गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग भेटघाट गरेको छ।
उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायत बीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा अन्तरक्रिया भएको थियो।
उक्त अवसरमा संघका अध्यक्ष बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्याइरहेको योगदान लगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समयमा गरेको सहयोगबारे जानकारी गराए।
नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष केसीले उल्लेख गरे।
यससँगै उपाध्यक्ष डा. बिनोद श्रेष्ठले अस्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए।
यस्तै उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका ब्रिटिस गोर्खाको मुद्दा स्मरण गराउँदै नेपाल र बेलायत सरकारको उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
उनले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले काम गरिरहेको बताइन्।
भेटमा राजदूत रोब फेनले युवाहरूका लागि रोजगारी सिर्जना र अवसरहरूमा जोड दिँदै नेपाल र बेलायतबीचको सहकार्य प्रगाढ बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।
प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि महत्वपूर्ण रहेको भन्दै उनले यथेष्ट लगानी नेपालमा भित्रिन नसक्नुको कारणबारे खोजी गरी बढीभन्दा बढी लगानी भित्र्याउन जोड दिनुपर्ने बताए।
उनले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास व्यक्त गरे।
उक्त भेटमा संघका सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति थियो।