रिफ्लेक्सन लेकमा माउन्ट रेनियर पौडी खेल्दो रैछ…


‘अब माउण्ट रेनिएर जानुपर्छ,’ गत अक्टोबरमा अमेरिकाको भ्रमणक्रममा वासिङ्टन स्टेटका मुख्य पर्यटकीय गन्तव्यहरु पाईक्स प्लेस, स्पेस निडल, माईक्रोसफ्ट हेटक्वाटर, सालमण्ड माछा संरक्षण गरिएको टम वाटरफल, ओलम्पिया डाउनटाउन लगायत घुमिसकेपछि बाल्यकालीन मित्र माधवले अर्को भ्रमण गन्तव्यबारे सुझाउँदै भने।

मलाई भने बाहिर अभिव्यक्त नगरे पनि मनमा चाहिं लागिरहेको थियो ‘हिमालै हेर्न त नेपालमा जति पनि छँदै छन्, अमेरिका आएर पनि के हिमाल घुम्नु?’ तर माधव र अमेरिकन भाउजु जेनी मलाई जुन उत्साह र आतिथ्यताकासाथ घुमाईरहेका थिए त्यहाँ मैले उनीहरुले बनाएको योजनामा आनाकानी गर्ने कुरै थिएन।

त्यसमाथि पनि त्यो ठाउँकोबारेमा मलाईभन्दा उनीहरुलाई बढि जानकारी जो थियो। घुम्न जाने भनेपछि मैले पनि त्यस ठाउँकोबारेमा सोधिखोजी गर्ने जमर्को गरें।  अमेरिकाको वासिङ्टन स्टेटको उत्तरपुर्वमा अवस्थित लगभग एकहजार किलोमिटरको क्षेत्रमा फैलिएको माउन्ट रेनियर राष्ट्रिय निकुञ्ज सन् १८९९ मा स्थापना भएको रहेछ।

प्रकृतिको त्यो  अनुपम छटा विभिन्न जातका वोटविरुवा संरक्षित रहेछन् भने सयौं जनावरहरुको आस्रयस्थल रहेछ। धेरै हिमनदि,घाँसे मैदान, खुल्ला चौर, झरना,हिमालको समिश्रण रहेको त्यो क्षेत्रले मानिसलाई एकसाथ धेरै अनुभव पस्कँने हुनाले पर्यटकहरुको त्यसप्रतिको आकर्षण बढि नै रहेछ।

अनि बर्षेनी आन्तरिक र वाह्य गरी विश्वभरका हजारौं पर्यटक आउने गन्तव्य हो भन्ने थाहा पाएपछि भने मेरो खुट्टा पनि त्यसतर्फ उचालिए। यसका अलावा त्यस्तै बर्षेनी लगभग हजारको संख्यामा पर्वतारोही रेनियर हिमाल चढ्न आउँदा रहेछन्।  जाने क्षेत्र समग्र माउन्ट रेनियर  राष्ट्रिय निकुञ्ज नै भए पनि चलनचल्तिमा माउन्ट रेनियर जाने भनिंदो रहेछ जुन निकुञ्जभित्र अवस्थित हिमाल हो।

अक्टोबर २०१७ को मध्यतिरको एक दिन माउन्ट रेनियर जाने हाम्रो योजनाले मुर्तरुप लियो। गाडिमा चिप्स, सोडा, केक,  फलफुल पानी लगायतका सातुसामल तयार भए। जेनी भाउजु ड्राईभरको सिटमा बसिन्, आडैको सिटमा माधव बसे,  पछाडिकासबै सिट मेरा लागि रिजर्भ भए। नेभिगिएटरमा गन्तव्यको ठेगाना लाएर अघि बढेपछि नेभिगिएटर कराउन थालिहाल्यो- ‘यति माईल चला अनि यता लाग, उता लाग।’

सबैतिरको बाटो कण्ठ पारेर बसेको जस्तो लाग्ने यो यन्त्र जिपिएसका आधारमा चल्दोरहेछ। मैले त्योबेला काठमाडौंका धुलाम्य र अव्यवस्थित बाटाहरु संझिए। हाम्रा बाटाहरु कहिलेसम्म व्यवस्थित भइसक्ने होला र हामीलाई पनि नभिगिएटरले रिठ्ठो नबिराई आफ्नो गन्तव्यसम्म पुर्‍याउने होला। नौला मान्छेलाई ‘दाई फलानो ठाउँ कता, दिदि यो….कता पो पर्छ।’ भन्नै नपर्ने दिन कहिले आउला मनले एकछिन कावा खायो। मेरो मनले कावा खानु के थियो गाडि अघि बढेर फराकिला सडकका छेवैमा लहरै  चेरीका रंगिन रुखहरुको मनमोहकतासँगै अघि बढ्न थालिसकेको थियो।

माधव ट्राफिक नियमकाबारेमा बताउँदै थिए, ‘यहाँ क्यामरा ईन्फोर्स हुन्छ रोक भनेका बेला हिड्यो भने घरमै जरिवानाको बिल आईपुग्छ।’ त्यतिबेला मलाई काठमाडौंको सडक अनि हाम्रो ट्राफिक अनुशासनको संझना आयो। अनि लाग्यो ‘ मान्छेलाई सुधार्न कानुन त कडै चाहिने रैछ।’

केहिअघि बढेर मुल सडक छोडेर उत्तरतिर लागेपछि सवारीको चाप केही कम भए। एकाध आउने गाडिहरु हुँइकिएका थिए। हामी भने रमिता हेर्दै जाने हिसाबले ठिकै गतिमा थियौं।

त्यहीक्रममा माधवसँग विभिन्न विषयमा भलाकुसारी भए।  त्यतिकैमा उनले भने- ‘अब सिजन अफ हुन लाग्यो त्यहि भएर यता जाने गाडि कम हुँदै गए।’ केहीसमयपछि हामी माउण्ट रेनिएर नेसनल पार्कको प्रवेशद्वार आईपुग्यौं। निश्चित प्रवेश शुल्क तिरिसकेपछि हामी अघि बढ्यौं। दुईतिर हरिया रुखहरुबिच सिनित्त परेको बाटोमा संगितको मधुर धुनसँगै चिप्लिइरहँदा लाग्यो यस्तोपो ड्राईभिङ अनुभव। ठाउँठाउँमा बाटो छेउमा रेष्टुरेन्टहरु थिए तर अघि माधवले भने झैं सिजन घर्र्कंदै गएकोले होला ती बन्दजस्ता देखिन्थे।

केहि अघि बढेपछि बाटोको छेवैतिर केहि गाडिहरु रोकिएका देखिए अनि हामीले पनि त्यहाँ केहिबेर अडिने निधो ग¥यौं। उत्रिएर बाटोको दाँयातिर हेर्दा देखियो त्यहाँ एउटा खोला रहेछ जसको नाम निस्क्वयेली रिभर रहेको जानकारी भयो। निस्क्वेलीमा झरेर उत्तरतिर फर्किएर हेर्दा हरिया धुपि अनी अन्य जातका रुखहरु, त्यसमाथि थपक्क बसेझैं लाग्ने माउण्ट रेनियर साँच्चिकै चित्ताकर्षक थियो। पूर्णरुपमा हिउँले नढाकेको भए पनि त्यसको आकर्षणमा केहि कमि थिएन।

हाल सानो भागमात्रै पानीले ओगटेको भए पनि समग्र खोलाले ओगटेको भाग, ढुङ्गा बालुवा, रुखका मुडा देख्दा लाग्थ्यो निस्क्वेली कुनै समय ठुलो अनि शक्तिसाली भएर पनि बहेको रहेछ। खोलामा हामीले ढुङ्गाका स्तम्भ बनायौं अनि केहि थान फोटो खिचेर पुनः सडकतिर फर्कियौं। केहिक्षणको ड्राईभिङपछि माउन्ट रेनियर पुगियो।

हिमालको फेदीभन्दा केहि तल मात्रै रहेको पार्किङस्थलमा गाडि रोकेर उत्रँदा पार्किङ भर्खरै हिउँ पग्लिएजस्तो ओसिलो थियो भने छेऊ कुनामा अझै केहि हिउँ देखिन्थ्यो। त्यसबाट माथितिर हेर्दा हिमालतिर जाने पदमार्गका दुईतिर रंगिन वनस्पति त्यसदेखिमाथि थपक्कबसे झैं लाग्ने  हिमाल अनि त्यसको फेदितिरका सल्लाका रुखहरु, लाग्थ्यो मानौं म एउटा सुन्दर ठुलो पोस्टर अघिल्तिर उभिरहेको छु। माधवको आँखामा चमक देखिन्थ्यो भन्दै थिए-‘राम्रो छ है।” अर्कोतिर जेनी भाउजु मोबाईलमा ती दृष्य कैद गर्न तल्लिन थिए।  हिमालको अर्कोतिर फर्केर उहि उचाईका धुपी सल्ला देख्दा लाग्थ्यो, मानौं ती सल्लाह गरेर सँगसँगै बढेका हिमाली सल्ला हुन्।

प्रकृतिको त्यो अनुपम नमुनाको उपहारको रसस्वादनपछि हामी केहिमाथिसम्म जाने निधो गर्‍यौं जहाँ व्यवस्थित पदमार्ग थियो। अफ सिजन भएको भनिए पनि पर्यटकहरुको उपस्थित राम्रो थियो। कोरीयन पर्यटकहरुको टोली नै थियो, केहि अन्य मुलुकहरुका पर्यटकहरु थिए। आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य थियो। एक दम्पति ससाना तीनजना नानीहरु लिएर आएका रहेछन् जो हिउँमा औधी रमाईरहेका थिए। अलि अघि बढेपछि बाटोको दाँयातिर केहि चराचुरुङ्गी र संरक्षित जनावरहरु देखिए।

ती भयरहित देखिन्थे अनि आफ्नैसुरमा झाडिमा विचरण गरिहेको थिए। थोरैमाथि गएपछि हिउँ पग्लिएर बनेको सानो खोल्सोमा कञ्चन पानी बग्दोरहेछ। पदमार्ग त्यो खोल्सोपारी हुँदै अघि बढ्दो रहेछ तर समयले नेठो काट्नै लागेकोले हामी त्यहिंबाट फर्कियौं। पार्किङ नजिकै केहि होटलहरु थिए तर ती प्राय सबै बन्द थिए।

पर्यटकलाई जानकारी दिनका लागि पर्यटक जानकारी केन्द्र रहेछ अनि त्यहिंभित्र रेष्टुरेन्ट जहाँ हामीले दिउँसोको खाना खाने निधो ग¥यौं। मलाई लाग्यो हाम्रा पर्यटकीय गन्तव्य अनि मार्गमा पनि यस्ता पर्यटकका लागि जानकारी केन्द्र अनि यहाँजस्तै व्यवस्थित शौचालयहरु भए कति जाती हुन्थ्यो। त्यतिकैमा भाउजु जेनीले भनीन् “ लेट्स ईट बरितो टुडे, ईट्स अ मेक्सिकन फुड। ” उनले आफ्नो आहाराको जानकारी दिंदै थिईन। बरितोको मात्रा काम पुर्‍याउने खालको हुँदो रहेछ जसले भोको पेटलाई राम्रै राहत दियो। खानापछि माथिल्लो तलामा रहेको गिफ्ट पसलमा केहिबेर घुमेपछि हामी बाहिर निस्कियौं।

अब हाम्रो फर्कने समय हुँदै थियो तर त्योभन्दा अघि हाम्रो अर्को महत्वपुर्ण गन्तव्यबाँकि नै थियो ‘रिफ्लेक्सन लेक’ जहाँ माउन्ट रेनियर प्रतिबिम्बत हुन्छ भन्दै थिए माधव। अब भने मित्र माधव ड्राईभरको सिट लिए अनि हामी अघि बढ्यौं। हामीलाई रिफ्लेक्सन लेक पुग्न धेरैबेर लागेन। त्यो ताल बाटो नजिकै रहेछ। हामी त्यहाँ उत्रँदा केहि मानिसहरु तालको छेवैमा माउन्ट रेनियर अनि तालमा देखिएको त्यसको प्रतिबिम्ब एकैसाथ कैद गर्नमा ब्यस्त थिए। हामी तालतिर झर्दै गर्दा त्यतैतिरबाट फर्कंदै गरेका व्यक्ति हामीलाई भन्दै थिए “ईट्स भेरी ब्युटिफुल।’

छोटो कुराकानीमा ती अमेरिकीले एशियाका केहि देश गएको अनि नेपाल अनि सगरमाथाकोबारेमा सुनेको बताउँदा, त्यो कुनामा हाम्रोबारेमा थाहा पाउने कोही भेटेकोमा मन प्रफुल्ल भयो। तालको किनारमा पुगेपछि देखियो साँच्चै नै माउन्ट रेनियर रिफ्लेक्सनलेकमा छ्याङ्गै देखिंदो रहेछ जसको सौन्दर्य अनुभुत मात्र गर्न सकिन्थ्यो सायद त्यो शब्दमा अवर्णनीय छ।  साँझ पर्नै लागेकोले हामीले केहि हतारो गर्नु पर्ने थियो अनि केहि फोटो खिचेपछि, त्यो ओसिलो दिनमा माउन्ट रेनियर, रिफ्लेक्सन लेकलाई बिदाका हात हल्लाउँदै बासस्थानतिर अघि बढ्दै गर्दा फेवातल र माछापुच्छ्रेलाई सम्झदै मनले गायो “माउन्ट रेनियर रिफ्लेक्सन लेकमा पौडी खेल्दो रैछ माउन्ट रेनियर साँच्चिकै नै माउन्ट रेनियर रैछ ”

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.