अस्ट्रेलियाका विभिन्न राज्यमा गरी एक वर्षमा २४ सयभन्दा धेरैले पासपोर्ट नविकरण गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र नेपाली दूतावासको सहकार्यमा आयोजित पासपोर्ट घुम्ती शिविरमा २ हजार ४ सय २६ जनाले सेवा लिएका हुन्।
एनआरएनए अस्ट्रेलियाका अनुसार पर्थमा गरिएको पासपोर्ट घुम्ती शिविरमा ५ सय ४१ जनाले पासपोर्ट नविकरण गरेका थिए। पर्थमा गत वर्षको २० देखि २६ फेब्रुअरीमा पासपोर्ट घुम्ती शिविर आयोजना भएको थियो।
त्यस्तै, अप्रिल ५ देखि १० तारिखमा एडिलेडमा गरिएको शिविरबाट ६ सय ३ जना, अगष्टको १९ देखि २३ सम्म ब्रिसबेनमा गरिएको शिविरबाट ४ सय ५० जना, डिसेम्बर ५ देखि ८ तारिख डार्विनमा गरिएको शिविरबाट ३ सय ३३ जना र १४ देखि १८ जनवरी २०२५ मा तास्मानिया राज्यमा गरिएको शिविरबाट ५ सय जना लाभान्वित भएका थिए।
घुम्ती शिविरका कारण लाखौं डलर बचत भएको र क्यानेबरा आउने जाने दुःख समेत कम भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले दाबी गरे।
उनले पासपोर्ट घुम्ती शिविरमा खटिने कर्मचारी र स्वयमसेवकलाई धन्यवाद समेत दिएका छन्।
'हामीले सेवाग्राहीबाट २५ देखि ७० डलरसम्म सहयोग संकलन गरेर यस्ता शिविरमा आइपर्ने खर्चहरूको व्यवस्थापन गरेका छौं। कायक्रमका लागि संकलित रकम बचत भएमा त्यस्तो रकम सामाजिक र परोपकारी कार्यमा खर्च गर्छौं, ' एनआरएनए अध्यक्ष पोखरेलले भने,'कार्यक्रमबाट बचत भएको रकम एनआरएनए अस्ट्रेलियाको खातामा जम्मा गरिएको छ। स्वयंसेवक सेवा यो खर्चमा जोडिएको छैन।'
नेपाली दूतावासमा जनशक्ति र बजेटको अभावका कारण यस्ता शिविरमा जाँदा समेत त्यहाँका कर्मचारीहरूको हवाई टिकट, आवास तथा अन्य खर्चको समेत व्यवस्थापन सेवाग्राहीबाट संकलित रकमबाट नै हुँदै आएको पनि अध्यक्ष पोखरेलले बताए।
एकातिर पासपोर्टका घुम्ती शिविरहरूको आयोजनाले दूतावास र गैरआवासीय नेपाली संघको सहकार्य रहेको प्रष्ट्याएको र अर्कोतिर समुदायलाई अत्यन्त जरूरी भएको सेवा समेत प्रवाह गरेको उनको भनाइ छ।