अस्ट्रेलियाको तासमानिया राज्यमा नेपाल फेस्टिबलको आयोजना हुने भएको छ।
नेपाली कला र संस्कृतिको जर्गेना तथा प्रचार प्रसार गर्ने उद्देश्यले अस्ट्र्रेलियाका विभिन्न राज्यहरुमा नेपाल फेस्टिबलको आयोजना हुँदैं आएको छ। गैरआवासिय नेपाली संघ तासमानिया राज्यले गर्ने फेस्टिबल २९ मार्च अर्थात चैत १६ गते बिहान १० बजे पदयात्रबाट सुरु हुनेछ।
फेस्टिभलको समापना आतिसबाजीबाट गर्ने तयारी भएको एनआरएनए तासमानियाका अध्यक्ष जगदिश खड्काले जानकारी दिए। यो पटकको फेस्टिभलमा गाईजात्रामा भक्तपुरमा नाचिने घिन्तांग घिसी नाच प्रर्दशन हुने छ। उनले इन्द्रजात्रामा नाचिने पुलु किसी नाच पनि फेस्टिभलको आकर्षणको केन्द्र हुने दाबी गरे।
फेस्टिभलमा तासमानिया राज्यका प्रिमियर, सांसद तथा अस्टेलीयका लागि नेपाली राजदुतको समेत सहभागिता रहने बताइएको छ। मेलामा १५ भन्दा धेरै स्टलहरु रहनेछन्।
जसमा ८ भन्दा धेरै नेपाली खानाको स्टलहरु रहने एनआरएनए तासमनियाका युथ कोअर्डिनेटर अनिल ढकालले जानकारी दिए।
फेस्टिभलमा कन्दारा ब्यान्ड र समीक्षा अधिकारीले सांस्कृतिक प्रस्तुति दिनेछन् । फेस्टिभलमा करिब १० हजारभन्दा धेरैले अवलोकन गर्ने आकलन गरिएको छ।
तासमानियामा नेपाली भाषी भुटानीहरुकोसमेत बाक्लो उपस्थिती रहेकाले उनीहरुको कला तथा संस्कृति झल्किने प्रस्तुति समेत रहने आयोजकले बताएको छ।
अस्ट्रेलियाका अधिकांश राज्य तथा टेरिटोरीले प्रत्येक दुई/दुई वर्षमा नेपाल फेस्टिभलको आयोजना गर्दै आएको छ।