ग्लोबल नेपाली
संसारभरका विद्यार्थीका लागि उत्कृष्ट सहरहरूमध्ये मेलवर्न पनि एक हो। त्यसैले यो सहर नेपालीहरूको रोजाइमा नपर्ने कुरै भएन। भिक्टोरिया राज्यका अधिकांश गाडीहरूमा समेत एजुकेसन स्टेट भनेर लेखिएको हुन्छ। यसले के बताउँछ भने अस्ट्रेलियाभरमै मेलवर्न उच्च शिक्षाको लागि हब हो।
यही सहरमा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा सन् २०१२ मा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्नको लागि श्रीमती ज्योति सिम्खडासँगै ९ महिनाकी छोरी लिएर निराजन गौली पनि आएका थिए।
उनै गौली अहिले भिक्टोरियाका लागि वाणिज्यदूत बनेका छन्। यो आफैमा कुनै कार्यकारी पद होइन तर अस्थायी र स्थायी गरेर ६५ हजारको हाराहारीमा नेपाली बस्ने राज्यका लागि उनी नेपालको प्रतिनिधि हुन्। यसको अर्थ के हो भने उनले यहाँ रहेका नेपालीको समस्या समाधान गर्नको लागि पहल गर्न सहयोगीको भूमिका खेल्न सक्छन्।
‘नेपाल सरकार र अस्ट्रेलिया सरकारको सेतुको रूपमा कहीँ न कहीँ काम गर्न सकिन्छ कि भन्ने अपेक्षा छ। नेपाली समुदाय भिक्टोरियामा ठूलो भइसकेको छ,’ उनले भने, ‘समुदायलाई कुनै तरिकाले यहाँको सरकारसँग जोड्ने र यहाँ रहेका समस्या समाधानका लागि सहयोगी बन्न सकिन्छ कि भन्ने लागेको छ।’
आफ्नो कार्यकालमा केही नयाँ गर्न सकिन्छ कि भन्ने हुटहुटी रहेको उनले बताए। अस्ट्रेलिया आएर ग्राउण्डदेखि नै काम गरेकाले यहाँ आउने नयाँ विद्यार्थीका समस्या आफूले महसुस गर्न सक्ने उनको तर्क छ।
‘सुरूआती दिनमा मैले पनि रेष्टुरेन्टमै काम गरेर मास्टर्स सकेको हो। हुन त आफ्नो समय सबैलाई गाह्रो हुन्छ,’ उनले भने, ‘त्यो बेला इन्जिनियरिङ क्षेत्रमा काम पाउन अझै गाह्रो थियो भन्ने लाग्छ। म २०१५ देखि अस्ट्रेलियामा इन्जिनियरको रूपमा काम सुरू गरेको हो।’
इन्जिनियरिङको पढाइ सकेपछि पनि १० महिनासम्म विभिन्न प्रक्रियामा भौंतारिएपछि मात्रै काउन्सिलको काम पाएको उनी बताउँछन्। नेपालमै रहेर सरकारी क्षेत्रमा अनि एसियाली विकास बैंकको विभिन्न प्रोजेक्टमा काम गरेका गौलीलाई यहाँ आएपछिको काम गर्ने तरिकाहरू भने स्वाभाविक रूपमै भिन्न लाग्ने भयो।
‘मैले नेपालमा पनि रोड, झोलुङ्गे पुल लगायतका क्षेत्रमा काम गरेँ। तर मुख्य प्रोजेक्ट रोड कन्स्ट्रक्सन र पुलकै काम गरेको हो,’ उनले भने, ‘बागलुङ र गोरखामा अलि धेरै काम गरेको थिएँ। नेपालमै गरेको क्षेत्रमा काम गरेको भए पनि ठाउँअनुसार त्यो नयाँ लाग्ने त भइहाल्यो।’
अस्ट्रेलियामा काउन्सिलले बनाउने रोड लगायतका पूर्वाधार निर्माणमा उनले काम गरे।
भिक्टोरियाको वाणिज्यदूतका रूपमा उनको कामबाट लाभान्वित हुने नेपाली समुदाय नै हो। आफूले पाएको जिम्मेवारीलाई उनले कसरी समुदायमा प्रयोग गर्छन् भन्ने महत्वपूर्ण हो। यो यस्तो पद हो जसको अधिकारभन्दा जिम्मेवारी धेरै हुन्छ। किनकि यो लाभको पद होइन। यसका बाबजुद समुदायमा काम गर्नु चुनौतीपूर्ण पक्कै हुन्छ।
‘मैले नेपालमा रहँदा पनि समुदायसँग मिलेर काम गरेको छु। अस्ट्रेलिया आएपछि समेत एनआरएनए भिक्टोरियामा आबद्ध भएर सामुदायिक गतिविधिमा आबद्ध भएको छु,’ उनले भने, ‘पछिल्लो समय मैले अस्ट्रेलिया नेपाल पब्लिक लिंक भन्ने संस्थाको नेतृत्व पनि गरेँ। त्यसले मलाई समुदायसँग जोडिएर काम गर्न थप सहयोग गर्यो।’
अस्ट्रेलिया नेपाल पब्लिक लिंक मार्फत् उनले मानसिक स्वास्थ्य र रोड सुरक्षाको क्षेत्रमा काम गर्दै आएका छन्। सामाजिक गतिविधिमा दिएको निरन्तरताकै कारण वाणिज्यदूतमा दाबी गरेको र त्यसकै आधारमा सरकारले जिम्मेवारी दिएको समेत उनले बताए।
उनलाई असार ७ गते तत्कालीन प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वाणिज्यदूत नियुक्त गरेको हो।
विशेष गरेर वाणिज्यदूतको कार्यालयले गर्ने भनेको नेपाल जान चाहने अस्ट्रेलियन समुदायको भिसाको लागि सहयोग गर्ने हो। त्यो समुदाय नेपाली भाषी पनि हुन्छन्। उनीहरूको लागि डकुमेन्ट भेरिफिकेसन गर्ने र त्यसको लागि सहजीकरण गर्ने काम यहाँबाट हुन्छ। त्यस्तै, भिक्टोरियन सरकारसँग ट्रेड र टुरिजमको क्षेत्रमा काम गर्ने जिम्मेवारी पनि यो कार्यालयलाई छ। त्यसबाहेक उनले केही नयाँ कामका लागि सहजीकरण गर्न सकिन्छ कि भनेर सोच बनाएका छन्।
‘नेपाली समुदायको लागि पासपोर्ट बनाउन राजधानी क्यानभेरा जान पर्ने अथवा नेपाल गएको बेला बनाउन पर्ने अवस्था छ,’ उनले भने,‘कम्तीमा पनि भिक्टोरियामा भएका नेपालीहरूले पासपोर्ट लागि चाहिने डकुमेन्ट संकलन गर्न पाउने व्यवस्था भयो भने सजिलो हुन्छ कि भन्ने लाग्छ। त्यसको लागि नेपाल सरकारसँग कुरा गर्न सकिन्छ कि भन्ने हो।’
त्यस्तै, अस्ट्रेलियाबाट नेपाल जाँदा ५ महिना मात्रै भिसा दिइने नियम रहेको र त्यो समय बढाउन परेमा भिसा प्रक्रिया झन्झटिलो हुने उनले बताए। यसलाई परिवर्तन गर्न लबिङको जरूरी रहेको उनको बुझाइ छ। विशेष गरेर बच्चाहरूलाई केही समय नेपाल छोड्न पर्दा यस्तो समस्या आउने उनले बताए। बच्चाहरूलाई सहज तरिकाले आफ्ना अभिभावकको जिम्मामा केही समय नेपाल छोड्न पाए उनीहरूलाई नेपालसँग जोड्न सजिलो हुने गौलीको तर्क छ।
नेपालबाट अस्ट्रेलिया आएका विद्यार्थीहरूले एक्लोपना, मानसिक स्वास्थ्य समस्या, ग्याम्बलिङको समस्या, काम गर्ने अधिकार, सडक सुरक्षा लगायतका समस्या भोगेका हुन्छन्। यस्ता समस्या समाधानका लागि समेत आफूले सक्दो काम गर्ने उनले बताए।
‘नेपाल र यहाँको सडकको प्रकृति फरक छ। हामीले यस्ता विषयमा कम्तीमा केही सचेत बनाउन सक्यौं भने राम्रो हुन्छ भन्ने हो,’ उनले भने, ‘कुनै पनि समस्यामा परेको विद्यार्थीको लागि अफिसले धेरै गर्न नसके पनि विद्यार्थीलाई सही बाटो देखाउन प्रयास गर्छ।’
विद्यार्थी तथा आप्रवासी कामदारका समस्या समाधानमा सहयोगका लागि भिक्टोरियामा रहेका विभिन्न संघसंस्थासँग सहकार्यका लागि पहल गर्न प्रयास गर्ने उनले बताए।