अस्ट्रेलियाको मेलवर्नमा मार्च १५ मा नेपाल फेस्टिभल हुने भएको छ।
नेपाली कला र संस्कृतिको जर्गेना तथा प्रचार प्रसार गर्ने उद्देश्यले अस्ट्र्रेलियाका विभिन्न राज्यमा नेपाल फेस्टिभलको आयोजना हुँदै आएको छ।
मेलवर्नमा नेपाल फेस्टिभलमा ३५ देखि ४० हजार मानिसको सहभागिता हुने अपेक्षा गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले सेतोपाटीलाई जानकारी दिए।
भिक्टोरियामा छरिएर रहेका नेपालीलाई एक ठाउँमा ल्याउन अनि दोस्रो पुस्ताका नेपालीलाई नेपालबारे चिनाउन नेपाल फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
'बिहान नेपाली संस्कृति झल्किने गरी परेड हुन्छ। जसमा विभिन्न जातीय र क्षेत्रीय पहिचानका झाकीहरू समेत प्रस्तुत हुन्छ,' उनले भने, 'दिउँसो औपचारिक कार्यक्रम हुन्छ भने साँझ राष्ट्रिय ख्याति प्राप्त गायकहरूले आफ्नो प्रस्तुति दिन्छन्। त्यस्तै कन्दरा ब्याण्डको सांस्कृतिक कार्यक्रम हुन्छ।'
एनआरएनए भिक्टोरिया राज्यले गर्ने महोत्सवमा नेपाल चिनाउने विभिन्न खालका प्रदर्शनीहरू समेत हुनेछन्।
महोत्सवका लागि २ लाख २० हजार डलर खर्च हुने अनुमान रहेको एनआरएनए अस्ट्रेलियाका प्रवक्ता मिश्रले जानकारी दिए।
यसका लागि अस्ट्रेलियाको कमन वेल्थ बैंक बाहेक अरू सबै नेपाली समुदायका व्यावसायिक संस्थाको आर्थिक सहयोग रहेको उनले बताए। जसमा एक्सपर्ट एजुकेशन एण्ड भिसा, सल्भ एजुकेशन एण्ड माइग्रेसन, काठमाडौं प्रोपटिज, स्टुडेन्ट डेस्टिनी, सेन्ट्रल अस्ट्रेलियन कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन, म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिस, न्यु एजुकेशनल कन्सल्टेन्सी, भिरीकल माइग्रेशन एण्ड एजुकेशन,न्यु एजुकेशनल कन्सल्टेन्सी, एलाइन्स स्टेट एजेन्ट,रत्न ज्वेलर्स,बुद्ध टुर्स एण्ड ट्राभल्स छन्।
२००७ मा पहिलो पटक नेपाल फेस्टिभल भएको थियो। मार्च १५ मा फेडरेशन स्क्वायरमा हुने नेपाल महोत्सव सातौं संस्करण हो।