इर्मा आँधीसँगै अमेरिकी राज्य फ्लोरिडाको पश्चिमी तटीय क्षेत्रमा ठूलो बाढी आएको छ।
आँधीको गति कम भएपनि यसले निम्त्याएको हावाहुरीले थप क्षति र खतरा बढाउने देखिएको छ। आँधीको गति अहिले १३७ किलोमिटर प्रतिघण्टा रहेको बिबिसीले उल्लेख गरेको छ।
३४ लाखभन्दा बढी घर तथा भवनमा विद्युत आपूर्ति बन्द भएको छ भने मायामीका अधिकांश क्षेत्र डुबानमा छन्। मायामीका सडकमा दुई फिटभन्दा बढी पानी बगिरहेको छ।
आँधीका कारण फ्लोरिडामा हालसम्म तीनजनाको मृत्यु भइसकेको छ।
क्यारेबियन क्षेत्रका १० देशमा क्षति पुर्याउँदै आएको इर्माले हालसम्म २८ जनाको ज्यान लिइसकेको छ।
हाल इर्मा टाम्पाको उत्तर–पूर्व क्षेत्र वरिपरि रहेको बताइएको छ। करिब ३० लाख मान्छे बसोबास गर्ने टाम्पा बे क्षेत्रमा सन् १९२१ पछि कुनै ठूलो आँधी आएको छैन।
इर्माको केन्द्र अझै पनि फ्लोरिडा पेनिन्सुलाको पश्चिमी क्षेत्रमै वरपर नै रहने र सोमबार–मंगलबार बिहानदेखि अमेरिकाको दक्षिण–पूर्व क्षेत्र तिर जाने पूर्वानुमान गरिएको छ।