यात्रा अनुभूति:
सन् १९५६ मा स्थापना गरिएको भ्यानकुभर अक्वारियम क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको भ्यानकुभर सहरमा अवस्थित विश्वप्रसिद्ध अक्वारियम हो। अक्वारियम स्टान्ली पार्कभित्र अवस्थित भएकोले पनि पर्यटकहरूलाई भ्रमणको लागि सहज रहेछ। झण्डै नब्बे प्रतिशत भ्यानकुभर भ्रमण गर्ने पर्यटकहरू स्टान्ली पार्कको भ्रमण गर्ने रहेछन्।
भ्यानकुभर अक्वारियमको मुख्य उद्देश्य समुद्री जीवनको संरक्षण, अनुसन्धान र जनचेतना फैलाउने रहेको छ। यहाँ ६५,००० भन्दा बढी जलचरहरू छन् जसमा डल्फिन, सागर सिंह, पेंगुइन, जेलीफिस जस्ता प्रजातिका माछाहरू पाइन्छन्।
भ्यानकुभर अक्वारियममा विभिन्न शैक्षिक र मनोरञ्जनात्मक गतिविधिहरू, जलचरहरूको लाइभ प्रदर्शन, समुद्री जनावरहरूलाई खुवाउने कार्यक्रम लगायत प्रशिक्षकहरूसँगको अन्तर्क्रियाहरू समेत समयसमयमा संचालन हुने रहेछ।
-1739605047.jpg)
पर्यटकहरूले डल्फिन, सागर सिंह, र सागर ऊँटहरूको व्यवहार अवलोकन साथै बच्चाहरूको लागि पोखरीमा समुद्री तारा र अन्य प्रजातिहरूलाई छुन पाउने अवसर यहाँको प्रमुख आकर्षण हो।
झण्डै २ घन्टा हामीले अक्वारियम अवलोकन गर्यौं। माथि भने जस्तै हामीले डल्फिन र सागर सिंहसँगको नजिक दृश्य अति नै रमाइलो थियो। अक्वारियम भित्रको ती हजारौं प्रकारको सामुद्रिक जीवहरूको ती दृश्यहरू अति नै अदभूत थिए। हामीले १५ मिनेटको जलचरहरूको सो पनि हेर्ने मौका पायौं।
वास्तवमै ती जीवात्माहरू अद्भूत छन्। सायद यस प्रकारको अक्वारियम नहुने हो भने पक्कै पनि हामीले महासागर भित्रको अद्भूत सृष्टि देख्न सक्दैन थियौं।
तपाईंहरू जहाँ हुनुहुन्छ पक्कै आफ्नो नजिकमा रहेको अक्वारियमहरूमा कम्तीमा एक चोटि अवलोकन गर्न र सामुद्रिक संसारमा रमाइरहेका प्राणीहरूलाई नजिकबाट हेर्न हुन अनुरोध गर्दछु।
विशेष त ती जीवहरू जो वनस्पति जस्ता देखिन्छन् तर तिनीहरूमा प्राण छ। प्राण हुनेलाई मात्र हामी प्राणी भन्दछौं। हुन त रूख बिरूवाहरूमा पनि चेतना हुन्छ। तर त्यो चेतना प्राणको रूपमा हुँदैन। त्यही भएर हामी वनस्पति भन्दछौं। ती वनस्पति जस्तो देखिने तर प्राण भएका जीवहरू देख्दा अद्भूत लाग्ने।
एनिमोन फूल जस्तो देखिन्छन्, रंगीन र नर्म देखिन्छन्। यिनीहरूले साना माछा र प्लांक्टनलाई समातेर खाने गर्दो रहेछन्। ब्रायोजोआ पनि अर्को प्रजाति जो समुद्री माटोमा झाडी जस्तो बगिरहेको देखिन्छ र यी माइक्रोस्कोपिक जीवहरूले 'फिल्टर फिडिङ' प्रणालीबाट खाना खाने रहेछन्।
-1739605046.jpg)
त्यस्तै, अर्को कोरल रङ्गीचङ्गी वनस्पतिजस्तो देखिन्छन्। यिनीहरू 'नाइडेरियन्स्' हुन्, जसले बाहिरबाट सँगै जमेका वनस्पतिहरूको रूप दिन्छन्। हाइड्रोजोआ पनि साना रूख या झाडी जस्तो देखिने र पानीमा सस्पेन्ड भएर प्लांक्टनलाई समातेर खाने जीव रहेछ।
स्पन्ज पनि अर्को अद्भूत देखिन्छन् जो समुद्री झाडी या छालाको झिल्ली जस्तो देखिन्छन्। यिनीहरूले भने पानीबाट सूक्ष्म कणहरू फिल्टर गरी आहार लिन्छन्। सी पेन त्यस्तै अर्को अद्भूत वनस्पति प्राणी हो जस्को प्वाँख जस्तो लामो र सेतो हुन्छ र साना प्लांक्टनलाई समातेर बाँच्छन्।
यी जीवहरू वनस्पतिजस्तै देखिए पनि प्राण भएका समुद्री जीव हुन् र समुद्री इको सिस्टमको लागि यिनीहरूको महत्वपूर्ण भूमिका हुन्छ। मलाई यो दुई घन्टाको घुमाइमा अद्भूत लागेका केही प्राण भएका तर वनस्पति जस्तो जीव देखिने यिनीहरू भने अद्भूत लागेको माथि उल्लेखित प्राणीहरू हुन्।
हुन त वैज्ञानिकहरूले महासागरको ८० प्रतिशत क्षेत्र अझै पनि पूर्ण रूपमा अन्वेषण गर्न सकेका छैनन्। अब तपाईं आफै कल्पना गर्न सक्नुहुन्छ त्यो विशाल महासागरभित्र के मात्रै छैन होला।
एउटा अद्भूत सम्झना बोकेर हामी स्टान्ली पार्कतिर अघि बढ्यौं। हुन त हामीले पछि थाहा पायौं स्टान्ली पार्कभित्र नै अक्वारियम छ भनेर। स्टान्ली पार्क बारेमा गुगललाई सोधपुछ गर्यौं थाहा भयो हामी त्यही थियौं।
सन् १८८८ मा स्थापना भएको यो स्टान्ली पार्कलाई भ्यानकुभरको हरित हृदय पनि भनिँदो रहेछ। १ हजार एकर क्षेत्रफलमा फैलिएको यो पार्क उत्तर अमेरिकाको सबभन्दा ठूला सहरी पार्कहरूमध्ये एक हो।
पार्कको मुख्य आकर्षण यसको ९ किलोमिटर लामो सिवाल हो, जहाँ पैदलयात्री र साइकल चालकहरूले समुद्रको सुन्दरता अवलोकन गर्न सक्छन्।
स्टान्ली पार्कमा हरियो जंगल, जस्तै ५०० वर्ष पुराना डग्लस फिर्क रूखहरू र सुन्दर समुद्री तटीय दृश्यको मजा लिन सकिन्छ। पार्कभित्र भ्यानकुभर एक्वेरियम, भव्य गुलाफ बगैँचा र सेप्टेम्बरदेखि मे महिनासम्म देख्न पाइने जंगली जनावरहरू जस्तै कुखुरा चरा र राकून, पनि पर्यटकीय आकर्षणका केन्द्र हुन्।
याहाँको अर्को रोमान्चकता भने घोडाको बग्गी। ९ किलोमिटर लामो सिवाल र सुन्दर बगैंचा बग्गीमा चढेर आनन्द लिने पर्यटकहरू प्रशस्त थिए। हामीले पनि झण्डै १ घन्टा स्टान्ली पार्कको सिवालको पैदलयात्रा गर्यौं। स्वच्छ हावा, सामुद्रिक तट, समुद्रको त्यो चिसो हावा अनि निलो पानी भित्रको आफ्नो छायाले साँच्चै एउटा लोभलाग्दो शान्तिको आभास गराउँदथ्यो।
यसपछिको हाम्रो अर्को गन्तव्य थियो क्यापिलानो सस्पेन्सन्स ब्रिजको। हामी अलि थाकेका थियौं त्यसकारण पनि हामीले उबर नेपालमा पठाओ जस्तो साधन लिने निर्णय गर्यौं।
केही मिनेटमा ‘आर यू मनोज?’ कालो बिएमडब्लु अगाडि रोकियो। हामी पनि आफ्नै कार जस्तो ‘यस, यस’ भन्दै कारमा क्यापिलानो सस्पेन्सन्स ब्रिजतिर अगाडि बढ्यौं। छोरी ज्वाइँ छक्क पर्दै हुनुहुन्थ्यो।
नेपालमा त सार्वजनिक ट्याक्सी, पठाओहरू एसी बिनाका, सफा नहुने तर यहाँ त करोडौंको कारहरू अति सुन्दर, सफा, लक्जरीयस्। उपभोक्ताको पूर्ण अधिकार सुरक्षित हुने। सेवाग्राहीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता।
-1739605044.jpg)
यही भएर पनि होला जब नेपालबाट युवायुवतीहरू विकसित देशमा पुग्छन्, नेपाल फर्कने चाहना राख्दैनन्। हामी थाकेका पनि थियौं र उबरबाट सहरको दृश्यको अवलोकनको आनन्द लिन पनि होला यो १५ मिनेटको यात्रामा चुपचाप रह्यौं।
क्यापिलानो सस्पेन्सन्स ब्रिजको प्रवेश हाम्रो लागि रोमाञ्चक थियो। आज पनि क्यापिलानो सस्पेन्सन्स ब्रिजको प्रवेश शुल्क अति नै महँगो लाग्छ। हामी नेपालीलाई पार्क प्रवेशको लागि सात हजार तिर्नु भनेको सस्तो थिएन नै।
हुन त क्यापिलानो सस्पेन्सन ब्रिजको शुल्क महँगो हुनुमा त्यो पार्कले प्रदान गर्ने उत्कृष्ट अनुभव, सुविधाहरू र सुविधाहरूलाई परिस्कृत गर्नको लागि थियो।
ब्रिज, क्लिफवाक, ट्रीटप एड्भेन्चर र अन्य संरचनाहरूको मर्मत तथा सुधार गर्न सहज छैन। साथै पर्यटकहरूको सुरक्षाका लागि आधुनिक उपकरण र संरचनाहरूमा धेरै खर्च देखिन्छ। पुराना रूखहरूको संरक्षण गर्नु र पारिस्थितिक सन्तुलन कायम गर्न आवश्यक व्यवस्था गर्नु समेत आफैमा चुनौतीपूर्ण कार्य हो।
यहाँको गाइड, कर्मचारी र सुरक्षा टोलीलाई दिनुपर्ने तलब सुविधाहरू समेत यही पार्क व्यवस्थापनबाट हुने रहेछ न कि सरकारको। व्यवस्थापनले संरचना मात्र व्यवस्थित गर्दैनन् प्रत्येक वर्ष नयाँ नयाँ आकर्षणहरू थप्ने र आगन्तुकहरूलाई सुविधालाई परिष्कृत गर्न समेत गर्दा सायद शुल्क महँगो नलाग्ला।
कुनै पनि संरचना तथा आकर्षण निर्माण गर्न जति चुनौतीपूर्ण हुन्छ, त्यसको झण्डै एक सय प्रतिशत थप चुनौती त्यसको व्यवस्थापन, मर्मत, सम्भार र थप परिष्कृत गर्नको लागि हुन्छ।
हामी नेपाली निर्माणमा त हौसिएका हुन्छौं तर त्यसको व्यवस्थापनमा झण्डै एक सय प्रतिशत बेवास्ता गर्दछौं। कोही र कसैले उत्तरदायी भूमिका निभाएको पनि हुँदैन। व्यवस्थापन समिति हुन्छ उसको काम बैठक बस्ने र भत्ता बुझ्ने हुन्छ। कर्मचारीहरू हुन्छन् उनीहरू पाँच कतिखेर बज्ला बनेर घडी हेरिरहेका हुन्छन्।
उत्तरदायीपूर्ण जिम्मेदारी कोही कसैको देखिँदैन। त्यही भएर होला हाम्रो जुनसुकै संरचनाहरू बनेको केही समयमा भत्किन, बिग्रन थाल्छ। हामीसँग व्यवस्थापनको लागि वार्षिक बजेट समेत प्रष्ट हुँदैन न आम्दानी न खर्च पारदर्शी हुन्छ।
जबसम्म उत्तरदायीपूर्ण जिम्मेदारी नलिने व्यक्तिलाई यस प्रकारको व्यवस्थापनमा राखिन्छ पक्कै संरचनाहरू बनेको केही वर्षमा नै निकम्मा हुन्छन् अनि बन्द हुन्छ।
टिकटसँगै नि:शुल्क पाएको ब्रोसर र पार्कको नक्सा हातमा थियो। नक्सा हेर्न भने मलाई 'भालुको कम्पट' नै हुन्छ। सायद नक्सा हेर्ने सीप हामीले नसिकेर होला।
-1739605044.jpg)
यो ब्रिज ब्रिटिस कोलम्बियाको क्यापिलानो नदीमा बनेको भएर क्यापिलानो भनिएको रहेछ। यसको उचाइ ७० मिटर (२३० फिट) र लम्बाइ १३७ मिटर (४५ फिट) को सन् १८८९ मा निर्माण भएको यो पुल इतिहास, प्रकृति र रोमाञ्चक अनुभवको अनौठो संयोजन हो।
पुल तर्दा, घना जंगल, हरियो रूखहरू, र तल बगिरहेको क्यापिलानो नदीको मनोरम दृश्यकोले प्रकृति प्रेमी र साहसिक पर्यटकहरूलाई आकर्षित गरेको देखिन्छ। विशेष गरी ती व्यक्तिहरू जो उच्च स्थानहरूमा हिँड्न मन पराउँछन्। यसकारण पनि मेरो लागि यो रोमान्चित हुने नै भयो।
यहाँको अर्को ट्रीटप एडभेन्चर झन् रोमान्चित छ। एक रूखदेखि अर्को रूखमा जोडेर बनाइएको पुलबाट जंगलको अनुपम दृश्य अवलोकन गर्दा वास्तवमै आनन्दको अनुभूति हुन्छ।
क्लिफवाक अर्को साहसिक ट्रेलले अर्को स्पेसल अनुभव आगन्तुकहरूले गर्नेछन्। चट्टानहरूमा निर्माण गरिएको साँघुरो ट्रेलमार्फत् हिँड्ने अवसर यसमा पाइन्छ। हाइटदेखि नडराउनेहरूको लागि यो वाक साहसिक एड्भेन्चर नै हो।
सस्पेन्सन ब्रिजको आकर्षक क्यान्यन लाइट्स उत्सवको समयमा देखिने बत्तीहरूको विशेष सजावटले यहाँ झन् आकर्षक देखिन्छ रे। क्यान्यन लाइट्स उत्सव हरेक वर्ष जाडो महिनामा आयोजना हुँदा ब्रिज र वरपरका रूखहरू रंगीन बत्तीले झलमल्ल पारिँदो रहेछ।
हाम्रो यो यात्रासँगै यहाँ जाडो सुरू हुन लागेको थियो। विभिन्न डिजाइनले रूखहरू, पानीको तालहरू, ट्रिटप र क्लिप वाकहरूमा बत्तीहरूको सजावट सुरू भैसकेको देखिन्थ्यो। जति साँझ पर्दै जान्छ त्यही बत्तीको उज्यालोले रोमाञ्चकता थपिरहेको थियो।
हामी पर्यटक वर्ष मनाएका मनाएका हुन्छौं। पर्यटक वर्षको नाममा करोडौं रकम प्रचारप्रसारको नाममा सक्छौं तर पर्यटक घुम्ने, हेर्ने पर्यटकीय क्षेत्रको भने न त सिर्जना गर्दछौं न त भएकाहरूको संरक्षण गर्दछौं।
हामी घुमेको अक्वारियम होस् या स्टान्ली पार्क अथवा सस्पेन्सन्स ब्रिज अथवा यसको वरिपरिको क्षेत्रहरूलाई अति सुन्दरतम तरिकाले सजाइएको छ। सफा त्यतिकै छ सयौं वर्षदेखिको यी संरचनाहरू आज पनि नयाँ जस्तै छन्।
-1739605045.jpg)
त्यति मात्र होइन प्रत्येक वर्ष केही न केही नयाँ विशेषताहरू थप गरिएका हुन्छन्, नयाँ सुविधाहरू थप गरिएका हुन्छन् र पो पर्यटकहरू घुम्छन्। हाम्रो अर्थहीन भ्रमण वर्षको नाममा गर्ने गरेको खर्च भएका पर्यटकीय संरचनाहरूको सम्भार मर्मत अनि थप सुविधा विस्तार गर्ने हो भने पक्कै पर्यटक थपिने थिए।
नेपाल भ्रमण वर्ष नभएर नेपाल पर्यटकीय देश बनाउन सक्नुपर्छ।
यो समय हेलोयीन सप्ताह थियो। क्रिस्टियनहरूको ठूलो पर्व भएको कारणले होला पार्कमा बर्गेल्ती भूतहरूको सजावट देखिन्थ्यो। हिँड्दै गर्दा भूतहरूको नजिक पुग्दा बोल्ने, तर्साउने, बत्ती बल्ने दृश्यले अर्को रोमान्चकता दिन्थ्यो। कहिलेकाहीँ त तर्सिएर भागिन्थ्यो पनि।
हुन त यो झोलुङ्गे पुल नेपालीहरूको लागि केही नयाँ होइन। हाम्रो जताजतै झोलुङ्गे पुल हुन्छन्। तर यहाँको स्पेसल भने ट्रीटप एड्भेन्चर र क्लिफवाक थियो। क्रमश:
-1739605047.jpg)
-1739605045.jpg)
-1739605045.jpg)
-1739605045.jpg)