नेकपा (एकीकृत समाजवादी) वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी सरकारले हालै ल्याएको अध्यादेश पारित नहुने दाबी गरेका छन्।
प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले सिड्नीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले अध्यादेश गलत तरिकाले आएको हुनाले पास नहुने बताएका हुन्।
उनले नेपाली नागरिक भएर पनि स्वदेश आउन भिसा लिनुपर्ने विषय हास्यास्पद रहेको पनि बताए।
उनले आफू सदस्य रहेको राज्य व्यवस्था समितिमा पनि अध्यादेश प्रस्तुत हुने भएकोले त्यसमा खुलेर विरोध गर्ने समेत स्पस्ट पारे।
'म पनि सहभागी भएर बनाइएको गैर आवासीय नेपाली सम्वन्धी कानुनमा राजनीति बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने स्पष्ट उल्लेख भए पनि गलत बाटोबाट आएको यो अध्यादेश पारित हुने कुरै हुन्न,' उनले भने,' तपाईँहरु ढुक्क हुनु सत्ता साझेदार दलसमेत सहमति नभएको विधेयक पारित हुन्न।'
बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पाण्डेले विदेशमा रहने नेपालीलाई दलमा विभक्त भएर नबस्न आग्रह पनि गरे।
'विचार बोक्नुस्, सहयोग र सद्भाव राख्नुहोस्, तर विदेशमा बस्दा कम्तीमा दलीय रूपमा नभई नेपाली भएर बस्नुस्,' उनले भने,'यो मेरा आफ्नै साथीहरूलाई पनि विशेष आग्रह हो । तपाईंहरू सबै एकाकार भएर बस्नुभयो भने बल्ल गैरआवासीय नेपालीहरूको माग पूरा हुनुका साथै महत्त्व पनि बढ्छ।'
उनले उक्त अध्यादेशको विरोध गर्न पनि प्रवासी नेपालीलाई आग्रह गरेका छन्।
'सबै दलका विचार बोक्ने साथीहरुले आ-आफनो क्षेत्रबाट यो अध्यादेशको विरोध गर्नुहोस् र मौजुदा कानुन बमोजिमको अधिकार सम्पन्न नागरिकताको पैरवी गर्नुहोस अनि मात्र यसले सार्थकता पाउनेछ', उनले भने।
उनले एकैपटक नेपालाई अमेरिका र अस्ट्रेलिया बनाउन नसकिने बताए।
'विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आ-आफ्ना विशेषता छन्,' फरक प्रसंगमा उनले भने, 'एकैपटक नेपाललाई अमेरिका र अस्ट्रेलिया बनाउन सकिदैन र बन्दैन।'
पाण्डेले नेपालमा पछिल्लो समय धेरै प्रगति र उन्नति भएको जिकिर गरे।
राजनीतिक अस्थिरताले केहि पछि धकेलिनु र, भ्रष्ट अनि गैर जिम्मेवार कर्मचारीतन्त्रले गाँजे पनि स्रोत साधनको आधारमा केही न केही पक्कै भएको उनले बताए।
'होला, सोचेअनुरूप भएन होला । तर, सडक होस् या शिक्षा वा स्वास्थ्य – सबै क्षेत्र नेपाल पनि निकै अगाडि बढेको छ । अहिले गाउँगाउँमा सडक बनेका छन् । मेडिकल कलेज मात्र २५ वटा भइसके । विद्युत्कै कुरा गर्ने हो भने २५० मेगावाटबाट ३६ सयको हाराहारीमा उत्पादन भइसक्यो । बंगलादेश र भारतमा जति पनि बेच्न सकिने सम्भावना छ । आईटी क्षेत्रले सम्भावनाको ढोका खोलिदिएको छ,' उनले भने।
उनले रेमिट्यान्सले धानिएको मुलुकले प्रवासी नेपालीका बारेमा गम्भीर भएर सोच्ने बेला आएकोसमेत बताए
'कुनै पनि सीप सिकाएर मात्र कामदार पठाउन सके त्यसले महत्त्वपूर्ण सन्देश दिने र गम्भीर दुर्घटनाबाट बच्न सकिनेछ,'उनले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै एनएसडब्ल्यूका महावाणिज्यदूत सञ्जीव शर्माले काउन्सिलरलाई अधिकारसम्पन्न बनाइए अस्ट्रेलियाजस्तो ठूलो देशमा पासपोर्ट र अरू सरकारी कार्यमा कुनैपनि बाधा नहुने बताए।
उनले परराष्ट्रको नियमावलीले कतिपय सवालमा काम गर्न अप्ठ्यारो बनाएको भन्दै दक्ष कामदार र सुविधासम्पन्न कार्यालय भए पनि अधिकारप्राप्त नहुँदा बाधा उत्पन्न भएको बताए।
'परराष्ट्रको नियमावलीले कतिपय सवालमा काम गर्न अप्ठ्यारो बनाएको छ ,हामीसँग दक्ष कामदार र सुविधासम्पन्न कार्यालय छन्। अधिकार दिने हो भने हामी सबै कार्य गर्न सक्षम छौ', उनले भने।
कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, अन्तर्राष्ट्रिय नेपाली एकता मञ्चका अध्यक्ष ध्रुव सुवेदी, एनआरएनका सल्लाहकार दिनेश जोशी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्षहरू सुरेन्द्र सिग्देल, नन्द गुरुङ लगायतको उपस्थिति थियो।