ग्लोबल नेपाली
अमेरिकी सेनामा रहेका नेपाली भाषीहरूले टिकटक बनाइरहेका भिडिओ प्रशस्त भेटिन्छन्। यसले के प्रष्ट हुन्छ भने अमेरिकी सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ। उनीहरू कतिको संख्यामा छन् भनेर आकडा पाउन त गाह्रो हुन्छ किनकि कतिपयले उतैको नागरिकता लिएर अमेरिकी सेनामा जागिर गरेका हुन्छन् भने कतिले ग्रीन कार्ड पाइसेकपछि अमेरिकी सेना रोजेका हुन्छन्। अर्को कुरा सेनाको संख्या कुनै पनि देशले सार्वजनिक गरेको हुँदैन।
कुनै समय विद्यार्थी भिसामै गएकाहरू अनि अमेरिकामा शरण लिएकाहरूले समेत अमेरिकी सेनामा जाने अवसर पाउँथे। माभ्नी कार्यक्रम अन्तर्गत उनीहरूलाई अमेरिकी सेनामा लिने गरिएको थियो।विशेष क्षमता र दक्षता भएका व्यक्तिहरूलाई दिइने यो अवसरले उनीहरूलाई अमेरिकाको नागरिकता सहज बनेको थियो।
सन् २०२० देखि अमेरिकाले यो प्रावधानलाई स्थगित गरेको छ अर्थात् खारेज भने गरिसकेको छैन। अमेरिकी सेनामा कसरी भर्ती हुन्छन् भन्ने विषयमा हामीले न्यूयोर्कमा रहेका अध्यागमन कानुनका जानकार अधिवक्ता बासु फुलारासँग कुराकानी गरेका छौं। हामीले अहिलेको विद्यमान प्रावधान अनुसार अमेरिकी सेनामा भर्ती हुन के गर्नुपर्छ भनेर समेत फुलारासँग सोधेका छौं।
'अमेरिकी सेना वा नेभीमा नेपाली मूलका व्यक्तिहरूले भर्ती हुन सक्छन्, तर केही निश्चित कानुनी योग्यता पूरा गर्नुपर्छ।
सबभन्दा पहिलो कुरा, तपाईं पर्यटक भिसा वा अन्य अस्थायी स्टाटसमा हुनुहुन्छ भने अमेरिकी सेना भर्तीमा अयोग्य हुनुहुन्छ,' फुलाराले सेतोपाटीसँग भने,'अमेरिकी सेनामा भर्ती हुनको लागि तपाईंले स्थायी बसोबासका लागि अनुमति पाएको हुनुपर्छ। अमेरिकी सेना, नेभी, एयर फोर्स, कोस्ट गार्ड आदि शाखाहरूमा अमेरिकी नागरिक वा पिआर/ग्रिनकार्ड होल्डर मात्र भर्ती हुन सक्छन्।'
स्थायी बसोबासका लागि अनुमति पाएका जोकोहीले सेना वा यसको अन्य शाखाका लागि आवेदन दिन पाउने उनले बताए।
अमेरिकी सेनामा भर्ती हुनको लागि अमेरिकाभन्दा बाहिरबाट भने सम्भव छैन। जसरी बेलायती र इण्डियन आर्मीमा नेपालबाटै छनोट हुन पाइन्छ। त्यो सुविधा भने अमेरिकाले दिएको छैन।
अमेरिकी सेनामा भर्ती हुनको लागि, अमेरिका बस्नका लागि कानुनी हैसियत प्राप्त गरेको हुनुपर्छ। जस्तो पर्यटक, विद्यार्थी, टिपिएसर लगायतका अस्थायी बसोबासका लागि अनुमति पाएकाहरूले भर्ती हुन पाउँदैनन्।
उनका अनुसार कम्तीमा हाइस्कुल या डिप्लोमा पास गरेको हुनुपर्छ भने सेनाले लिने परीक्षामा उच्च अंक ल्याउन सक्नुपर्छ। यसमा ल्याउने अंकले कुन किसिमको सैनिक जिम्मेवारी लिन सक्छ भनेर निर्धारण हुन्छ। यसका लागि प्रत्येक सैन्य शाखाले न्यूनतम स्कोर तोकेको हुन्छ।
'भर्ती हुने क्रममा स्वास्थ्य स्थिति, शारीरिक क्षमता र मानसिक स्थिति परीक्षण गरिन्छ। साथै शारीरिक फिटनेस पनि परीक्षण गर्नुपर्छ,' उनले भने, 'यदि तपाईंको कुनै आपराधिक रेकर्ड छ भने सेनाको अधिकांश शाखाले भर्ना लिन अस्वीकार गर्छन्। तर कुनै समय केही सामान्य केस लागेकाहरूलाई भने मौका दिइन्छ।'
उनका अनुसार सैन्य सेवामा लागेकाहरूका लागि केही विशेष सुविधा रहेकाले यसलाई आकर्षण मानिन्छ।
जस्तो: सामान्यता ग्रीन कार्ड भएको व्यक्तिले नागरिकताको लागि आवेदन दिन ५ वर्ष पर्खनुपर्छ। यदि उसको जीवन साथी अमेरिकी नागरिक हो भने ३ वर्षमै पाइन्छ। यसको तुलनामा सैनिक सेवामा गएकाहरूले आवेदन दिन धेरै चाँडो पाउँछन्। उनीहरूले एक वर्ष सेवा गरेकै आधारमा एन-४०० फर्मद्वारा आवेदन दिन सक्छन्। युद्धको समय छ भने त १ दिनको सेवा पनि पर्याप्त मानिन्छ। यस्तो बेला बसोबासको अविध या अमेरिकामा उपस्थिति हुनुपर्ने कुनै मापदण्ड चाहिँदैन।
सैन्य व्यक्तिले नागरिकता लिँदा सामान्यभन्दा छिटो पाउने अनि कति आवेदन शुल्क छुट हुने र परिवारका सदस्यले समेत अध्यागमनको लाभ लिन पाउने उनले बताए।
'यदि तपाईंले अमेरिका स्थायी रूपमा बस्ने सोच बनाउनु भएको छ र सेवा गर्न इच्छुक हुनुहुन्छ भने, अमेरिकी सेना एक वैकल्पिक बाटो हुन सक्छ,' उनले भने, 'यो बाटो चुनौतीपूर्ण हो, तर सेनामा गएकै आधारमा तपाईंले सम्मान, अनुभव र नागरिकता एकैसाथ प्राप्त गर्न सक्नुहुन्छ।'
अमेरिकी सेनामा भर्ती हुनका लागि यसको शाखा अनुसारको उमेर हद समेत तोकिएको छ।
सेनाको लागि १७ देखि ३५ वर्ष रहेको छ भने नौसेनाको लागि १७ देखि ३४ वर्ष रहेको छ। त्यस्तै वायु सेनाको लागि १७ देखि ३९ वर्ष रहेको छ, म्यारिन कोरको लागि १७ देखि २८ वर्ष तोकिएको छ भने कोस्ट गार्डका लागि १७ देखि २१ वर्ष अनि स्पेस फोर्सका लागि १७ देखि ३९ रहेको छ।
अधिवक्ता बासु फुलारा
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com