ग्लोबल नेपाली
स्कुलमा शिक्षकले पढाउँदा समेत गाडीको स्केच बनाएर बस्दा सिद्धार्थ काजामीले धेरै पटक गाली खाएका छन्। त्यो गाली खाएर राम्रै भएछ भन्ने उनलाई लाग्छ। किनकि अहिले उनी विश्वमै प्रमुख गाडी कम्पनी मध्येको टोयोटा कम्पनीको गाडी डिजाइन गर्ने ठाउँमा छन्।
एक वर्षदेखि टोयोटा अस्ट्रेलियामा काम गरिरहेका सिद्धार्थले मेलवर्नको क्याफेमा बसेर आफ्नो विगतलाई सम्झिँदा उनलाई कुनै पछुतो छैन। बरू गर्व लाग्छ।
‘मेरो त सानै देखिको सौख नै गाडीको डिजाइन गर्ने हो। जुन काम मैले अहिले गरिरहेको छु। धेरै पटक शिक्षकको गाली खाएकोमा मलाई गर्व लाग्छ,’ उनले भने, ‘कुनै पनि काममा एकोहोरो लाग्यो भने सफल भइन्छ। मैले आफ्नो सौखको काम पनि गरिरहेको छु अनि पैसा पनि कमाइरहेको छु।’
सिद्धार्थ कसरी यो ठाउँमा आइपुगे, यसका लागि उनले कतिको संघर्ष गर्नुपर्यो?
३३ वर्षीय सिद्धार्थले यसको पहिलो श्रेय आफ्नो परिवारलाई दिन्छन्। बुवाआमाको साथ नपाएको भए यो ठाउँमा पुग्न कठिन हुने उनले बताए। सिद्धार्थका बुवा र आमाको अन्तरदेशीय बिहे भएको हो। बुवा नेपाली हुन् भने आमा जापानिज।
सिद्धार्थका बुवा राजेन्द्र शाक्य पर्यटन व्यवसायी हुन्। उनी मूर्ति र चित्र समेत बनाउँछन्। सिद्धार्थकी आमा जुनको काजामी घुम्न रूचाउँथिन्। प्रकृतिसँग रमाउने आमाको इच्छा अनि प्राकृतिक दृष्यको अवलोकन गराउने बुवाको व्यवसायकै कारण दुईको भेट भयो अनि सम्बन्ध बिहेमा परिणत भयो।
‘बुवा आमाको सोचाइ फराकिलो भएकै कारण मैले स्वतन्त्रपूर्वक आफूले चाहेको पेसा रोज्न पाएको हो। मलाई जहिले पनि बुवाले आफूले चाहेको काम गर्नुपर्छ भन्नुहुन्थ्यो। जापानदेखि आएर नेपालीसँग बिहे गर्ने आमाको सोचाइ पनि उत्तिकै फराकिलो थियो।’
सन् २०१० मा सिद्धार्थले १२ पास गरेपछि गाडी डिजाइनिङ पढ्न चाहेका थिए। त्यसको लागि कोसिस गरे तर कतै पाएनन्। अमेरिका, फ्रान्स, बेलायत जस्ता देशमा धेरै महँगो थियो। त्यहाँ खर्च गर्न नसक्ने भएपछि उनी काठमाडौं विश्वविद्यालयमा आर्ट एण्ड डिजाइनमा भर्ना भए। त्यहाँ पढे पनि उनको ध्यान भने गाडी डिजाइनमै थियो।
‘म किन चित्र बनाएर बसिरहेको छु, यो मेरो इच्छा होइन भन्ने लागिरहेको थियो। त्यही बेलामा भारतको पुणेमा अटोमोटिभ डिजाइनिङको पढाइ हुने विज्ञापन देखेपछि बुवासँग सल्लाह गरे।बुवा र म पुणे गयौं। त्यसपछि मैले उतै पढ्ने निर्णय गरेँ,’ उनले भने।
त्यहाँ गएपछि भने काठमाडौं विश्वविद्यालयमा एक वर्ष पढेको काम लाग्यो। त्यसकै आधारमा उनले परीक्षा दिए अनि ५ वर्षको कोर्ष ४ वर्ष पढे पुग्ने भयो। साढे ३ वर्ष पुणेको डिएसके स्कुलमा पढेपछि उनले ६ महिना अस्ट्रेलियाको फोर्ड कम्पनीमा इन्टर्नसीप गरे। ६ महिनाको इन्टर्नसीपपछि उनी भारत गए। संयोग नै भन्नुपर्छ जुन दिन उनको ग्र्याजुएसन थियो, त्यही दिन फोर्ड अस्ट्रेलियाले जागिरको लागि प्रस्ताव गर्यो। उनी भारतबाट अस्ट्रेलिया फर्किए। जुन ठाउँमा इन्टर्न गरे त्यहीँबाट जागिरको सुरूआत भयो। सन् २०१५ नोभेम्बरदेखि फोर्डमा आबद्ध भएका सिद्धार्थ एक वर्षदेखि भने टोयोटामा छन्।
‘हामीले धेरै खालका गाडीको डिजाइन गर्छौं। पहिला फोर्डमा हुँदा पनि गरेको हो र अहिले टोयोटामा पनि गरिएको छ। मैले ८/९ वर्ष फोर्डमा काम गर्दा तीन खाले गाडीको डिजाइनमा काम गर्न पाएँ,’ उनले भने, ‘त्यो सबै चीनको मार्केटको लागि बनेको गाडी हो। चीनबाहेक अन्य देशमा गएको भए पनि मुख्यत चीनका लागि बनाइएको थियो।’
उनीसहित उनको टिमले गर्ने भनेको गाडीको बाहिरी भागको डिजाइन हो। गाडीको हेडलाइनदेखि गाडीको बम्पर चक्का, स्टेरिङ लगायत सबै डिजाइन गरिन्छ।
‘मैले सुरूमा गाडीको चक्काबाट डिजाइन सुरू गरेको हो। त्यसपछि हेडलाइट बम्पर, बम्पर साइड हुँदै सबै भागको डिजाइन गरेँ,’ उनले भने, ‘काम गर्दा सुरूमा धेरै आइडिया भए पनि अनुभव हुँदैन। त्यसैले सुरूआतमा सानो सानो पार्टको डिजाइन गर्नुपर्छ। मैले जुन काम गरेको छु म यसमा सन्तुष्ट छु। यसले मलाई सन्तुष्टि दिएको छ।’
गाडी डिजाइनको काम चुनौतीपूर्ण छ। हुन त चुनौती कहाँ छैन र? तर पनि मान्छेको जीवनसँग जोडिएको हुनाले यो काम अझै चुनौतीपूर्ण रहेको उनको बुझाइ छ। गाडी डिजाइन गर्ने आफ्नै नियम र तरिका छन् अनि विश्वसनीयताको कुरा पनि।
‘गाडीको डिजाइन गर्दा पहिलो सडक सुरक्षा नै हो। त्यस्तै बजेट कति छ त्यसको आधारमा समेत हुन्छ। हरेक दिन डिजाइनको लागि इन्जिनियरसँग अनि कम्पनीको नेतृत्व गर्नेहरूसँग समेत कुराकानी भइरहन्छ,’ उनले भने, ‘कुन तरिकाले डिजाइन गर्ने अनि के गर्यो भने सस्तो र बलियो बनाउन मिल्छ भनेर समेत छलफल हुन्छ।’
गाडी डिजाइनिङमा अवसर रहेकाले यसको अध्ययन गर्न समेत उनले सुझाव दिएका छन्। तर यसका लागि आफ्नो लगाव र सौख पनि उत्तिकै हुनुपर्ने उनको बुझाइ छ।
‘गाडी डिजाइन गर्नेहरूका लागि नेपालमा अवसर नभए पनि विदेशमा अवसर छ। जसलाई गाडी मन पर्छ अनि डिजाइन गर्न मन पर्छ उनीहरूको लागि राम्रो छ। हामी एउटा चित्रकार जस्तो पनि हो तर यो अलि फरक छ,’ उनले भने, ‘किनकि यसमा धेरै चुनौती छ। सँगै सन्तुष्टि पनि छ। किनकि बाटोमा आफूले डिजाइन गरेको गाडी देख्दा त्यसले दिने सन्तुष्टि अर्कै हुन्छ।’
उनी स्वयमले पनि आफूले डिजाइन गरेको गाडी सडकमा गुडेको देख्न पाएका छैनन्। अब नेपालमै गएपछि हेर्ने इच्छा छ।
गाडीको डिजाइन भन्नसाथ भित्री र बाहिरी दुवै हुने उनले बताए। साथै दुवै डिजाइनिङको महत्व पनि उत्तिकै छ। मान्छेले गाडी हेर्दा कसरी उसको ध्यान तान्छ अनि कस्ता कुरालाई ख्याल गर्छ भनेर गाडीको डिजाइन गर्नुपर्छ।
‘गाडीलाई बलियो अनि राम्रो दुवै देखाउन पर्छ। हामीले लक्षित समूह बुझ्न सक्नुपर्छ। ग्राहकको उमेर, पारिवारिकको स्थिति, भूगोल लगायतमा ध्यान दिनुपर्छ। त्यस्तै गाडीलाई प्रविधि मैत्री बनाउने कुरा त छँदैछ। देश अनुसारको अनि सडक अनुसारको गाडी डिजाइन गर्नुपर्छ। जस्तो: नेपालमा फरक खालका सडक छन्। कतै राम्रो खालको सडक अनि कतै खाल्डाखुल्डी भिरालो छ। यसलाई आधार मानेर गाडी डिजाइन गर्नुपर्छ।’
यसो भन्दै गर्दा उनलाई नेपालमा पनि आफूले डिजाइन गरेका गाडी जाने प्रसंग आयो। सुरूमा उनले यसबारे बताउन चाहेका थिएनन्। किनकि कतिपय संस्थागत गोपनीयता र विश्वसनीयताका कुरा हुन्छन्। उनले नेपालमा आफूले डिजाइन गरेको गाडी जाने बताए तर विस्तृतमा बताउन चाहेनन्।
‘मेरो टिमले बनाएको गाडी नेपाल जाँदैछ भन्ने सुनेको छु। यो गाडी कस्तो मोडलको छ भनेर मैले भन्न सक्दिनँ। मैले थाहा पाए अनुसार १ देखि ३ वर्षभित्र हामीले डिजाइन गरेको टोयोटा कम्पनीको गाडी नेपाल जाँदैछ,’ उनले भने।
फोर्डमा काम गर्दा र टोयोटामा काम गर्दाको जिम्मेवारी उनको फरक छ।
‘फोर्डमा म डिजाइनर थिएँ जहाँ मलाई मेरो म्यानेजरले यस्तो गाडी डिजाइन गर भन्नुहुन्थ्यो अहिले टोयोटामा म लिड डिजाइनरमा हो। हाम्रो टिम हुन्छ। म म्यानेजर त होइन तर मैले प्रोग्रामको लिड गर्नुपर्छ। मेरो डिजाइनरलाई मैले यसरी गरौं भन्छु त्यसपछि म्यानेजरलाई देखाउँछु,’ उनले भने।
अबको पुस्तालाई कस्तो गाडी डिजाइन गर्ने भन्ने जिम्मेवारी समेत उनलाई आउँछ। उनले त्यसको आधारमा डिजाइन गर्छन् अनि आफूभन्दा माथि पठाउँछन्। यो पेसामा आकर्षक आम्दानी नभए पनि उनी सन्तुष्ट छन्। किनकि यो उनको भित्रैदेखिको चाहना हो। सुरूआती दिनमा वार्षिक ५० देखि ६० हजारसम्म अस्ट्रेलियन डलर कमाउने सिद्धार्थले अहिले वार्षिक १ देखि १ लाख ५० हजार डलरसम्म कमाइरहेका छन्।