त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियू, कोठा नम्बर ४।
कोठामा प्रवेश गर्नेबित्तिकै पश्चिमतर्फ एउटा जीर्ण अनुहारमा आँखा पर्छ। कष्टसाध्य दमले गाँजिरहेका बेला श्वासप्रश्वास सहज र नियमित तुल्याउन उनी घरि अक्सिजन नोज्जल खोल्छन्, घरि नाकमाथि ख्याप्प अँठ्याउँछन्।
सघन उपचार कक्षको शय्यामा उपचाररत उनी हुन्, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य।
७८ वर्षीय वैद्य लामो समयदेखि श्वासप्रश्वास रोगको चपेटामा छन्। ओरालो–उकालो हिँड्दा सकस हुने, चिसोले सताउने त सामान्य समस्या भइहाल्यो। यसपटक भने उनलाई बढी नै गाँज्यो। उनी अस्पतालको शय्या परेकै २२ दिन भइसकेको छ। यसपटक उनलाई मुटु, जिब्रोमा संक्रमण र मिर्गौला रोगको लक्षणसमेत देखिएको छ। रगतमा संक्रमण उच्च छ। पिसाब नियमित नभएकाले त्यसको असर खुट्टामा पनि देखिन्छ। उनी डमडम्ती सुन्निन थालेका छन्।
यावत् शारीरिक कठिनाइ र समस्याबीच पनि अनुहारको दीप्ति उज्यालै छ। ओढारका जुनकीरीझैं चहकिला छन् आँखा। र, उस्तै चनाखो छ क्रान्ति र समयचेत!
उनी सघन उपचार कक्ष नै पसेर आफ्नो स्वास्थ्य स्थिति बुझ्न खोज्नेहरूलाई ठम्याउन खोज्छन्। प्रत्येकको हालखबर बुझ्न खोज्छन्। सँगै हिँडेका र हिँड्दा हिँड्दै बाटो फाटेका सहधर्मीहरू उनको स्मृतिबाट ओझेल परिसकेका छैनन्। आँखा र अनुहारले सान गरेरै भए पनि ठम्याउन खोज्छन्।
माओवादी आन्दोलनबाट छिरलिएका स–साना घटक; नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा मशालबीच एकता गरेर गत मंसिरमा मात्र महाधिवेशनको रूप दिइएको थियो। मंसिर १३ देखि २३ गतेसम्म चलेको महाधिवेशनले वैद्यलाई सर्वसम्मत महासचिव बनायो। क्रान्तिका 'पितामह' को नेतृत्वमा छिरलिएका क्रान्तिचेत एकट्ठा हुँदै गएकाले उत्साहको सञ्चार पनि भएको थियो। तर त्यही बेला वैद्यलाई अस्वस्थताले लपेटिहाल्यो।
उनी गत पुसमा अस्पताल भर्ना भएका थिए। शिक्षण अस्पतालकै गणेशमान भवनमा २४ दिन राखेर उपचार गरेपछि हिँडडुल गर्न र पार्टीका नियमित गतिविधिमा फर्कन सक्ने भएका थिए।
यसबीच वैशाख २४ गते वैद्यकी आमा जानकी उपाध्यायको निधन भयो, दाङमा। शताब्दी आयु बाँचेकी आमाको निधनपछि किरियाकर्ममा सहभागी हुन उनी दाङ गएका थिए। त्यहाँ पाँच दिनजति बसेर फर्किए।
काठमाडौं फर्किन भैरहवामा जहाज कुरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको जम्काभेट भएको थियो। हालखबर साटासाट भएको थियो। त्यति बेलासम्म सञ्चै, सुविस्तै देखिएका उनी काठमाडौं आएपछि अस्वस्थ बने। श्वासप्रश्वासको समस्या चर्कँदै गयो।
'रूघाखोकी र सास फेर्न गाह्रो भएपछि यहाँ ल्याएका हौं,' जेठी छोरी लताले सेतोपाटीसँग भनिन्, 'यहाँ आइसकेपछि निमोनिया देखियो। एन्टिबायोटिक सुरू भइहाल्यो। आइसियूमै राखेको १० दिन भयो।'
परिवारलाई चिकित्सकले बताएअनुसार उनको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ। अनुहारको रोगन बदलिँदै गएको छ। खानपिनमा कुनै समस्या छैन। अर्धठोस खानेकुरा सजिलैसँग खान सक्छन्।
उनको जिजीविषा देखेर अस्पताका नर्स र चिकित्सकसमेत तीनछक परेका छन्। अस्पताल ल्याएको सुरूआती दिनमा उनलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था थियो। अरू रोगसमेत थपिएकाले उपचारमा चुनौती थियो। बाह्य संक्रमणबाट जोगाउँदै संवेदनशील भएर उपचार गर्नुपर्ने अवस्था थियो। तर वैद्यको आत्मविश्वास अरू बिरामीलाई माथ खुवाउने किसिमको थियो।
'सुरूका केही दिन अलि गाह्रो भयो। तर यहाँको उपचार पद्धति र चिकित्सकहरूको व्यवहारका कारण बुबाले सबै शारीरिक कठिनाइ र अस्वस्थता जित्दै जानुभयो,' छोरी लता भन्दै गइन्, 'मुटुसम्बन्धी समस्या देखिएको थियो। मिर्गौलामा पनि केही खराबी देखियो। रगतमा संक्रमण उच्च भयो। बाक्लो पनि भयो रगत। तर रोगको निदान हुनेबित्तिकै चिकित्सकले औषधि चलाइहाल्नुहुन्थ्यो। यस कारण पनि बुबाले क्रमशः स्वास्थ्य लाभ पाउँदै जानुभयो।'
अहिले वैद्यको उपचारमा छाती रोग विशेष नीरज बमको नेतृत्वमा साक्षात्कार विष्ट, रविस मिश्र खटिएका छन्। उनीहरूको उच्च निगरानीबाट परिवारजन उत्साहित छन्।
रोचक कुरा त, अस्पतालको शय्या पर्दा पनि वैद्यले जीवनको लय बदलेका छैनन्। लेखनको आफ्नो नित्य साधनालाई बिरामी पर्न दिएका छैनन्। क्रान्तिप्रतिको उनको क्षुधा कमजोर देखिएको छैन। उनले चाहेको परिवर्तन र बदल्न खोजेको व्यवस्था, चाहे त्यो अतृप्य मृगतृष्णा नै किन नहोस्, त्यो थला बसेको छैन। जीर्ण बनिसकेको छैन।
क्रान्तिप्रतिको आफ्नो अटल विश्वास धराशायी नभएकैले उनी त्यसलाई लिपिबद्ध गरिरहेका छन्। उनले चाहेको क्रान्ति वा ल्याउन खोजेको बिहान उनको जीवनकालमा सम्भव होला या नहोला? प्रश्न उनको मथिंगलमा पनि उभिएकै छ। जेहोस्, आफू हिँड्दै आएको बाटो र देख्दै आएको सपना कम्युनिस्ट आन्दोलनका पछिल्ला पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन्। आफूले खनेका क्रान्तिका डोबहरूलाई लिपिबद्ध गर्न चाहन्छन्। अस्पतालको शय्यामा बसेर पनि उनी यही साधनामा लीन छन्।
'बुबालाई अस्पतालको शय्यामा राखेका छौं। उपचारमा कुनै कसर बाँकी नरहोस् भनेर हामी सचेत छौं। उहाँलाई संक्रमणबाट बचाउन अस्पतालमा पार्टीका नेता–कार्यकर्ता र शुभचिन्तकको उपस्थितिलाई साँघुर्याएका छौं। तर बुबाको मनोबल देखेर हामी पनि चित खान्छौं,' माइली छोरी चेतनाले भनिन्।

उनी मंसिरमा महासचिवमा नवीकृत भएका थिए। केन्द्रीय कमिटीको बैठक बस्न पाएको थिएन। महाधिवेशनको ऊर्जा संगठनात्मक काममा पर्न पाएको थिएन। उनी शय्या परिहाले। तर अस्पताल भर्ना भएको भोलिपल्टै उनले डायरी र कलम मगाए। पार्टीका नेता–कार्यकर्ता र आफैलाई समेत सम्बोधन गर्दै दिनहुँ पोखिँदै गए।
झन्डै महिनादिन लामो बसाइलाई पट्यारलाग्दो हुन दिएनन्। डायरीमा मनका अन्तरकुन्तरका भावना र निर्देशन उतार्दै आफूलाई मानसिक हिसाबले स्फूर्त राखिराखे। लेखन साधनलाई जीवन्त तुल्याइराखे।
त्यही क्रमले अहिले पनि निरन्तरता पाइरहेको छ। अनेकौं रोगसँग जुधिरहँदा, कठिनतम श्वास लिइरहँदा पनि शय्याको समीप डायरी र कलम छ। अनुकूल मिलेका बेला उनी लेख्न थालिहाल्छन्। दिनको तीन घन्टा, कहिले त योभन्दा बढी उनी लेखेरै समय कटाउँछन्। लेखनबाटै आफूलाई स्फूर्त र तन्दुरूस्त राख्न खोज्छन्।
'लेखन उहाँको नित्यकर्म हो। घरमा त लेखिरहनुहुन्थ्यो नै। त्यो काम अस्पतालको शय्यामा पनि छाड्नुभएको छैन। उहाँको लेखनसाधना देखेर चिकित्सक पनि छक्क पर्नुहुन्छ,' माइली छोरी चेतनाले भनिन्।
२००३ सालमा प्यूठानको खैरामा जन्मिएका वैद्य सपरिवार युद्धमा होमिए। दुई छोरी र पत्नी सँगै युद्धमा हिँडे। सशस्त्र संघर्षताक पनि उनी विचारक थिए। हतियारसहितको आन्दोलनको सुत्रधार र प्रणेता नै थिए उनी। बहुदलअगाडि नै सशस्त्र संघर्षको उद्घोष गर्ने वैद्य अद्यापि आफ्नो उद्देश्यमा अडिग, अविचलित र क्रान्तिकारीहरूको कल्पनाको व्यवस्था ल्याइछाड्नेमा संकल्पित देखिन्छन्। वैज्ञानिक समाजवाद आज पनि उनको मूल लक्ष्य हो।
द्वन्द्व कालमा पनि उनले लेखनकर्मलाई कहिल्यै पर राखेनन्। त्यही भएर त उनको १५ भन्दा बढी कृति प्रकाशित छन्। केही वर्षअघि प्रकाशित 'हिमाली दर्शन' वैद्यको सशक्त हस्ताक्षर हो।
जीवनको उत्तरार्द्धमा आइपुगेका वैद्य लेखनको सबै आयाम व्यवस्थित गर्न सक्दैनन्। रचनाहरू छिरलिन पुग्छन्। पाण्डुलिपिले पुस्तकाकारको रूप पाउँदैन। त्यसैले उनले छोरीहरूलाई लेखन सहयोगी बनाएका छन्। जेठी छोरी लता उनको स्याहारमा जुटेकी छन्। वैद्यसँग साथै रहेर उनको राजनीति र लेखन जीवनलाई व्यवस्थित बनाउन सारथिको भूमिका निर्वाह गरिरहकी छन्। माइली चेतना पनि दिदीसँगै भेटिन्छिन्।
वैद्य अहिले सपरिवार उत्तरी काठमाडौंको टोखामा बसोबास गर्छन्। शान्ति प्रक्रियापछि पनि शासनसत्ता र राजकीय सुविधाभोगबाट टाढै बस्न रूचाएका र हात परेको शासकीय सुख त्यागेका वैद्यमा निजी सम्पत्तिको मोह देखिएन। लामो समय डेरामै बिताएका वैद्यलाई कान्छी छोरी सिर्जनाले घर बनाउन सहायता गरिन्।
छोरीहरूको कर्तव्यबोधको ओतमुनि बसेर अहिले उनी लेखन साधनालाई नै जीवनको हिस्सा बनाइरहेका छन्।
'लेखनकर्ममा दत्तचित्त रहँदा उहाँलाई रोगले गाँजेको छ भन्ने अनुभूति नै हुन पाएको छैन। आइसियूमा रहँदा पनि उहाँले जीवनका अनुभूतिहरू लेखिरहनुभएको छ, तर के लेखिरहनुभएको छ हामीले हेर्न पाएका छैनौं। पक्कै पनि उहाँले आफ्ना भोगाइलाई शब्दमा व्यवस्थित गरिरहनुभएको होला। हामीलाई थाहा दिनुभएको छैन,' चेतनाले पुलकित हुँदै सुनाइन्।
संयोग नै मानौं, वैद्यको उपचार त्रिवि शिक्षण अस्पतालको उत्तरतर्फ रहेको सुरेश वाग्ले भवनको पाँचौं तलाको आइसियू खण्डमा भइरहेको छ। क्यान्सरका बिरामीलाई उपचार गर्ने अंकोलोजी वार्ड बनाउन त्यो भवन भनाइएको हो। सुरेश वाग्ले तिनै हुन्, जो द्वन्द्व क्रममा राज्य पक्षबाट मारिएका माओवादीको केन्द्रीय तहका नेता थिए। गोरखाको साविक गाँखु गाउँ विकास समितिमा तत्कालीन सुरक्षाफौजबाट मारिएका सुरेश वाग्ले 'बासु' कै स्मृतिमा उक्त भवन खडा भएको हो।
हुन त कम्युनिस्ट आन्दोलनमा सशस्त्र विद्रोहको धार दिने वैद्य हिँडेको बाटोबाट धेरै यात्री छुटे। यात्राकै बीचमा हाँगो फाट्यो र अलगअलग धारको नेतृत्व पनि गरे। यसकै एउटा संयोग उनी जन्मिएको प्यूठानसँग जोडिएको छ।
प्यूठान त्यही जिल्ला हो, जहाँ कम्युनिस्ट आन्दोलनमा लामै बाटो हिँडेका मोहनविक्रम सिंह पनि जन्मिएका थिए।
एउटै जिल्लाका यी दुई कम्युनिस्ट सिपाही लामो समय सँगै यात्रा गर्न पाएनन्। विक्रम सम्बत् २०४० को दशकमै पातलो (स) र मोटो (श) मसालमा विभक्त भए। र, क्रान्तिको अलगअलग बाटो तय गरे।
२०४१ सालमा पाँचौं महाधिवेशन गरेर नेकपा (मशाल) को महामन्त्री बनेका वैद्य लामो समय नेतृत्वमा रहन पाएनन्। २०४५ चैत्र १९ गते असफल सेक्टर काण्ड हुनपुग्यो। 'असफल क्रान्ति' को अपजस थाप्लामा बोकेर उनी एक पद घटुवा हुन राजी भए। पोलिटब्युरो सदस्यमा घटुवा हुँदै पार्टीको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) को हातमा दिए। त्यहीँबाट पार्टी सत्तामा उदाएका प्रचण्ड नेतृत्वमा अकन्टक छँदैछन्।
मोहन वैद्य भने आन्दोलन र पार्टी निर्माणका अनेक भीर–गल्छेँडा हिँड्दै अहिले अस्पतालको शय्यामा आइपुगेका छन्।
यहाँबाट तंग्रिएर आफ्नो अपूरो क्रान्ति सक्लान् कि लेख्लान्? पथद्रष्टा एवं क्रान्तिस्रष्टा वैद्यका शुभचिन्तकहरूले प्रतीक्षा गरिरहेका छन्।
***
