अस्ताए मणि, छायो अध्यारो

जसको कथासँग जोडिएको फुटबलको गाथा


उनी साच्चीकै नेपाली फुटबलका मणि थिए। उनको खेल गाथा बिना नेपाली फुटबलको कथा पनि अधुरो हुन्छ, अपुरो हुन्छ।

होचो कद र साइबाबाको कपालसँगै उनको देब्रे खुट्टामा जादुनै थियो। गज्जबको बल कन्ट्रोल अनि पासिङ र ड्रीबलीङ। स्ट्राइकिङ लाइन छाडेर जब उनी मिडफील्डको पोजिसनमा देखा परे तब उनको चर्चा चुलियो। हरेक खेलमा उनकै वर्णन सुनिन्थ्यो।

दायाँसँगै बायाँ खुट्टा पनि चलाउने शाहको अर्को बिशेषता थियो- फ्री कीक। डि बक्स वरपरका फ्रीकीकलाई जाली चुमाउने विषयमा उनी कहिलै चुकेनन्।

टिममा गणेश थापा हुन् या उमेश प्रधान। तर, मणिको सटिक पास बिना गोल सम्भव थिएन। सानै उमेरमा घरेलु प्रभावले खेलकुदमा होमिएका मणि केही हठी थिए। देखेको कुरा बोलीहाल्ने उनी रिस उठ्यो भने पाक्कपुक्क पार्न पनि पछाडि पर्दैनथिए।

ठमेल जोडिएको कालधारामा मणिदाइका नाममा धेरैले रजाइ पनि गरे होलान्। तर, जीवनभर फुटबलले भने मणिलाई केही दिन सकेन। जीवनको ५१ औं वसन्तमै रोगले थलिएपछि फेरि नर्फकने गरी मणि हामी सबैबाट टाढा भए।

आफ्नो खेल जीवनबाट चर्चा चुलिँदै विश्राम लिएका मणिले मनाङ मर्स्याङ्दी क्लबबाट लामो समय ब्यवसायीक फुटबल खेले। जुनसुकै टिमबाट पनि फुटबल खेल्दा शत प्रतिशत दिने उनी कहिलै फेल भएनन्। फुटबलमा सधै जितेका उही मणि रोगसँग लड्न सकेनन् र हारेर हामीबाट बिदा भए।

उनको जिद्दी बानीले पनि आफ्नो जीवन छोट्याएको उनका मित्रहरूको टिप्पणी छ। धक फुकाएर बोल्ने र मन परेको गर्ने उनको रवाफिलो मिजास थियो।

साथीभाइ, रगंमन्च र रमाइलोमा प्रायः नछुट्ने उनको फुटबल रौनक घटेको थिएन। फुटबलका हरेक गलत काममा औला उठाउने उनी राम्रा कामलाई प्रोत्साहन दिन्थे।

मणि शाहसँग जोडिएको एउटा प्रसगंमा आफू साक्षी भएकोले यहाँ केही जोड्न चाहे। करिब १८ वर्ष अगाडिको कुरा हो। त्यसताका मुम्बईमा एउटा रोर्वट्स कप अन्तर्राष्ट्रिय  आमन्त्रण फुटबल प्रतियोगिता हुन्थ्यो। भारतका कहलिएका क्लब र दक्षिण एशियाका केही क्लब सम्मिलित उक्त प्रतियोगिता निकै चर्चामा थियो।

त्यसबेला नेपाली टीमको सहभागिता चासोको विषय हुन्थ्यो। ब्यवस्थापक अमिर घर्तीसहित गोरखापत्रबाट किशोर केसी र म टोलीमा सन्चारकर्मीका रुपमा गएका थियौ।

पहिलो खेलमा जित हात पारेको नेपाली टोलीले सेमिफाइनलमा गोवाको सलगावाकर सँग खेल्ने कार्यक्रम थियो। तर, फील्म नगरी मुम्बई अनि घुमफिर नेपाली गायक उदित नारायणसँगको भेटघाटमा सबै ब्यस्त थिए। कोही कुर्था सलवार किन्न, कोही सपिङतीर।

यता फुटबलमा आएका मान्छे मैदानभन्दा बाहिरका कृयाकलापमा व्यस्त हुँदा मणिको चित्त बुझेको रहेनछ। सेमिफाइनलमा नेपालले एक गोल अन्तरले हार व्यहोर्नु पर्‍यो। तर, मणि सन्तुष्ट भएनन्। उनले त्यो दिन होटलमा निकै गर्मागर्मी समेत गरे।

देशको नाम र खेलमा ध्यान दिने विषयमा मणि सधै नम्बर एकमै रहन्थे। उनी सधै भन्थे- ‘राष्ट्र र राष्ट्रियता प्राणभन्दा प्यारो छ। हामी पनि सिपाही हौं देशका, जित्यौ भने नेपालले जित्यो भन्छन् ,हार्‍यौ भने गोर्खे हारगया भन्छन्। उनले भनेका यी शब्दै अझै मेरो मानसपटलमा ताजै छन्।

‘मणिमा अभुतपूर्व क्षमता थियो, बल ड्रीबलीङ, कन्ट्रोल र फीनिसिङमा उनी जस्तो खेलाडी नेपालमा मैले अर्को देखेको छैन’, सिड्नीका बरिष्ठ चिकित्सक डा.सिताराम जोशीले भने।

मणिका नजिकका साथीसमे रहेका सितारामले सेतोपाटीसँग भने,‘नेपाली फुटबलका एउटा बिलक्षण प्रतिभा थिए मणि। उनलाई राज्य र सम्वन्धित निकायले उचित स्थान दिन नसक्दा निराश भएर ब्यथितिको शिकार भएको हुनसक्छ,’ सितारामले गम्भीर हुँदै भने, ‘उनले खेलमा कहिले झेल गरेनन् तर भगवानले उनीमाथि फल खेल्यो।’

सिडनीको ओलंघन हस्पीटलका बरिष्ठ चिकित्सक जोशी नेपाली फुटबलमा अब फेरि अर्को मणी जन्मन कयौ वर्ष लाग्ने बताउँछन्। ‘भगवानले उनलाई फुटबल खेल्न पठाएका थिए होलान्। तर अब अर्को मणि नेपाली फुटबलले भेट्न निकै कठिन छ, यिनी त बिलाए अर्को नयाँ मणी कहिले जन्मिएला?’, उनको प्रश्न थियो।

२०२४ साल असार १५ गते जन्मिएका मणिको घर खेलमैत्री थियो। बाबु स्वर्गीय लक्ष्मणबिक्रम शाह पनि खेलाडी नै थिए। एथलेटिक्स, फुटबल र ज्याभलिङ थ्रोका चिनिएका खेलाडी बुवाको सन्तान भएकाले मणि सानो छँदै खेलमा डुबेका थिए।

१३ वर्षकै उमेरमा उनले बैंककमा प्रिन्सेस कप खेल्ने मौका पाएका थिए। त्यसपछिको दुई वर्षनि उनी बैंकक खेल्न गए। सानैदेखि उनमा उत्कृष्ट खेल क्षमता थियो। जहाँ जहाँ खेल्न जान्थे सबैलाई प्रभावित पारेर र्फकन्थे।

मणिले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिममा १७ वर्षको उमेरमा स्थान बनाए। प्रतियोगितामा नेपाल तेस्रो भयो। उनले पाँच पटटक साफ खेले । सन् १९८७ को साफमा नेपाल तेस्रो भयो।

त्यसपछि सन् १९८७ मा दोस्रो भएको नेपाल सन् १९८९, सन् १९९१ मा सहभागी मात्र भयो।  मणिको चमक त्यसबेला उज्यालियो, जब सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भयो। जसमा फरवार्ड मणिको भूमिका महत्वपूर्ण थियो।

त्यसपछि उनी सन् १९९५ मा भारतमा भएको सातौं साफमा पनि खेले। उनले सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर फुटबल खेले। क्लबस्तरमा उनले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, फ्रेण्डस क्लब, ब्वाइज क्लब, आरएनएसीबाट फुटबल खेले। उनको प्रायः समय मनाङ मस्र्याङ्दी क्लबमै बित्यो।

उनले दुई वर्ष सन् १९९७ र १९९८ मा राष्ट्रिय टिमको कप्तानको भूमिका पनि निभाए। मणि भन्थे, ‘मेरा लागि फुटबल भगवानले दिएको सुन्दर उपहार हो। जहिलेसम्म खेलेँ, राम्रो नै गरेँ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.