गुन भुल्यौ पित्तलको, सुन पायौ होला
भुइँ छोड्यौ आकाशको जून पायौ होला
दस दिनअघि सार्वजनिक यो गीतको म्युजिक भिडिओ मंगलबार बेलुकीसम्म २० लाखभन्दा बढीपटक हेरिएको छ। हजारौंले टिकटक भिडिओ बनाएका छन्। टिकटकमा गीत भाइरल भएसँगै युट्युबमा खोज्नेहरूको संख्या झन् झन् बढ्दैछ।
विछोडको पीडा प्रस्तुत गरिएको यो गीतको प्रशंसा गर्दै धेरैले युट्युबमा लेखेका छन्, 'टिकटकमा सुनेर यता खोज्न आएँ।'
यसरी कम समयमै सुपरहिट भएको 'गुन भुल्यौ' गीत सारिका घिमिरेले गाएकी हुन्। शब्द र संगीत पनि उनकै हो।
सारिकालाई गायकका रूपमा चिनाउने पहिलो गीत पाँच वर्षअघि सार्वजनिक 'हेल्लो' थियो। त्योसँगै उनले गाएका 'ऐँसेलुको पात' लगायत गीत करोडभन्दा बढी पटक हेरिएका छन्।
'रातो गलबन्दी', 'घिन्ताङ घिन्ताङ मादलु', 'जोश छ जवानीको', 'उसले त बिर्सियो रे' लगायत गीतले पनि युट्युबमा दस लाखभन्दा बढी भ्युज पाएका छन्।
अहिले 'गुन भुल्यौ' गीतबाट धेरै माया पाइरहेकोमा खुसी साट्दै सारिकाले सेतोपाटीसँग भनिन्, 'सबैले गीतलाई माया गरिदिनुभएको छ। राम्रो रेस्पोन्स दिनुभएको छ। यो मेरो लागि ठूलो हौसला र सफलताको कुरा हो।'
यसअघि डान्सिङ नम्बरका गीत बढी गाइरहेकी सारिकाले आफ्नै युट्युब च्यानलका लागि पनि गीत बनाइरहेकी थिइन्।
'त्यस क्रममा मलाई विरह भावको यस्तो गीत गाउन मन भयो; जुन हरेक व्यक्तिको जीवनमा मिल्ने होस्, हरेकले गुनगुनाउन सक्ने होस् र त्यसको शब्द पनि सरल होस्,' उनले भनिन्, 'मैले यही इच्छाअनुसार गुन भुल्यौ गीत बनाएकी हुँ।'
कतिपयले जिज्ञासा राख्ने गरेका छन्, 'तिमीले कुन मुडमा यो गीत लेख्यौ?'
जबाफमा उनी भन्छिन्, 'हरेक मान्छेको जीवनमा केही न केही उतारचढाव आइरहेको हुन्छ। सुख, दुख, माया–प्रेम हरेक व्यक्तिले भोगेकै हुन्छ। यो गीतका शब्द र भाव हरेक मान्छेको जीवनसँग मेल खान्छ। गीतकारले आममान्छे र आम विषयवस्तुसँग मिल्ने शब्द प्रयोग गर्नुपर्छ। मैले यो गीत त्यही उद्देश्यका साथ लेखेकी छु।'
सारिकाले यसको म्युजिक भिडिओ बनाउने कुरा पहिले सोचेकी थिइनन्। गीत रेकर्ड गरेपछि अडिओ प्लेटफर्ममा सार्वजनिक गरेकी थिइन्। त्यसैबाट यो गीत धेरै स्रोतासम्म पुग्यो। टिकटक र फेसबुक रिल्समा भाइरल बन्दै गयो। यसबाट उत्साहित भएकी सारिकाले साधारण भिडिओ बनाएर युट्युबमा अपलोड गरेको बताएकी छन्।
सारिकाको अर्को परिचय अभिनेत्री तथा मोडल पनि हो। फिल्म क्षेत्रबाट करिअर सुरू गरेकी उनी पछिल्लो समय अभिनयभन्दा गायनमा केन्द्रित छिन्।
खोटाङ घर भएकी सारिकाका बुबा प्रहरीमा थिए। बुबाको पोस्टिङ सुनसरीमा रहेकाले सारिका त्यहीँ जन्मिइन्।
सानैदेखि कलाकारितामा रूचि राख्ने सारिका एसएसली सकेपछि कलेज पढ्न काठमाडौं आइन्। यहाँ उनका कतिपय साथी कलाकारितामा थिए। त्यही चिनजानका आधारमा उनले फिल्ममा अभिनय गर्न र म्युजिक भिडिओमा मोडलिङ गर्न थालिन्।
सारिकाले साहित्यकार झमक घिमिरेको किताब 'जीवन काँडा कि फूल' मा आधारित फिल्ममा अभिनय गरेकी छन्। रक्तभोग, परिणाम, आगो–२ लगायतका फिल्ममा पनि मुख्य भूमिकामा काम गरेकी छन्।
फिल्म क्षेत्रमा केही समय बिताएपछि उनलाई लाग्यो – अब मैले यही अवस्थामा फिल्ममा अभिनय गर्न हुँदैन।
त्यस्तो लाग्नुको कारणबारे सारिकाले भनिन्, 'कुनै काम गरिँदैछ भने त्यसमा पर्फेक्ट हुनुपर्छ। म रहरको भरमा अभिनय गर्छु भनेर आएकी थिएँ। त्यत्तिले अभिनय कर्मलाई न्याय गर्न सकिँदैन भन्ने लागिरहेको थियो।'
त्यो बेला उनलाई गीत लेखन र गायनको खुब सोख थियो। उनी पहिल्यैदेखि गुनगुनाउने गर्थिन्। आफूले लेखेका कतिपय गीत साथीहरू र अग्रजलाई सुनाएकी पनि थिइन्। धेरैले भनेका थिए – सारिकाको स्वर मीठो छ। गाउँदा पनि हुन्छ!
'यसैबाट हौसिएर पहिलो गीत रेकर्ड गरेँ। सबैले राम्रो रेस्पोन्स दिनुभयो। धेरैले यसैलाई निरन्तरता देऊ भन्नुभयो,' सारिकाले भनिन्, 'मलाई पनि के लाग्यो भने, म अभिनय गर्न सक्दिनँ होला, तर कोसिस गरेँ भने गाउन सक्छु। यही सोचेर गायनलाई अगाडि बढाएँ।'
पछिल्लो समय हिट गीतका गायकले स्टेज कार्यक्रमहरू प्रशस्त गरिरहेका छन्। सारिकालाई भने स्टेजमा विरलै देखिन्छ। उनी आफूलाई स्टेज कार्यक्रमको अवसर कमै आएको बताउँछिन्।
'गीत चले पनि कार्यक्रम आयोजना गर्नेहरूसम्म मेरो नाम नपुगेको हुनसक्छ। म सामाजिक सञ्जालमा धेरै सक्रिय छैन। त्यसले पनि धेरैले नोटिस नगर्नुभएको हो कि भन्ने लाग्छ,' उनले भनिन्, 'बोलाउनुभयो भने कार्यक्रममा नजाने त कुरै आउँदैन।'
अभिनय छाडेर पूर्णकालीन गायनमा लागेकी सारिका एकपछि अर्को सफलताले खुसी मात्र छैनन्, अभिनयमा फर्किने कि नफर्किने दुबिधामा पनि छिन्। भन्छिन्, 'फिल्ममा फर्किन हिम्मत जुटाइसकेकी छैन। पछिल्लो समय राम्रा कलाकार धेरै आउनुभएको छ। मैले अभिनयतिर जान धेरै सिक्न बाँकी छ।'
'गीत–संगीतमा पनि सिक्न बाँकी धेरै छ,' उनले अगाडि भनिन्, 'अहिलेसम्म त थोरै प्रयास मात्र गरेकी हुँ। अझै धेरै गर्न बाँकी छ।'
पछिल्लो सुपरहिट गीत 'गुन भुल्यै' ले सांगीतिक क्षेत्रमा अगाडि बढ्न एउटा इँटा थपेको उनी बताउँछिन्।
कुराकानीको बिट मार्ने क्रममा उनले स्रोता तथा दर्शकसँग केही आग्रह पनि गरिन्। त्यो हो, द्विअर्थी गीतलाई निरूत्साहन र राम्रा गीतलाई प्रोत्साहन।
उनले भनिन्, 'राम्रा गीतलाई प्रोत्साहन गर्ने हो भने आउँदा दिनमा अझ राम्रा राम्रा गीतहरू आउँछन्।'
भिडिओः मन्दिरा घिमिरे
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी


