन्।
आइतबार सम्पन्न समितिको पाँचौं बैठकबाट कार्यविधि पारित भएअनुसार घले नेतृत्वको उच्चस्तरीय समितिले सबै देशमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुलाई सर्कुलर पठाउँदै आवश्यक निर्देशन दिएको छ।
घले नेतृत्वको उच्चस्तरीय समितिले एनसिसीले मार्च १ देखि १५ मार्चभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने भन्दै एकताको केन्द्रीय महाधिवेशन मे ३ देखि ५ सम्म हुने जनाएको छ। केन्द्रीय महाधिवेशनमा सहभागी हुन इच्छुकका लागि समितिले मार्च १६ देखि ३१ सम्म दर्ता आवेदन खोल्ने जनाइएको छ।
उच्चस्तरीय समितिले एनआरएन समन्वय उपसमिति, कार्यविधि (टीओआर) तयारी समिति, सचिवालय समिति, अन्तर्राष्ट्रिय महाधिवेशन मूल तयारी समिति, एनसिसी महाधिवेशन समन्वय उपसमिति, निर्वाचन अनुगमन उपसमिति, सदस्यता तथा प्रतिनिधि छनोट समिति, निर्वाचन समिति, विधान तयारी समिति, आर्थिक समिति र प्रचार-प्रचार समिति बनाएको जानकारी गराइएको छ।
सर्कुलरमा उच्चस्तरीय समितिद्वारा पारित टीओआरसमेत पठाइएको छ।
त्यसमा निर्दिष्ट समय तालिका बमोजिम काम गर्न अनुरोधसहित सबैको भावना अनुसारको एकतावद्ध एनआरएनए निर्माण गर्न कटिवद्ध रहने सर्कुलरमा उल्लेख गरिएको छ।
कार्यविधिमा भौतिक रुपमा काठमाडौँमा नै महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने सदस्यता दर्ता, नवीकरण र विवाद समाधानसम्बन्धी सबै विषय पारदर्शीरुपमा टुंग्याउने उल्लेख छ।
गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनको समयसम्म सदस्यता लिएका सदस्यहरुले सदस्यता नवीकरणका लागि १ फेब्रुअरीदेखि २७ फेब्रुअरीसम्ममा समितिमा आवेदन दिनुपर्ने समेत कार्यविधिमा भनिएको छ।