उत्तर कोरियालाई ट्रम्पको चेतावनीः गलत कदम चाले सैनिक समाधानको बाटो तयार छ


कोरियाले गलत कदम चालेमा सैनिक समाधानको बाटो तयार रहेको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्। उनले ट्वीटमार्फत् शुक्रबार यस्तो चेतावनी दिएका हुन्।
कोरियाली प्रायःद्वीपलाई परमाणु युद्धको नजिक पुर्‍याएको आरोप उत्तर कोरियाले उनीमाथि लगाएपछि उनले यस्तो ट्वीट गरेका हुन्। अमेरिकी भूभाग गुआम नजिकै क्षेप्यास्त्र प्रहार गर्ने योजना यसै साता पूरा हुने दावी कोरियाको छ।
गत साता अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाउने घोषणा पछि दुई देशबीच तनाव बढेको हो। ट्रम्पले कोरियामा आक्रमण हुनसक्ने चेतावनी दिएलगत्तै कोरियाले पनि अमेरिकी हवाइ अड्डा र सेना तैनाथ टापू गुआममा हमला गर्ने विचार बनाएको घोषणा गरेको हो।
उसले आफ्नै देशमा निर्मित ह्वासाङ १२ क्षेप्यास्त्र गुआम टापूदेखि ४०-५० किलोमिटर नजिक पानीमा आक्रमण गर्ने बताएको छ। योजनाअनुसार जापानी आकाश हुँदै जाने उक्त क्षेप्यास्त्र गुआम पुग्न करिब १४ मिनेट मात्र लाग्ने प्रशान्त महासागरस्थित गुआम टापुको आन्तरिक सुरक्षा निकायले जानकारी दिएको छ।
निकायले स्थानीयवासीलाई क्षेप्यास्त्र हमलाको जोखिमका लागि तयार रहने सल्लाह दिँदै शुक्रबार दिउँसो एउटा सूचनापत्र जारी गरेको थियो। गुआममा ६ हजार बढी अमेरिकी सेना तथा १ लाख ६० हजारभन्दा बढी जनसंख्या छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.